काठमाडौं : कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित प्रदेश नम्बर ५ मा तयार गरिएका सबै आइसोलेसन वार्डहरु भरिएका छन्।
कोरोना भाइरस संक्रमितका लागि भन्दै तयार पारिएका आइसोलेसन वार्डहरु भरिसकेको प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए।
हाल रुपन्देहीको धागो कारखानामा ३६, भैरहवाको भीम अस्पतालमा १९, कपिलबस्तु जिल्ला अस्पतालमा एक, बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा २६ जनाको उपचार भइरहेको छ।
हालसम्म कपिलबस्तुको कृष्णनगरमा रहेका ८ जना संक्रमितहरु मध्ये पाँच जनालाई दाङ पठाउने तयारी भइरहेको चौधरीले जानकारी दिए। उनीहरुलाई हिजोमात्र संक्रमण देखिएको हो। त्यस्तै, चार जनालाई भैरहवास्थित भीम अस्पतालमा ल्याउने उनले बताए।
आजै मात्र बाँकेको नैनापुरमा देखिएका ८ संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनको भनाइ छ।
'बाँकेमा आइसोलेसन प्याक भइसकेका छन्। फेरि पनि एक पटक क्यान्सर अस्पताललाई हामी आग्रह गर्छौं,' उनले भने, 'लक्षण नदेखिएका संक्रमितहरुलाई स्थानीय रुपमा नै आइसोलेसन युनिट निर्माण गरेर राख्ने विषयमा छलफल भइरहेको छ। हामी जिल्लामै व्यवस्थापनको तयारी गरिरहेका छौं।'
चौधरीका अनुसार हरेक जिल्लामा थप २० देखि ५० आइसोलेसन शैय्या स्थापना गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
'लक्षण नदेखिएकाहरुलाई सम्बन्धित पालिकामा नै आइसोलेसन सेन्टर स्थापना गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको छ। सोही अनुरुप हरेक जिल्लामा २० देखि ५० सैय्याका सेन्टरहरु निर्माण गर्ने तयारीमा छौं,' प्रवक्ता चौधरीले भने।
हालसम्म प्रदेश ५ मा एक सय २ जनामा संक्रमण देखिएको छ जसमध्ये अधिकांश भारतबाट प्रवेश गरेको देखिएको छ। उनीहरुको कन्ट्र्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताए।
रुपन्देहीमा संक्रमित पुष्टि भएका एक जना भारतीय नागरिक पनि छन्। उनलाई हाल भैरहवाको भीम अस्पतालको आइसोलेसनमा राखिएको छ।
'उनी कहाँ थिए, किन आएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ,' चौधरीले भने, 'उनको परिवार नेपालमा भए नभएको खुलेको छैन। उनले यहाँ भेटेका व्यक्तिहरुको ट्रेसिङको काम भइरहेको छ।'
निर्देशनालयको तथ्यांक अनुसार हालसम्म रुपन्देहीमा २७ जना संक्रमित पुष्टि भएका छन्। त्यस्तै यहाँ एक जना भारतीय नागरिकमा पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै कपिलबस्तुमा ४० जना (त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पुष्टि भएकी बालिकासमेत) संक्रमित छन्।
त्यस्तै बाँकेमा ३३ जना तथा नवलपरासी बर्दघाट सूस्ता पश्चिम र बर्दियामा एक एक जना संक्रमित छन्।
त्यस्तै प्रदेश ५ का २० वटा अस्पतालमा चार सय ३८ जना कोरोना भाइरसका शंकास्पद केसहरु रहेका छन्।
प्रदेश ५ मा हालसम्म चार हजार चार सय २७ जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन भएको छ। जसमध्ये एक सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्यस्तै बिहीवार साँझसम्मको निर्देशनालयको तथ्यांक अनुसार अझै ४६० जनाको नतिजा आउन बाँकी छ।