PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

धनगढी उपमहानगरको राहत सामग्री खरिदका कागजात अख्तियारको नियन्त्रणमा, कुहिएको चामल वितरणको आरोप



एम बम

धनगढी उपमहानगरको राहत सामग्री खरिदका कागजात अख्तियारको नियन्त्रणमा, कुहिएको चामल वितरणको आरोप

कैलाली : धनगढी उपमहानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरको टोलीले खाद्यान्न खरिदको टेन्डरसम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए। अख्तियारका प्रवक्ता विष्टले राहतका सामग्री खरिद प्रक्रियामा भएको अनियमितता बारे छानविन गर्न सबै कागजपत्र नियन्त्रण लिईएको बताए। ‘खरिद प्रक्रियाका सबै कागजपत्रको प्रमाणित प्रतिलिपी नियन्त्रणमा लिईएको हो,’ उनले भने।

टोलीले उपमहानगरका वडा नम्बर २ र ४ मा वितरणका लागि राखिएको र उपभोक्ताले फिर्ता गरेको खाद्यान्न पनि निरीक्षण गरेको छ।
उपमहानगरले राहतमा कुहिएको चामल वितरण गरेको र अनियमितता भएको विषय सञ्चारमाध्यमबाट जानकारी पाएपछि अनुसन्धान थालिएको प्रवक्ता विष्टको भनाई छ।

उपमहानगरले तीनदिने सूचना जारी गरेर खाद्यान्न आपूर्तिका लागि २ करोड ६१ लाखमा ठाकुर ट्रेड लिंकलाई राहत सामाग्री खरिदको टेण्डर दिएको थियो।

यस्तै राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण गरेपछि बिवादमा आएको धनगढी उप–महानगरपालिकाले छानबिन समिति गठन गरेको छ। वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले वडा नम्बर ४ को गोदामबाट छानबिन सुरु गरेको छ।

अहिले सम्म १५ किलोग्राम तौल भएका तीन सय ५६ कठ्ठा (पोका) र २० किलोग्राम तौल भएका २० वटा कठ्ठा खोलिएको छ। त्यसमा समेत दुई सय ६९ कठ्ठामा कुहिएको चामल भेटिएको समितिले जनाएको छ।

उनले तीन दिनभित्रै छानविन सकेर उप–महानगरपालिकालाई प्रतिवेदन बुझाउने बताए।
समितिमा वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक, वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य तथा उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन्।

अहिले धनगढी उपमहानगरपालिकाले राहत वितरणलाई भने रोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell