PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भारतीय हेलिकोप्टर उडिरहने नेपाली आकाशमा नेपाली सेनाकै हेलिकोप्टर : आज पनि कालापानीमा उडान



कमलराज भट्ट

भारतीय हेलिकोप्टर उडिरहने नेपाली आकाशमा नेपाली सेनाकै हेलिकोप्टर : आज पनि कालापानीमा उडान
फाइल फोटो

काठमाडौं : भारतीय सेनाका हेलिकप्टर उडिरहने दार्चुलाको नेपाली आकाशमा हिजोदेखि नेपाली सेनाको हेलिकोप्टर उडिरहेको छ।

कालापानी र लिपुलेकलाई लिएर काठमाडौंमा प्रदर्शन चर्किएका बेला भारतीय सेनाले हेलिकोप्टरमार्फत् कालापानीमा निगरानी बढाएका बेला बुधवारदेखि नेपाली सेनाको हेलिकोप्टर उडेपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन्।

सोमवारमात्रै भारतीय सेनाको हेलिकोप्टरले नेपाली आकाश भएर ५/६ पटक उडान गरेको थियो।

दार्चुलाका पत्रकार भोजराज जोशीले नेपाली आकाशमा नेपाली सेनाको हेलिकोप्टर उड्दा दार्चुलावासीले सुरक्षित महसुस गरेको बताए।

भलै, सेनाको हेलिकोप्टर दुई दिनलाई मात्र किन नहोस्, सधै भारतीय सेनाको हेलिकोप्टर देख्दा तथा नेपाली आकाशमा उड्दा असुरक्षित र आक्रोशित हुने दार्चुलावासीले सुरक्षित र राज्यको उपस्थितिको महसुस गरेका हुन्।

दार्चुलामा नेपाली सेनाको एनए–०५७ हेलिकोप्टरले व्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरीको टोली र बीओपीका लागि आवश्यक बन्दोबस्ती सामग्री पुर्‍याउन हिजो दुई खेप लगाएको थियो।

आज पनि दिनभर जनशक्ति र सामग्री पुर्‍याउने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले आधा जनशक्ति र सामग्री हिजो लगिएको र आधा आज पुर्‍याउने काम भइरहेको बताए।

‘आज बिहान एक खेप लगाइसकेको छ। अहिले धनगढीबाट फ्युल भरेर आएको छ। दोस्रो खेपका लागि जाने तयारीमा छ,’ उनले भने।

कालापानीभन्दा १२ किलोमिटर वर पर्ने छाङरुमा बीओपी स्थापनाका लागि काठमाडौंबाट सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा, गृह मन्त्रीका सुरक्षा सल्लाहकार बुधवार बिहान दार्चुला गएका थिए। उनीहरुको उपस्थितिमा हिजो छाङरुमा एक घर भाडामा लिएर बीओपी स्थापना गरिएको छ।

गत शुक्रवार भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि, कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेपछि काठमाडौं प्रदर्शन चर्किँदा सरकारले सीमा सुरक्षाका कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पठाएको हो। सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाबाट प्रहरी निरीक्षक लिली चन्दको नेतत्वमा २५ जनाको सशस्त्र प्रहरी छाङरुमा खटिएको छ।

छाङरु निवासी धनराज सिंह ऐतवालले सशस्त्र प्रहरी पहिलोपटक गाउँमा पुगेकोमा खुशी व्यक्त गरे। ‘हाम्रो गाउँमा बल्ल राज्यको उपस्थिति भयो। हामी खुशी छौं। अब सीमा र हाम्रो सुरक्षा हुनेछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell