.jpg)
काठमाडौँ : लकडाउनका कारण झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको छ। बिहीवार जिल्ला प्रशासन कार्यालय झापाले अनुमति दिए पनि गृहले अस्वीकार गरेको थियो।
लगत्तै सामाजिक सञ्जालमा टीकाटिप्पणी हुन थालेपछि गृहले पुनः स्वीकृति दिएको हो।
'सुरुमा हामीले स्वीकृति दिएका थियौँ। तर गृहले केही प्रक्रिया नपुगेको भनेर रद्द गरेको थियो। त्यसपछि हिजो नै प्रक्रिया मिलाएर स्वीकृति आइसकेको छ,' जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागरले भने।
शाहका सहयोगी फणिराज पाठकले झापाबाट गाडी छुटिसकेको जानकारी दिए।
फागुनको अन्त्यतिर भारतको सिक्किम र दार्जिलिङको भ्रमणमा निस्किएको पूर्व राजा परिवार चैत ११ बाट घोषित लकडाउनका कारण झापामा रोकिएको हो। पूर्व राजपरिवारका सदस्य झापाको दमकमा बसिरहेका थिए। दमकमै राज परिवारको स्वामित्वमा हिमालय महालक्ष्मी चिया बगान रहेको छ। पूर्व रानी कोमल सहित शाह परिवार झापामा थियो। प्रशासनले स्वीकृति दिएपछि आज बिहान पूर्व राजा शाह काठमाडौँ हिँडेको सिडिओ राना मगरले भने।
बिहीवारबाट गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै पास खारेज गरेको छ। कुनै अत्यावश्यक काममा एक जिल्लाबाट अर्को जिल्लामा आउनु पर्ने भए पुग्ने जिल्लाको सहमति लिनुपर्ने नियममा उल्लेख छ।