
काठमाडौं : प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले गैरसरकारी संस्थाहरुको सहकार्यात्मक परिचालनका लागि आवश्यक कार्यविधि जारी गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको आजको बैठकमा गैरसरकारी संस्थाहरुलाई प्रतिफलदायी तवरमा परिचालन गर्न/गराउन कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको ध्यानाकर्षण गराउँदै नेपाल सरकार, गृह मन्त्रालय तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले विपद्को अवस्थामा गैरसरकारी संस्थाहरुको परिचालन स्पष्ट रुपमा हुन नसक्नु र गैर सरकारी संस्थाहरु न्यून मात्रामा मात्र परिचालित हुनु अपेक्षित नभएको ठहर गरेको छ।
त्यस्तै, पूर्व स्वीकृत भएका तर आर्थिक उत्तरदायित्व सिर्जना भई नसकेका परियोजनाहरु राष्ट्रिय विपद्को अवस्थामा आवश्यकता अनुसार परिमार्जन (क्षेत्रगत एवं रकमान्तर) गरी औचित्यका आधारमा संचालन गर्न/गराउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ। समितिले गैरसरकारी सस्थासँग रहेको स्रोत र साधनको अधिक प्रयोग गर्न/गराउन कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको ध्यानाकर्षण गराउदै नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देश गरेको छ।
यसैगरी समाज कल्याण परिषद्ले संघ संस्था सम्बन्धी परियोजना अनुगमन मूल्यांकनका लागि तोकेको रकममध्ये २५ प्रतिशत मात्र अनुगमन मूल्यांकनमा प्रयोग गर्न पाउने र बाँकी ७५ प्रतिशत परियोजना कार्यका लागि नै विनियोजन गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ। समितिले अनुगमन मूल्यांकन लगायतका नाममा हुने फजुल खर्च नियन्त्रण गर्दै अनुगमन मूल्यांकनलाई वस्तुनिष्ठ, परिपक्व र पारदर्शी बनाउन पनि भनेको छ।