
निर्देशक ख्वाजा अहमद अब्बास आफ्नो नयाँ फिल्म 'सात हिन्दुस्तानी'का लागि अभिनेताको खोजीमा थिए। त्यही बेला कसैले उनलाई अग्लो कद भएको पातलो युवकको तस्विर देखायो। अब्बासले तस्विरमा देखिएकोफ केटासँग भेट्ने इच्छा व्यक्त गरे।
चुडिदार सुरुवाल र नेहरु ज्याकेट लगाएर उनी कहाँ पुगेका अमिताभ बच्चनको अभिनय यात्रा त्यहींबाट सुरु भयो। त्यो यात्राको आज ५१ औं वर्ष पूरा भएको छ। जुन यात्राले उनलाई आज बलिउडका महानायकका रुपमा स्थापित गर्यो।
सन् १९६९ मा फिल्म 'सात हिन्दुस्तानी' रिलिज भए यता अमिताभले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। त्यसपछि गरेका केही फिल्महरु 'आनन्द', 'गुड्डी', 'बवार्ची', 'संजोग' लगायत सफल भएनन्। तर उनी कहिल्यै कामबाट खाली पनि भएनन्। फिल्म आनन्दका लागि त उत्कृष्ट सहअभिनेताको उपाधि नै पाएका थिए। त्यस अवार्डले उनलाई दर्शक माँझ चिनिन थप मद्दत गर्यो।
भारतीय सिनेमा क्षेत्रमा रोमान्टिक ड्रामा र अभिनेताहरुको दबदबा रहेको बेला 'एक्सन हिरो'को रुपमा उदाएका थिए उनी। फिल्म 'जन्जिर'मा 'एङ्ग्री योङ म्यान'का रुपमा देखिए पछि उनी स्थापित हुँदै गए। र, आज उमेरले ७७ वर्षको भइसक्दा पनि अभिनयमा सक्रिय छन्।
अमिताभले इन्स्टाग्राममा लेखेका छन्,'यत्रा वर्षहरु बिते। कति परिवर्तनहरु देखियो। चुनौतीहरु भोगियो।'
यसै वर्ष पनि उनी अभिनित फिल्म 'गुलाबो सिताबो' डिजिटल प्ल्याटफर्ममार्फत् सार्वजनिक हुँदैछ।
सुजित सिरकार निर्देशक उक्त फिल्म यसै वर्ष थिएटर रिलिजको तयारीमा थियो। तर, कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको कारण फिल्म प्रदर्शनमा पनि असर पर्यो।
फिल्ममा उनीसँगै केन्द्रिय भूमिकामा छन् आयुष्मान खुराना। बच्चन प्रकाशनाथ द्विवेदी र खुराना सुनीलकुमार शुक्लाका रुपमा प्रस्तुत भएका छन् जसमा उनीहरु क्रमश: घरबेटी र बहालवाला हुन्छन्। उनीहरु बीचको सम्बन्ध र आम मानिसको दैनिक संघर्षको कथा देखाइएको छ।
विहीबार नै उनले 'गुलाबो सिताबो' जुन १२ देखि एमाजोन प्राइममार्फत् दुई सयभन्दा बढी देशहरुमा सार्वजनिक हुने जनाएका छन्। लेखेका छन्,'यो अर्को परिवर्तनको भाग हुन पाउँदा उत्साहित छु।'
बलिउडका अन्य फिल्महरु पनि डिजिटल प्ल्याटफर्ममार्फत् सार्वजनिक हुने तयारीमा छन्।