
काठमाडौँः प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नेपाल भारत सीमामा अलपत्र नागरिकलाई तीन वटै तहका सरकारको समन्वयमा सुरक्षित रुपमा आफ्नो घर फर्किने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। स्वदेश फर्किएपछि क्वारेन्टाइनमा राख्ने व्यवस्थासहित समितिले नागरिकलाई स्वदेश फर्काउन निर्देशन दिएको हो।
समितिको बिहीबारको बैठकमा सांसदहरुले सीमामा रोकिएका नागरिकलाई सुरक्षित रुपमा प्रवेश गराउन माग गरेपछि समितिले निर्देशन दिएको हो। यस्तै, बैठकले कोरोना रोकथामको कार्यक्रम खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामाग्री व्यवस्था गर्न पनि निर्देशन दिएको छ। संक्रमितसँगका व्यक्तिको कन्ट्याक ट्रेसिङको कार्यलाई पनि तीव्र बनाउन समितिको निर्देशन छ ।
यस्तै, समितिले आवश्यक आइसोलेसन बेडको प्रबन्ध गर्न, भेन्टिलेटर तथा औषधिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। समितिले मास्क तथा स्नानिटाइजरको सर्वसुलभ रुपमा उपलब्धताका लागि पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।
समितिले परीक्षणको दायरा तत्काल बढाउन र सो अनुसारको सामाग्री प्रदेश र स्थानीय तहका लागि व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
मजदूर, विद्यार्थी तथा अन्य विपन्न नागरिकलाई उपलब्ध गर्ने राहतलाई व्यवस्थित गर्न पनि समितिले निर्देशन दिएको छ।