PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लकडाउनले जुराएको अवसर : नेपाली 'सेलिब्रेटी'सँग अस्ट्रेलियाबाट लाइभ अन्तर्वार्ता



फूलमाया पुरी

लकडाउनले जुराएको अवसर : नेपाली 'सेलिब्रेटी'सँग अस्ट्रेलियाबाट लाइभ अन्तर्वार्ता

दीपेश श्रेष्ठले सन् १९९६ मा हिट्स एफएममार्फत् आफ्नो करियरको सुरुवात गरेका थिए। रेडियो कार्यक्रम प्रस्तोताको रुपमा। पूरा एक दशक उनी रेडियो कार्यक्रम सञ्चालकदेखि निर्देशकका रुपमा सक्रिय रहे। रेडियो करियरको यात्रामा सन् २००७ मा ब्रेक लाग्यो। किनकि उनी अस्ट्रेलिया जाने भए। त्यहाँ उनी आफ्नो रुचि र क्षेत्रभन्दा फरक काममा व्यस्त रहे।

तर, कोरोना भाइरस संक्रमणका कारण जारी लकडाउनमा भने दीपेशका लागि त्यो अवसर फर्कियो, जहाँ उनी आजभन्दा २४ वर्ष अगाडि रमाएका थिए।

दीपेश सिड्नीमा छन्। लकडाउनले उनको नियमित कामलाई प्रभाव पारेन। तर, उनले भने आफैँलाई झन् व्यस्त बनाएका छन्। उनी आफ्नो कामबाट बचेको समय फरक काममा दिन थालेका छन्। निन्द्रा माया मारेरै।  

लकडाउनका कारण फुर्सदमा रहेका नेपाली दर्शक, स्रोतालाई ध्यानमा राख्दै प्रत्यक्ष प्रसारण सुरु गरेका हुन्। नेपालका स्रस्टा, कलाकार तथा फरक फरक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी गर्छन् उनी। आफ्नै फेसबुक पेज 'द दीपेश सो'मार्फत् एक महिनादेखि कार्यक्रम चलाउँदै आएका छन्।

अस्ट्रेलिया पुगे पनि उनले पुरानो कर्म चटक्कै छाडेनन्। त्यहाँ उनले फिल्म लेखन अध्ययन गरे। केही म्युजिक भिडियो पनि बनाए। फोटोग्राफी सिके।

'जति नै व्यस्त भए पनि कहिलेकाहीँ जोश चल्थ्यो। त्यसैले म्युजिक भिडियो बनाएँ', उनको कामप्रतिको मोह सुनिन्थ्यो।

भिडियोको काममा त रमाए तर रेडियोमाझै अन्तर्वार्ता, कार्यक्रम सञ्‍चालनको मजा समयसँगै कतै छुटिरह्‍यो। मजासँगै स्रोतासँगको सम्बन्धमा केही दूरी पक्कै बढ्यो। जुन कम गर्ने प्रयास गर्दैछन् लकडाउनमा उनी। लाइभ कुराकानीमार्फत्।

सिड्नीस्थित एक डिजिटल मार्केटिङ एड्भर्टाइजिङ एजेन्सीमा कार्यरत् उनले यसअघि यस किसिमको कार्यक्रम चलाएका थिएनन्। श्रेष्ठका अनुसार जब कोरोना माहामारीका कारण विश्वका अधिकांश देश लकडाउनमा परे तब उनमा एक किसिमको छटपटी सुरु भयो। अब के गर्ने?  उनीसँग क्यामरा भिडियो इडिटिङ लगायतका आवश्यक सामाग्री त थिए। तर त्यसको उपयोग भइरहेको थिएन। जसमा खर्च भइरहेको थियो तर आम्दानी र प्रयोग शून्य। त्यसैको प्रयोग गर्ने योजना बनाए।

'मैले पढ्दै, गर्दै सिकेको थिएँ। आवश्यक सामाग्री पनि थिए। यही हो उपयोग गर्ने बेला भन्ने भयो', उनले सुनाए।

कोरोना संक्रमण फैलिन नदिन चेत्र ११ गतेबाट नेपालमा देशभर लकडाउन सुरु भयो। त्यसको दुई सातासम्म उनले सामाजिक सञ्जाल खुब नियाले। प्राय मानिसलाई घरभित्र बसिरहन पर्नुको छट्पटी थियो। घरभित्रै बसेर सामाजिक सञ्जालमा चलाइरहेका ती आम मानिसका लागि के गर्न सकिन्छ त? आफू सोचमा डुबेको बताउँछन् श्रेष्ठ। त्यसपछि बनेको हो लाइभ कुराकानीको योजना।

पहिलो प्रस्ताव राखे गायक सञ्जीव सिंहलाई। सिंहले नाईं भनेनन्। सुरुवात व्यक्तिगत पेजमार्फत् गरेका थिए। जुन धेरैले रुचाएको उनको ठम्याइ छ। भने,'कुराकानी निकै रमाइलो र अनौपचारिक थियो। त्यसैले हुनसक्छ दर्शकहरुको ध्यान खिच्यो।'

सामान्य गफगाफले पनि मजा दियो। धेरै प्रतिक्रिया आयो। कतिले त्यस्तै कुराकानीलाई निरन्तरता दिन सुझाए। त्यसपछि उनले आवश्यक तयारी थाले। समय व्यवस्थापनदेखि प्राविधिक पाटोसम्म। अझ महत्वपूर्ण त कोसँग कुरा गर्ने? कसरी समय माग्ने योजना महत्वपूर्ण थिए। त्यस्तो समयमा ती स्रस्टा, संगीतकार, कलाकार लगायतका व्यक्तित्वहरुसँग फेरि जोडियो जो उनी नेपालमा हुँदा भेटिएका थिए – केही कामको सिलसिलामा, कोही साथीका रुपमा पनि।

'गफगाफ' नाम दिएर सुरु गरिएको लाइभ कुराकानीमा जीवनका संघर्ष र सफलताका कुरा केन्द्रमा रहे। निकै अनौपचारिक ढङ्गमा। जसमा अतिथिहरु कुनै समय भावुक त कुनै समय खुसी र गर्वका साथ प्रस्तुत हुन्छन्। चर्चित अनि सफल व्यक्तित्वहरुको जीवनका नदेखिएका घटना एवं प्ररिस्थितिबारे चर्चाले कार्याक्रमलाई थप रोचक बनाएको दावी गर्छन् उनी। 'जुनसुकै मानिस पनि अनौपचारिक कुराकानीमा खुलेर बोल्ने गर्दो रहेछ', उनले अनुभव सुनाए।

हाल उनी फुर्सद मिल्नासाथ अतिथिका बारेमा योजना बनाउँछन्। कसलाई बोलाउने? तय भएपछि सम्बन्धित व्यक्तिका बारेमा अध्ययन गर्छन्। त्यसपछि समय मिलाउँछन्। यस 'गफगाफ' तोकिएकै समयमा सुरु हुन्छ तर ठ्याक्कै यति समयभित्र सकिन्छ भन्ने निश्चित छैन। कहिले अलि बढी। कहिले कम।

सुरुवाती दिनमा उनलाई अतिथिसँग कुरा गर्ने शैली र सम्बोधनमाथि प्रश्‍न उठेका थिए। केहीले 'स्रष्टा  र सेलीब्रेटीहरुको अपमान गरेको' आरोप समेत लगाए। तर उनले ती प्रतिक्रिया र परिस्थितिलाई सहर्ष स्वीकार गरे। 'कार्यक्रममा आएका राम्रा नराम्रा सबै प्रतिक्रियालाई स्वभाविक रुपमा लिएँ। यो कार्यक्रम अझै मेहनत गर्ने अवसरका रुपमा प्रयोग गरें', श्रेष्ठले अनुभव सुनाए।

यसैबीच उनले केही रमाइलो किस्साबारे पनि सुनाए। अतिथिहरुसँग बोल्दै गर्दा कति पटक त निकै 'नर्भस' भएछन्। दीपेशले आफ्नो माइक नै अन गर्न बिर्सिएछन्। 'दर्शकले तपाईँको बोली सुनिएको छैन भनेर कमेन्ट गरेपछि पो थाहा पाएँ', उनले हाँस्दै भने।

उनी अब यही कार्यक्रममार्फत् नेपाली कलाकार, खेलाडी तथा स्रष्टाबारे विशेष जानकारी अभिलेखन गर्नेतर्फ उन्मुख भएको उनको भनाइ छ। 'हाम्रा वरिष्ठ कलाकार पत्रकार संगीतकार लगायतका व्यक्तिहरुको बारेमा उनीहरुले गरेका योगदानको चर्चा कमै पाइन्छ। त्यसैले सबैलाई एक ठाउँमा ल्याउने प्रयास गरेको हुँ', उनले भने 'यदि भोलिको पुस्ताले यस विषयमा अध्ययन गर्न तथा बुझ्न चाहेमा खण्डमा सजिलै पाउन सकुन्।'

हालसम्म उनले सुमन खरेल, भूषण दाहाल, गायिका अभया सुब्बा, गायक दीपक खरेल, नवीन के भट्टराई, सुशील नेपाल, माल्भिका सुब्बा लगायतसँग कुराकानी गरिसकेका छन्। यी सबैसँगको गफगाफमा फरक अनुभव संगालेका छन्। जसमध्ये विल्कुल नयाँ अनुभव भने नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसँगको गफगाफमा बटुले। 'खेल क्षेत्र मेरा लागि विल्कुलै नयाँ हो त्यसैले ज्ञानेन्द्रसँग त्यति खुलेर कुरा गर्न सकिनँ। तर धेरै कुरा जान्ने मौका पाएँ रमाइलो पनि लाग्यो', उनले भने।

एक्लै सुरुवात गरेको कार्यक्रममा हाल थप तीन जना जोडिएका छन्। उनीहरुले अतिथिबारे सूचना संकलनका लागि साथ दिएका छन्।

यी अनुभवहरुले उनलाई रेडियोमा हुँदा गरेको मेहनत याद दिलाउँछन्। सुरुमा त रेडियो आफ्नो लागि होइन जस्तो लाग्थ्यो उनलाई। पछि रेडियोकै लागि जन्मिएको हुँ भन्ने महसुस गरे। रेडियोमा कार्यक्रम चलाउँदा अतिथिका रुपमा बोलाएका रहेछन् गायक नवीन के भट्टराईलाई। 'मेरो कार्यक्रममा आउँछु भनेर धेरै पटक आएनन्। लाइभ कुराकानीमा पनि यो प्रसङ्ग सम्झिएका थियौं', दीपेश भन्छन्। नवीन केसँगको गफगाफ उनको सर्वाधिक हेरिएकोमध्ये एक भिडियो हो।

त्यस समय वाध्यात्मक परिस्थितिका काररण रेडियोबाट ब्रेक लिए। तर रेडियोसँगको आत्मीयता सधैं रहिरह्यो।

'रेडियोमा गरेको त्यो संघर्ष अनि स्रोताको मायाले कहिल्यै पिछा छोडेन। बीचमा कुनै रेडियोमा काम नगर्दा पनि सम्झना आइरहन्थ्यो। कोरोना कहरमा लकडाउनले फेरि स्रोता माझ आउने अवसर दियो', उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell