PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

अर्थविद्हरुको आरोप : लकडाउनले अर्थतन्त्रमा परेको असरबारे सरकारले अध्ययन गर्न सकेन



पहिलोपोस्ट

अर्थविद्हरुको आरोप : लकडाउनले अर्थतन्त्रमा परेको असरबारे सरकारले अध्ययन गर्न सकेन
फोटो : रासस।

काठमाडौं : अर्थविद्हरुले सरकारले लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको अध्ययन अझै पनि गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको अर्थसमितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको प्राथमिकताका विषयमा बिहीवार गरेको छलफलमा सहभागी अर्थविद्हरुले सो आरोप लगाएका हुन्।

उनीहरुले लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको समस्टिगत अध्ययन गरी राहतको प्याकेज ल्याउन सुझाएका छन्। लकडाउनले अर्थतन्त्रलाई कमजोर बनाउने  भएकाले त्यसको अध्ययन गरी बजेटका प्राथमिकता तयार गर्नुपर्ने सुझाव दिएका हुन्। अर्थविद्हरुले लकडाउनका कारण गुम्ने रोजगारीलाई कम गर्न सके अर्थतन्त्र जोगाउन सकिने बताएका छन्। आयातित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रुपमान्तरण गर्न लकडाउन अवसर हुन सक्नेमा समेत अर्थविदहरुको जोड छ।

बैठकमा अर्थविद डा चन्द्रमणि अधिकारीले हिजोको दिनमा रहेको रोजगारीको संख्या र लकडाउन पछि गुम्ने रोजगारीको अध्ययन हुनुपर्ने बताए। उनले अहिले भएको रोजगारी जोगाउनका लागि सरकारले उचित कदम चाल्न सके सबैभन्दा ठूलो राहत हुने बताए।

बैठकमा अर्का अर्थविद् डा गोविन्द नेपालले होटल र पर्यटन क्षेत्रमा लामो समय असर पर्ने भएकाले यस क्षेत्रमा गुम्ने राजगारीको व्यवस्थापन चुनौतिपूर्ण रहेको बताए। अर्थविद डा विश्वम्बर प्याकुरेलले वित्तीय र मौद्रिक नीतिलाई समन्वय गरेर लैजान सके मुद्रास्फीति नियन्त्रण गर्न सकिने बताए। लकडाउनले उत्पादन घट्ने, उद्योग बन्द हुने, पर्यटन क्षेत्र ठप्प हुँदा गिरावट आएको अर्थतन्त्रलाई ‘भि सेप’को रिकभरी दिन सरकारले प्याकेजहरु ल्याउनुपर्ने उनको भनाइ थियो।

बैठकमा अर्का अर्थविद् डा डिल्लीराज खनालले लकडाउनका कारण श्रम बजारमा उत्पन्न भएको समस्यालाई समाधान नगरे सामाजिक द्वन्द्व उत्पन्न हुने बताए। उनले लकडाउनले ४०/४५ लाख मानिसहरु बेरोजगार भएको अवस्थामा अर्थतन्त्रमा गम्भीर असर पर्ने भएकाले त्यसका लागि नीति तथा कार्यक्रम र बजेटमार्फत राहत ल्याउन सरकारलाई सुझाव दिए।

उता अर्थविद् शंकर शर्माले स्वास्थ्य, राहत र रोजगारीमा केन्द्रित भएर सरकारका कार्यक्रमहरु आउनुपर्ने धारणा राखे। साना तथा घरेलु उद्योगमा रोजगारी गुम्ने भएकाले त्यस क्षेत्रमा श्रम गर्नेहरुको व्यवस्थापन उचित ढंगले गर्नुपर्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell