PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

बीओपी स्थापना गर्न छाङरु पुगेका एआईजी थापा भन्छन् : अब सशस्त्र जाडो लागेर तल झर्दैन, नेपाल प्रहरी पनि त्यहीँ बस्छ



कमलराज भट्ट

बीओपी स्थापना गर्न छाङरु पुगेका एआईजी थापा भन्छन् : अब सशस्त्र जाडो लागेर तल झर्दैन, नेपाल प्रहरी पनि त्यहीँ बस्छ

काठमाडौं:  भारतले नेपाली भूमि कालापानी हुँदै मानसरोवर जोड्न सडकको ट्रयाक खोलेपछि नेपाल भारत सीमा विवाद पुनड्ड चर्चामा छ। नेपालमा सडकदेखि सदनसम्म विरोध भइरहेको छ। नेपाल सरकारले औपचारिक रुपमा भारतलाई कूटनीतिक नोट दिएको हो।

नेपालले आफ्नो भूभाग मिचिएको बताइरहँदा भारतले पनि उक्त भूमि आफ्नो भएको बताएको छ। कोरोना कहरका कारण विवादलाई वार्ताको टेवलमा ल्याउने काम भएको छैन।

विवादबीच बुधबारमात्र नेपालले दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। बीओपी स्थापनाका लागि सशस्त्रका एआइजी नारायणबाबु थापा छाङरु पुगेका थिए। सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी त्यहाँ पुर्‍याइएको हो।

थापाको छाङरु अनुभव र सशस्त्रको भावी रणनीति उनकै शब्दमाः-

नेपाल सरकारले सीमा सुरक्षालाई बलियो बनाउने नीति लिएको छ। त्यस अन्तर्गत दक्षिणतिर ११९ ठाउँमा बीओपी छन्। उत्तरतिर संखुवासभाको किमाथांकामा बीओपी राखिएको छ।

दार्चुलामा १६० जनाको गुल्म पहिल्यै थियो। यहाँको उत्तरी क्षेत्र ब्यास गाउँपालिकामा राख्नुपर्छ भन्ने हिसाबले सरकारको निर्देशन अनुसार वडा नम्बर १ को छाङरुमा फौज तैनाथ गरिएको हो।

यो ठाउँ धेरै हिसाबले महत्वपूर्ण छ। हामीले बीओपी स्थापना गरेको ठाउँमा जमानादेखि नेपाल प्रहरीको चौकी (छाङरु सीतापुलमा र माथि तिंकर) मा रहँदै आएको छ।

मौसम अनुसार उचित बसोबास र ब्यारेकको अभावको कारणले चिसोमा बस्न नसक्ने भएर मंसिर लागेपछि दुबै चौकी ४२ किलोमिटर तल दुम्लिङमा झरेर बस्दै आएको थियो।

छाङरु र तिंकर गाउँका जनता पनि आफ्ना बस्तुभाउसहित सबै लालाबाला लिएर भारतीय बाटोबाट सदरमुकाम खलंगासहित विभिन्न ठाउँमा आउने गरेको र गाउँमा एकदुई जना हेरालु (गाउँ कुर्ने) बाहेक गाउँ ५/६ महिना शून्य स्थितिमा हुँदो रहेछ।

सबै हिसाबले महत्वपूर्ण ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति चाहिन्छ। हामीलाई सीमा सुरक्षाको जिम्मेवारी पनि छ भन्ने हिसाबले बुधबार काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा हामी आएर बीओपी स्थापना गरेका हौं।

छाङरु जोड्ने नेपालतर्फको कच्ची बाटो धेरै ठाउँमा विग्रेको, जान नसक्ने भएको कारणले फौजलाई रासन पानी, सञ्चार, अरु सबै आवश्यक हातहतियार, गोलीगठ्ठा लैजानुपर्ने भएकाले आज पूरै दिन लाग्यो। हामीले ६ महिनाको राशन एकैचोटी हेलिकोप्टरबाट लगेर झारेका छौँ।

नेपाल प्रहरीका साथीभाईलाई पनि लग्यौँ। अब छाङरुमा प्रहरी र सशस्त्र मिलेर जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने, सीमाको रक्षा गर्ने काममा खटिन्छौँ।

लकडाउने स्थानीय बासिन्दा सदरमुकाम खलंगाबाट आउन नपाएकाले गाउँ पनि शून्य भएको र धेरै मान्छे सदरमुकाममै रहेकाले थोरै मान्छेसँग भेट भयो। सदरमुकाममा पनि भेट्यौँ। सशस्त्र प्रहरी बस्यो भने हामी पनि बाह्रै महिना बस्ने वातावरण हुन्छ भनेर उहाँहरु उत्साहित हुनुहुन्छ।

सरकारले हामीलाई वन क्षेत्रको २५ रोपनी जग्गा उपलब्ध गराएको छ। नेपाल सरकारले पहिल्यै निर्णय गरे अनुसार त्यहाँ छिट्टै नै हाम्रो भवन निर्माण हुन्छ। मौसम अनुकूलको भवन बनाउने योजना छ। छिट्टै नै टेण्डरमा गएर त्यो काम सकिन्छ।

अब सशस्त्र प्रहरी जाडो लागेर तल नझरोस् भन्ने हाम्रो लक्ष्य छ। वातावरण अनुकूलको भवन भयो भने बाह्रै महिना त्यहाँ उपस्थिति रहन्छ। अब सशस्त्र प्रहरी हिउँदे याममा तल झर्न पर्दैन। पक्की ब्यारेक बन्यो भने नेपाल प्रहरी पनि झर्दैन। त्यहीँ बस्छ। हिउँदमा स्थानीय पनि बस्छन्। बाटो, विरामी हुँदा हेलिकोप्टर, अस्पताल जाने साधन नहुँदा स्थानीय तल झर्थे। अब भोलि (हिउँदमा) सुरक्षाकर्मी बस्यो भने त्यहाँ चहलपहल हुन्छ। कोही बिरामी भएमा सदरमुकाममा हाम्रो सञ्चार सेटले खबर गरिदिन्छ। केही पर्‍यो भने उद्धार गर्ने सुरक्षाकर्मी हुन्छन्।

यस्तै दुर्गम अपर गोरखा, अपर मुस्ताङ, पूर्वका ठाउँहरु छन्। त्यहाँ त बसोबास छ। त्यसकारण कोही बिरामी भयो भने खबर पुर्‍याए त राज्यले नै हेलिकोप्टर पठाएर उद्धार गर्छ। त्यसो भएर अब सशस्त्र प्रहरी जाडो लाग्यो भनेर झर्ने अवस्था हुँदैन।

यहाँको भूगोल प्रकृतिले दिएको वरदान हो। नजिकै हिमाल छ। हिउँ देख्न सकिन्छ। तर, विकट छ। महाकाली किनारै किनार बाटो भइदियो भने ठूलो सम्भावना छ। मैलै सुने अनुसार सरकारले बाटो बनाउन बजेट विनियोजन गरेको छ। छिट्टै बाटो पनि बन्छ। यो भन्दा कैयौँ विकट ठाउँ जुम्ला, डोल्पा, हुम्लामा बाटो गइसक्यो। किमाथांका पनि जाने क्रममा छ। उत्तरका सबै भूगोल विकट हुन्। छाङरुमा नगरेर हो। समय लाग्ला, बाटो जान्छ।

बाटो बन्यो भने तिंकर भञ्याङ भएर ताक्लाकोट जाने, मानसरोवर जाने छोटो रुट खुल्छ। हाम्रो पनि पवित्र तीर्थस्थल हो। कहिले कोदारी, कहिले रसुवागढी, कहिले हुम्लाको हिल्सा भएर नेपालीमात्र होइन भारतीय पर्यटक नेपालको रुट प्रयोग गरेर जाने गर्छन्।

त्यहाँ बाटो भयो भने हाम्रो धार्मिक रुट पनि कायम हुन्छ। पर्यटन प्रवर्द्धन पनि हुन्छ। धेरै सम्भावना बोकेको छ। म त्यहाँ पुग्दा यस्तो लाग्यो कि म पृथ्वीको स्वर्गमै छु। हाम्रो भूमि निकै सुन्दर छ। जान असहज भएर मात्रै दुर्गम भएको हो। बाटो सहज भयो भने कायापलट हुन्छ।

जसरी मुस्ताङ, मनाङ दुर्गम रहेनन्, त्यसैगरि त्यो क्षेत्र पनि दुर्गम रहँदैन अब।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell