
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिले पनि पूर्णतया नहट्न सक्ने चेतावनी दिएको छ। बुधवारको ब्रिफिङमा डब्लुएचओ, आपत्कालिन निर्देशक डाक्टर माइक र्यानले विश्वभर महामारीका रुपमा फैलिएको यस भाइरस हट्ने अनुमान गर्न नसकिने बताएका हुन्।
हालसम्म कोरोना भाइरसविरुद्ध एक सय सम्भावित भ्याक्सिन तयार हुँदैछन्। माइकले कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिन बनेपनि यसलाई नियन्त्रणमा ल्याउन ठूलो प्रयास आवश्यक रहेको बताए।
विश्वभर ३ लाख मानिस कोरोनाभाइरस संक्रमणकै कारण मरिसकेका छन्। ४३ लाख ४५ हजार ६ सय ४६ मानिसमा संक्रमण पुष्टि भएको छ।
'कोरोना हाम्रो समुदायमा अर्को एन्डेमिक (स्थायी) भाइरस भएर रहन सक्छ। यो कहिल्यै नहट्न सक्छ', जेनेभाबाट गरिएको भर्चुअल प्रेस मिटमा माइकले भने।
उनले एचआइभीजस्तै गरी रहन सक्ने बताएका हुन्। भने,'प्रयास चाहिं सबैले गर्नु पर्यो। यस महामारीको नियन्त्रण हाम्रो हातमा छ।'