PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

६ प्रदेश २३ जिल्ला : यस्तो छ कोरोना संक्रमणको अवस्था



पहिलोपोस्ट

६ प्रदेश २३ जिल्ला : यस्तो छ कोरोना संक्रमणको अवस्था

काठमाडौँः कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४९ पुगेको छ। सबैभन्दा बढी प्रभावित प्रदेश २ भएको छ। प्रदेश २ मा संक्रमितको संख्या ९९ छ।

भाइरसको हटस्पट पर्सा जिल्लामा ८५ जनामा संक्रमण देखिएको छ। त्यस्तै बारा, रौतहट र धनुषामा ३-३ जनामा संक्रमण देखिएको छ। महोत्तरी र सर्लाही २-२ जनामा र सप्तरीमा १ जना गरी प्रदेश २ मा कूल ९९ जनामा कोभिड १९ पोजिटिभ देखिएको छ।

प्रदेश २ मा संक्रमितमध्ये ५ जना निको भएर घर फर्किएका छन्।

लकडाउनको ५२औँ दिनसम्म आइपुग्दा नयाँ हटस्पटका रुपमा प्रदेश ५ देखिएको छ। अन्य क्षेत्रको तुलनामा निकै पछि संक्रमण देखिएको प्रदेश ५ मा संक्रमतिको संख्या एक सय पुग्न लागेको छ। यहाँका ५ जिल्लामा ९४ जना संक्रमित भएका छन्। सबैभन्दा बढी कपिलवस्तुमा ३९ जना, रुपन्देहीमा २८, बाँकेमा २५, नवलपरासी पश्चिममा १ र बर्दियामा १ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये एक जनामात्र संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमण धेरै संख्यामा देखिन थालेको प्रदेश १ मा हाल संक्रमण संख्या बढेको छैन। यहाँका तीनवटा जिल्लामा ३५ जना संक्रमित भेटिएका छन्। उदयपुरमा ३२ जना, झापामा २ जना र भोजपुरमा १ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ। ३५ मध्ये १६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन्।

दुई दिनयता बाग्मती प्रदेशमा समेत नयाँ संक्रमित देखिएका छन्। बिहीबारमात्रै काठमाडौंको चन्द्रगागिरि नगरपालिकामा थप दुई जनामा संक्रमण देखिएको छ। यस्तै धादिङमा समेत एक जनामा संक्रमण देखिएको छ। प्रदेशभर १३ जनामा संक्रमण देखिएको छ। यससँगै काठमाडौंमा ८ जनामा संक्रमण देखिएको छ। भक्तपुरमा दुई जनामा कोरोनाको एक्टिभ केस देखिएको छ। चितवनमा दुई जनामा संक्रमण देखिएको छ। ११ जनामा ६ जना संक्रमण मुक्त भइसकेका छन्।

सुदूरपश्चिममा पछिल्लो चरणमा कोरोना संक्रमितको नयाँ केस देखिएको छैन। प्रदेशको कैलालीमा ४ जना र कञ्चनपुरमा १ जना गरी यहाँ ५ जनामा संक्रमण देखिएको छ। यस प्रदेशका सबै संक्रमित संक्रमण मुक्त भएपछि डिस्चार्ज भइसकेका छन्।

गण्डकी प्रदेशमा आज थप एकजनामा संक्रमण देखिएको छ। गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सूस्ता पूर्व (बसूपू) देवचुली नगरपालिका १२ बस्ने ४९ वर्षीय पुरुषमा संक्रमण देखिएसँगै प्रदेशमा संक्रमितको संख्या ३ पुगेको छ। यसअघि बाग्लुङमा दुई जनामा भाइरसको संक्रमण देखिएको थियो। दुवैजना डिस्चार्ज भइसकेका छन्।

सातवटा प्रदेशमध्ये कर्णाली प्रदेश संक्रमण मुक्त छ।

कूल संक्रमितमध्ये ३५ जना निको भएर डिस्चार्ज भइसकेका छन्। उनीहरुमध्ये तीन जनामा पुन: कोरोना संक्रमण देखिएको थियो। हाल संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell