PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

प्रदेश ५ मा शतक पार, पछिपछि प्रदेश २ : वाग्मतीमा सल्बलाउँदै संक्रमण



सहयोग रञ्जित

प्रदेश ५ मा शतक पार, पछिपछि प्रदेश २ : वाग्मतीमा सल्बलाउँदै संक्रमण

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५० नाघेको छ। शुक्रवार स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बाँके र मकवानपुरमा गरी थप ९ जनामा संक्रमण देखिएसँगै नेपालभर संक्रमितको संख्या २ सय ५८ पुगेको छ।

सातवटा प्रदेशमध्ये भाइरसबाट प्रदेश २ र ५ सबैभन्दा प्रभावित बनेका छन्। शुक्रवार बिहानसम्मको तथ्यांक अनुसार प्रदेश ५ मा संक्रमितको संख्या एक सय नाघेको छ।

प्रदेश ५ : शतक पार

लकडाउनको ५३ औं दिनसम्म आइपुग्दा मुलुकको सबैभन्दा हट स्पटका रुपमा प्रदेश ५ देखिएको छ।

यस प्रदेशमा हालसम्म संक्रमितको संख्या १ सय २ पुगेको छ। प्रदेश भित्र पनि सबैभन्दा बढी संक्रमित कपिलवस्तु जिल्लामा रहेका छन्। त्यहाँ ३९ जना संक्रमित छन्। शुक्रवार बाँकेमा थप ८ जनामा संक्रमण देखिँदा यस जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ। यस्तै, रुपन्देहीमा २८, नवलपरासी पश्चिममा १ र बर्दियामा १ जनामा संक्रमण देखिएको छ। यस प्रदेशमा संक्रमितमध्ये एक जनामात्र संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

प्रदेश २ मा उस्तै कहर

कोरोना भाइरसको संक्रमणबाट प्रदेश २ मा कहर नै मच्चिएको छ। प्रदेश २ मा कोरोनाबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ। भाइरसको हट स्पट पर्सा जिल्लामा मात्रै ८५ जनामा संक्रमण देखिएको छ। त्यस्तै बारा, रौतहट र धनुषामा ३-३ जनामा संक्रमण देखिएको छ।

महोत्तरी र सर्लाही २-२ जनामा र सप्तरीमा १ जना गरी प्रदेश २ मा कूल ९९ जनामा कोभिड १९ पोजिटिभ देखिएको छ। मधेशका जिल्लामा संक्रमित थपिँदा यहाँको कोरोना उपचार गर्ने अस्पतालमा शैय्या भरिएको छ भने स्कुलमा आइसोलेसन वार्ड तयार पारिएको छ।

प्रदेश २ मा संक्रमितमध्ये ५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

उदयपुरले अत्याएको प्रदेश १

नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमण धेरै संख्यामा देखिन थालेको प्रदेश १ मा हाल भने संक्रमण संख्या धेरै बढेको छैन। यहाँका तीनवटा जिल्लामा ३५ जना संक्रमित भेटिएका छन्।

उदयपुरमा ३२ जना, झापामा २ जना र भोजपुरमा १ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ। ३५ मध्ये १६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन्।

उदयपुरको भुल्केलाई चिनाउन समेत प्रमुख भूमिका खेल्यो कोरोना संक्रमितको संख्याले। पर्सा र बाँकेमा संक्रमितको संख्या नबढ्दा उदयपुर हट स्पटका रुपमा चिनिएको थियो।

संक्रमण सल्बलाउँदै वाग्मती प्रदेशमा

केही दिनदेखि वाग्मती प्रदेशमा समेत नयाँ संक्रमितहरु देखिएका छन्। शुक्रवारमात्रै मकवानपुर जिल्लामा भाइरसको पहिलो संक्रमण पुष्टि भएको छ। बिहीवार धादिङमा कोरोनाको पहिलो केस पुष्टि भएको थियो।

यस्तै, काठमाडौंको चन्द्रगागिरि नगरपालिकामा नयाँ कोरोना संक्रमितहरु देखिएका छन्। यससँगै काठमाडौंमा ८ जनामा संक्रमण देखिएको छ। भक्तपुरमा दुईजनामा कोरोनाको एक्टिभ केस देखिएको छ। चितवनमा दुईजनामा संक्रमण देखिएको छ। एक जना मकवानपुरमा देखिएको छ। वाग्मतीमा ६ जना संक्रमण मुक्त भइसकेका छन्।

सुदूरपश्चिममा संक्रमण घट्यो

सुदूरपश्चिममा पछिल्लो चरणमा कोरोना संक्रमितका नयाँ केस देखिएको छैन। प्रदेशको कैलालीमा ४ जना र कञ्चनपुरमा १ जना गरी यहाँ ५ जनामा संक्रमण देखिएको छ। यस प्रदेशका सबै संक्रमित संक्रमण मुक्त भएपछि डिस्चार्ज भइसकेका छन्।

गण्डकीमा पनि थपियो एक

गण्डकी प्रदेशमा आज थप एकजनामा संक्रमण देखिएको छ। गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सूस्ता पूर्व (बसूपू) देवचुली नगरपालिका १२ बस्ने ४९ वर्षीय पुरुषमा संक्रमण देखिएसँगै प्रदेशमा संक्रमितको संख्या ३ पुगेको छ। यसअघि बाग्लुङमा दुई जनामा भाइरसको संक्रमण देखिएको थियो। दुवैजना डिस्चार्ज भइसकेका छन्।

सातवटा प्रदेशमध्ये कर्णाली प्रदेश अहिलेसम्म संक्रमण मुक्त रहेको छ।

देशभरी कूल संक्रमित मध्ये ३५ जना निको भएर डिस्चार्ज भइसकेका छन्। उनीहरुमध्ये तीनजनामा पुन: कोरोना संक्रमण देखिएको थियो। हाल संक्रमितहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell