PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विश्व अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा कमल श्रेष्ठलाई स्वर्ण, रजत र कास्य पनि नेपाललाई नै



मुकुन्द घिमिरे

विश्व अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा कमल श्रेष्ठलाई स्वर्ण, रजत र कास्य पनि नेपाललाई नै

काठमाडौं : फ्रान्समा भएको अनलाइन पुम्से वर्ल्ड च्याम्पियनसिप अन्तर्गत् ३० वर्षमुनिको समूहमा कमल श्रेष्ठले स्वर्ण पदक हात पारेका छन्।

फ्रान्समा जारी प्रतियोगितामा नेपालका ७ खेलाडी सहभागि भएका थिए। जसमध्ये पुरुषतर्फ नेपालकै तीन खेलाडीले शीर्ष तीनमा स्थान बनाउन सफल रहे।

बुधवार भएको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण, जितबहादुर बोटेले रजत र प्रेमबहादुर लिम्बुले कास्य पदक जिते। लिम्बुको यसअघि भएको युरोपियन पुम्से च्याम्पियनसिपमा 'मस्ट पपुलर' खेलाडी बन्ने सम्भावना समेत रहेको छ। उनको भिडियोमा आएको भ्यूजका आधारमा पपुलर खेलाडी बन्ने या नबन्ने भन्ने २० मे सम्ममा निर्क्योल हुनेछ।

त्यस्तै यू ३० महिलामा पार्वती गुरुङले रजत पदक जित्न सफल रहिन्। कमल श्रेष्ठ र पार्वती गुरुङ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकधारी खेलाडी हुन्। त्यस्तै प्रेम र जितबहादुर कास्यपदक जितेका खेलाडी हुन्।

प्रतियोगितामा ५० वर्षमुनिको समूहमा लक्ष्मण ऐरको प्रतिस्पर्धा बाँकी रहेको छ।

पहिलोपोस्टसँगको कुराकानीमा कमल श्रेष्ठले स्वर्ण पदक जित्दा खुशीको सीमा नै नरहेको प्रतिकृया दिए।

अहिले २७ देशहरुसँगको प्रतिस्पर्धामा गोल्ड ल्याउँदा खुशीको सीमा नरहेको बताउँछन्।

'राति १ बजे साथीहरुले फोन गरे। म त सुतिरहेको थिएँ। उनीहरुले सप्राइज दिए,' कुराकानी सम्झँदै उनले भने, 'गुरु हजुरले त गोल्ड मेडल हान्नु भएछ फ्रान्समा' भनेर भने। मैले त विश्वास नै गर्न सकिँन। उताको रिजल्टको स्क्रिनसटहरु सबै हेर्छु मेरो र्‍याङ्किङ गोल्डमै छ फेरि। अनि एकदमै खुशी लाग्यो।'

अर्घखाँचीमा जन्मिएका उनी नेपाल पुलिसमा आवद्द छन्। तेक्वान्दोमा ७० साल यता सक्रिय छन्।

पहिलो पटक पोखरामा वर्ल्ड तेक्वान्दो हामादानमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका उनले २ रजत पदक हान्दै करियर अघि बढाएका थिए।

त्यसपछि राखेप च्याम्पियनसिपमा गोल्ड हानेका उनले आठौ राष्ट्रिय खेलकुदमा ३ वटा स्वर्ण जितेका थिए। त्यस्तै भियतनाममा एसियन च्याम्पियनसिप त्यस्तै कोरियामा २ पटक एसियन गेमको लागि तयारी गर्ने पुम्सेका तालिमहरु लगायतले अनुभव बढाएको भन्ने लाग्छ। दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेका उनले फेरि अनलाइन वर्ल्ड च्याम्पियनसिपमा स्वर्ण पदक हात पारे।

 यसअघि पनि युरोपियन च्याम्पियनसिपमा २२ औं स्थानमा पुग्नु पनि ठूलो उपलब्धि रहेको उनी सम्झन्छन्।

'त्यसमा पनि हाम्रो वरियता राम्रै आएको थियो। म २२ औं स्थानमा थिएँ। १ सय ७ जना प्रतिस्पर्धीहरु थिए,' उनले केही हप्ता अघिको युरोपियन पुम्से च्याम्पियनसिपलाई स्मरण गर्दै भने, 'जे होस ७५ देशमा यो उपलब्धी पनि ठूलै उपलब्धी लागेको थियो।'

लकडाउन पछि पनि उनले दुईवटा प्रतियोगितामा सहभागिता जनाए। अनलाइन युरोपियन पुम्से च्याम्पियनसिप र वर्ल्ड अनलाइन पुम्से च्याम्पियन सिप। यसको श्रेय उनी तेक्वान्दो पुम्सेमास्टर लक्ष्मण ऐर क्षत्रीलाई दिन्छन्। यी दुवै प्रतियोगितामा ऐर पनि ५० वर्षमुनीको उमेर समूहमा सहभागी भए।

विजेतालाई सर्टिफिकेट इमेलबाट पठाउने आयोजकले जनाएको छ।

स्वर्ण पदक जित्ने खेलाडीले क्याटागोरी पेमेन्टको ४० प्रतिशत, रजत जित्नेले ३० प्रतिशत र कास्य जित्न २ जनाले १५/१५ प्रतिशत रकम पुरस्कार पाउने आयोजकले जनाएको छ।

'अनलाइन प्रतियोगितामा सहभागी बन्न कठिन नै भयो। रजिस्टर र इन्ट्री गर्न पनि समस्या झेल्नु पर्‍यो,' श्रेष्ठ भन्छन्, 'लक्ष्मण सर नभएदेखि हामी सहभागी हुन चाहीँ गाह्रै थियो। उहाँ रजिस्ट्रेसन देखि इन्ट्री फी सम्मका सबै कुराहरुलाई मिलाउनु भएको थियो।'

यता ऐरले दीपक विष्टसँग समन्वय गरेर सहभागिताको प्रक्रिया अघि बढाएको बताउँछन्। 'इन्ट्रीका लागि फ्रान्सको बैङकमा पैसा जम्मा गर्नुपर्ने थियो। त्यसको समन्वय मैले आफै गरेको हुँ', उनले भने।

खेलाडीको भिडियो बनाउने देखि सबै टेक्निकल पक्षमा ऐर सक्रिय रहे।

प्रतियोगितामा २७ देशको सहभागिता रहेको थियो। प्रतियोगिताका लागि डिपोजिट खेलाडी आँफैले गरेको बताउँछन्।

'१०/१० डलर युरो जम्मा गरेका थियौं। ग्लोबल लाइसेन्स भएकाहरुको १० युरो र नभएकाहरुको २५ युरो थियो' उनले भने।

नेपालबाट सहभागी सबै खेलाडीको ग्लोबल लाइसेन्स भएकाले १० युरो डिपोजिट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell