
काठमाडौं : पछिल्लो दुई दिनमा उपत्यकाभित्र चार जनामा कोरोना संक्रमण देखिएको छ। यसरी संक्रमित देखिएका मानिस बाहिरी जिल्लाबाट आएको खुलेको छ।
कैलाली र सुनसरीबाट आएका दुई महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो। उनीहरु लकडाउनको समयमा सरकारले जारी गरेको सवारी पास लिएर नै जिल्ला बाहिरबाट आएको खुलेको छ। त्यसैले आजबाट गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास खारेज गरेको छ।
त्यस्तै, उपत्यकाभित्र संक्रमित थपिएसँगै नाकामा थप कडाइ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
'अब नाकामा थप कडाइ गरिएको छ। धेरै पास खारेज भएका छन्। अत्यवाश्यक पासलाई पनि चेक गरेर मात्र छिर्न दिइने छ,' डिआइजी पोखरेलले भने।
मंगलवार गृह मन्त्रालयले गरेको निर्णय अनुसार आज देखि पुरानो पास लिएर एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ। लकडाउनको समयमा विभिन्न जिल्लाले एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि जारी गरेको पास तथा ईपास समेत खारेज गरेको हो।
सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।
'यसरी हिँड्ने कर्मचारीको पनि पास चेक गर्छौं। उहाँहरुले पनि तोकेको निकायबाट जारी भएका पास बाहेक अरु पास भए खारेज हुन्छ,' डिआइजी पोखरेलले भने।
उपत्यकाभित्र संक्रमित देखिएको भक्तपुरको दुवाकोट र मध्यपुर ठिम र काठमाडौंको चन्द्रागिरि नगरपालिकामा थप कडाइ गरिएको छ। संक्रमित रहेको टोलमा मानिसलाई हिँडडुल गर्न समेत रोक लगाइएको छ।
'यस्तो क्षेत्रमा पूर्ण सिल गरेर कन्ट्रायक ट्रेसिङको काम भइरहेको छ,' डिआइजी पोखरेलले भने।