PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

खाद्यान्न महँगिन थाल्यो, लकडाउन बन्यो कारण



सरला सुवेदी

खाद्यान्न महँगिन थाल्यो, लकडाउन बन्यो कारण

काठमाडौं : एकातिर किनमेल गर्न कठिन अवस्था छ, अर्कातिर बढ्दो महँगी। कोरोना भाइरसको संक्रमणका कारण सर्वासाधारण लकडाउनमात्र होइन अब महँगीको मारमा पनि पर्ने भएका छन्। 

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनपछि खाद्यान्नको मूल्य बढेको छ। 

लकडाउनपछि मुसुरो, मास, मुगी, रहर दालको मूल्य किलोमा १५ रुपैयाँसम्म मूल्य बढेको छ। सामाखुशीमा रहेको खाद्यान्न बिक्री गर्ने गोर्खाली स्टोरका अनुसार मुसुरोको दाल किलोमा २० रुपैयाँ, मासको दाल किलोमा १० रुपैयाँ, मुगीको दाल किलोमा १५ रुपैयाँ र रहरको दाल किलोमा १० रुपैयाँ मूल्य बढेको छ।  

स्टोरका संचालक कृष्ण भट्टले लकडाउनपछि दाल, चामल  र खानेतेलको भाउ बढेको बताए। ‘लकडाउनकै अवधिमा केही खाद्यान्नको मूल्य बढेर आएको छ,’ उनले भने, ‘केही वस्तु अन्तर्राष्ट्रिय बजारमा समेत महँगो भएको भन्दै मूल्य बढाएको जानकारी उनीहरुले हामीलाई दिएका छन्।’ 

अहिले मुसुरोको दाल किलोको १ सय १५ रुपैयाँ, मासको दाल किलोको १ सय ५० रुपैयाँ, मुगीको दाल किलोको १ सय ८५ रुपैयाँ र रहरको दाल १ सय ६० रुपैयाँमा बिक्री भइरहेको छ।

उनका अनुसार जिरा मसिनो चामल किलोमा ४ रुपैयाँ र  सोना मन्सुली किलोमा पाँच रुपैयाँ मूल्य बढेको छ। लकडाउनकै अवधिमा केही कम्पनीले भटमास र सनफ्लवार तेलको मूल्य लिटरमै क्रमश: १५ र २५ रुपैयाँसम्म मूल्य बढाएका छन्। 

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले लकडाउनपछि मैदा र आँटाबाहेक सबै खाद्यान्नको मूल्य बढेको बताए। उनका अनुसार ढुवानी भाडा बढेको भन्दै खाद्यान्नको मूल्य बढाइएको छ। मैदा र आँटाको मूल्य नबढ्नुमा होटल र रेष्टुरेन्ट बन्द हुनु प्रमुख कारण हो। म:म बनाउन मैदाको प्रयोग हुन्छ। 

किन बढ्यो मुसुरोको मूल्य?
कोरोना संक्रमणपछि दैनिक ज्यालादारी गर्नेलाई सरकारले राहत वितरण गर्‍यो। स्थानीय तहले राहत स्वरुप विभिन्न मापदण्ड बनाउँदै चामल, मसुरोको दाल र तेल वितरण गर्‍यो। 

राहत वितरणकै कारण मुसुरोको दालको माग बढ्यो र ठूला व्यवसायीले मूल्य बढाए। यससँगै अन्तर्राष्ट्रिय बजारमा समेत मुसुरोको दालको मूल्य बढ्यो। 

कच्चा तेलको जस्तै मूल्य घटबढ हुने वस्तु बजारमा टनको ४ सय ८० डलरमा पाइने मुसुरो ६ सय ६० डलर पुग्यो। एक खाद्यान्न उद्योगीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकोले मुसुरो लगायतका केही वस्तुको मूल्य बढेको हो। 

‘मुसुरो लगायतको केही वस्तुको मूल्य बढेकोले यहाँ प्रभाव परेको हो। हाम्रो मात्रै उत्पादनले धान्दैन्। विदेशकै भर पर्नुपर्ने भएकाले त्यहाँ घटबढ हुँदा हामीलाई पनि असर गर्छ’ एक उद्योगीले भने, ‘त्यसमा पनि सबै उद्योगीले मूल्य बढाएका पनि छैनन्।’

खाद्यान्नको माग छैन
लकडाउनको सातौ हप्ता आएपछि खाद्यान्नको माग ह्वात्तै घटेको छ। होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका धेरै खाद्यान्न उपभोग हुने क्षेत्र बन्द छ। 

काठमाडौं लगायतका शहरी क्षेत्रमा बस्ने धेरै जना गाउँमा गएका छन्। लकडाउन अघि नै धेरैले खाद्यान्न समेत भण्डारण गरेर राखेकोले खाद्यान्नको माग कम भएको हो। 

एक खाद्य उद्योगीका अनुसार अहिले खाद्यान्नको माग अरु समयको भन्दा ६० प्रतिशत कम छ।

'लकडाउनमा धेरैले खाद्यान्न भण्डारण गरेर राखे। लकडाउनको सुरुमा खाद्यान्नको उपभोग समेत बढी भयो। तर विस्तारै पैसा निख्रिदै गएपछि उपभोग समेत कम भएको छ,’ ती उद्योगीले भने, ‘अहिले माग धेरै नै घटेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell