
काठमाडौं : सरकारले कोरोनाबाट प्रभावित २८ जिल्लामा परीक्षणको दायरा बढाउने योजना बनाएको छ। प्रदेश १, २, ५, सुदूरपश्चिम र कर्णाली प्रदेशमा परीक्षण बढाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २८ जिल्लामा परीक्षण गर्ने योजना रहेको बताएका छन्। संक्रमितको संख्या बढ्न थालेपछि सरकारले २८ जिल्लामा परीक्षणको दायरा बढाउने निर्णय गरेको हो।
हालसम्म नेपालमा २ सय ४६ जना संक्रमित भेटिएका छन्। जसमध्ये ३५ जना भने निको भएर घर फर्किसकेका छन्।
नेपालमा तराईका अधिकांश जिल्लामा बढी संक्रमण देखिएको छ भने हिमाली जिल्लामा अहिलेसम्म संक्रमण भेटिएको छैन। भारतबाट अवैध बाटो हुँदै तराईका विभिन्न जिल्ला तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा धेरै नेपाली आएका छन्। उनीहरुका कारण संक्रमणको उच्च जोखिम छ।
सरकारले बिहीवारसम्म २२ हजार ६ सय ६४ जनाको पीसीआरबाट परीक्षण गरेको छ।
फेरि घट्यो पीसीआर परिक्षण, आरडीटी गर्नेको संख्या बढ्दै
१ हजार ३ सय ६३ जनाको बिहीवार पीसीआर परीक्षण गरिएको छ। बुधवार २ हजार बढीको पीसीआर गरिएकोमा बिहीबार त्यो संख्या घटेर १४ सयको हाराहारीमा झरेको हो।
आरडीटीको संख्या ६२ हजार ३ सय २७ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २ हजार ८ को बिहीवार आरडीटी गरिएको बताए। बुधवार ६ सयको मात्रै आरडीटी गरिएको थियो।
देशभर ५३ हजार ८ सय ३५ क्वारेन्टाइन बेड छन्। १५ हजार ६०० जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा बस्नेको संख्या २ सय ७२ छ।