सुर्खेत : कर्णाली प्रदेशमा कार्यरत सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको आरटी-पीसीआर परीक्षण शुरु गरिएको छ। केही जिल्लामा पत्रकार र स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिन थालेपछि कर्णाली प्रदेश सरकारले कर्णालीमा रहेर काम गर्ने पत्रकारसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमणको उच्च जोखिममा हुने हुँदा परीक्षण गर्न शुरु गरेको हो।
पहिलो चरण अन्तर्गत बुधवार सुर्खेतमा कार्यरत पत्रकारहरुको स्वाबको नमुना संकलन गरिएको थियो। प्रदेशको प्रवेशद्वार सुर्खेतमा रहेर काम गर्ने ४३ जना पत्रकारको स्वाब संकलन गरिएको छ। पीसीआर परीक्षणको रिपोर्ट भने बिहीवार बेलुकासम्म मात्रै आउने प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
धेरै भिडभाड हुने स्थानमा जाने र अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाटै संक्रमण फैलिन सक्ने भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका दश वटै जिल्लामा कार्यरत सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबैको परीक्षण गर्ने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।
‘अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कोरोना मुक्त भएमात्र अन्य क्षेत्र मुक्त हुने आँकलन हाम्रो हो’, उनले भने, ‘पहिलो चरणमा सुर्खेतबाट पत्रकारको नमुना परीक्षण शुरु गरेका छौँ। अब प्रदेशका सबै जिल्लास्थित सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परीक्षण गराउँछौँ।’
प्रदेश सरकारले अबको १५ दिनभित्र यसअघि २७ स्थानमा खटिएका स्वास्थ्यकर्मीसहित स्थानीय पालिकाका स्वास्थ्य संस्थाले दश हजार बढीको पीसीआर परीक्षण गर्ने जनाएको छ। साथै, भारतलगायत तेस्रो मुलुकबाट र संक्रमित जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाको समेत पीसीआर परीक्षण गर्ने मन्त्रालयको भनाइ छ।
‘स्थानीय वडा तहमा भएका स्वास्थ्य संस्था र पछिल्लो समय खटाइएका चिकित्सक सहितको टोलीले कर्णालीका सवै वडाहरुबाट शंकास्पद र केही लक्षण देखिएकाहरुको स्वाब संकलन गरेर परीक्षण हुन्छ’, मन्त्री रावलले भने, ‘सबै वडाहरुमा १० जनाको सामूहिक परीक्षण हुन्छ। त्यो नतिजाको आधारमा आवश्यक रणनीति तयार गरेर अघि बढ्छौँ।’
दश हजार किट खरिद गरिँदै
कर्णाली प्रदेश सरकारले दश हजार किट खरिद प्रक्रिया अघि बढाएको छ। पछिल्लो समय संघीय सरकारले पठाएको पाँच सय बराबरको किटले नपुग्ने भएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेर १० हजार किट खरिद गर्न लागेको हो। कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पाँच÷पाँच हजारका दरले पीसीआर परीक्षणमा चाहिने आवश्यक सामान खरिद गर्न लागेकोे जनस्वास्थ्य सेवा निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन्।
उनले भनिन्, ‘किट खरिद भयो भने प्रदेशमा पीसीआर परीक्षणको काम रोकिदैँन।’
कर्णालीका १० जिल्लामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र उपचारको अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित क्वारेन्टाइनमा बसेका गरी दश हजार बढीको पीसीआर परीक्षण गरिने प्रदेश सरकारको भनाइ छ।