PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोरोना रेड जोनमा भारतबाट यसरी ल्याइँदैछ नेपाली: स्थानीय प्रशासन भन्छ, क्वारेन्टाइन भरिन थाले अब कहाँ राख्ने?



प्रकाश भण्डारी

कोरोना रेड जोनमा भारतबाट यसरी ल्याइँदैछ नेपाली: स्थानीय प्रशासन भन्छ, क्वारेन्टाइन भरिन थाले अब कहाँ राख्ने?
फाइल फोटो

काठमाडौं: तराईका सबैजसो जिल्लामा कोरोना भाइरसका संक्रमित छन्। प्रदेश २ र ५ मा संक्रमितको संख्या धेरै छ। भारतसँग सीमा जोडिएका तराईका जिल्लामा सीमा क्षेत्रबाट लुकिछिपी आउने क्रम नरोकिँदा संक्रमणको जोखिम बढी छ। भारतले अहिले सीमा क्षेत्रमा आएर बसेका नेपालीलाई नेपाल ल्याउन बाध्य पारेको स्थानीय अधिकारी बताउँछन्।

एकातिर सीमामा कडाई र अर्कोतिर भारतले सीमामा रहेकालाई स्वदेश जान बाध्य पारेपछि सीमासम्म आएकालाई चेकजाँच गरेर नेपाल ल्याउन थालिएको छ। स्वदेश फर्काउन थालिए पनि क्वारेन्टाइन र स्वास्थ्य परीक्षणको भने उचित प्रबन्ध छैन। जसकारण संक्रमणको जोखिम बढ्ने देखिएको छ।

भारतको असहयोग

शुक्रवार बिहानसम्म कपिलवस्तुमा ३९ जनामा संक्रमण पुष्टि भएको छ। पर्सामा ८५ संक्रमित भेटिँदा, दोस्रोमा छ कपिलवस्तु। संक्रमितमध्ये धेरैजसो भारतबाट आएका छन्। उनीहरु नेपाल भारत सीमामा कडाई गर्न थालेपछि लुकिछिपी नेपाल आएका हुन्। यसरी भारतबाट लुकिछिपी आउने बढ्न थालेपछि स्थानीय प्रशासनले कपिलवस्तुमा भारतमा अलपत्र परेका नेपालीलाई ल्याउन थालेको छ। वैशाख २२ गते यता शुक्रवार बिहानसम्म मात्रै तीन हजार नेपालीलाई ल्याएर क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकार दीर्घनारायण पौडेलले बताए। भारतले सुरुमा नेपालीलाई राखे पनि अहिले सीमामा ल्याएर अलपत्र छोड्ने गरेको पौडेलको भनाई छ।

'२० गतेसम्म त भारतले पनि सम्बन्धित देशले दुबै देशका अलपत्र नागरिकलाई व्यवस्थापन गर्ने सहमति मानेको थियो तर त्यसपछि उल्लंघन गर्दा नेपाली अलपत्र परे,'उनले भने।

नेपाली कामदारलाई भारत सरकारले व्यवस्थापन गर्ने आश्वासन दिए पनि अहिले सहमति नमानेको उनको आरोप छ। पौडेलले सीमामा कडाई र नेपाली कामदार भारतको बेवास्ताले सीमा क्षेत्रमा नेपालीहरुले दुःख पाइरहेको बताए।

सीमामा अलपत्र पर्ने नेपालीको संख्या दिन प्रतिदिन बढिरहेको उनको भनाई छ, 'सीमामा अलपत्र पर्न थालेपछि अवैध बाटो हुँदै नेपाली जोखिम मोलेरै नेपाल आउन थाले। त्यसपछि हामीले नेपाल ल्याउन थालेका हौँ। भारतको बेवास्ताका कारण यस्तो गर्नुपरेको हो,'उनले भने।

पौडेल कपिलवस्तुका ७ हजार नेपाली भारतमा अलपत्र रहेको जानकारी आफूलाई आएको बताउँछन्। अलपत्र सबै नेपालीलाई ल्याउने तयारी भए पनि क्वारेन्टाइनको अभाव हुँदा स्थिति भयावह भइरहको उनको भनाई छ।

'सात हजार अझै छन् भन्ने जानकारी छ। तर अहिले यहाँ कुनै स्कुल खाली छैन्। अब राख्ने ठाँउको अभाव भइसक्यो', उनले भने।

शुक्रवारदेखि भारतबाट ल्याइएका नेपालीको कोरोना परीक्षण गर्न थालिएको छ। भारतबाट नेपाल ल्याइका नेपालीलाई सम्बन्धित जिल्लामा पुर्‍याएको पौडेलले बताए। सहमति उल्लंघन गरे पनि नेपालमा रहेका भारतीयलाई भने सहमति अनुसारै  व्यवस्थापन गरिएको छ। कपिलवस्तुमा २७१ भारतीय कामदारलाई राखिएको पौडेल बताउँछन्।

क्वारेन्टाइनकै अभाव

कोरोना संक्रमणका हिसाबले बाँके जिल्ला पनि रेड जोनमा छ। ३३ जना संक्रमित छन्। बाँकेको नेपालगञ्जमा। संक्रमितमध्ये धेरैजसो भारतबाटै आएका छन्। सीमा क्षेत्रबाट लुकिछिपी आएकामा पनि कोरोना देखिन थालेको छ। सीमामा अलपत्र परेकामध्ये बाँकेको रुपडियाबाट ६८७ लाई नेपालगञ्ज ल्याइएको छ। उनीहरुको आरडीटी टेस्ट भइरहको छ। २८ जनाको बिहीवार भएको छ। नेपालमा रहेका एक हजार ४८३ भारतीयलाई पनि स्वदेश फिर्ता गरिएको प्रहरी निरीक्षक सुरज खत्रीले बताए।

रुपन्देहीमा ४९८ जना भारतबाट आएका छन्। भारतमा क्वारेन्टाइनमा बसेका र वैधानिक बाटो हुँदै आएकालाई नेपाल प्रवेश दिइएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। अझै रुपन्देहीका हजारभन्दा बढी भारतको क्वारेन्टाइनमा छन्। उनीहरुलाई पनि नेपाल ल्याउने प्रक्रिया थालिएको पन्थले बताए। अवैधानिक बाटो हुँदै रुपन्देहीमा आउनेको तथ्यांक नभएको उनको भनाई छ।

भारतबाट आएकाको आरडीटी परिक्षण गरी घर पठाउने गरेको पन्थले बताए। भारतीय सीमासम्म आएर अलपत्र पर्न थालेपछि उद्दार गर्न थालिएको हो।

भारतले सुरुमा अलपत्र नेपालीलाई खाने बस्ने व्यवस्था गरे पनि अहिले भने नेपालीलाई आफ्नो देश जान बाध्य पारिरहेको उनको आरोप छ।

'सुरुमा भारतले पनि नेपाली कामदारलाई राम्रैसँग राखेको थियो। अहिले उता पनि सायद राख्न नसकेर पनि होला नेपालीलाई स्वदेश जान भनेको रहेछ,'उनले भने।

अलपत्र नेपालीलाई ल्याउन थालेपछि अहिले क्वारेन्टाइनको अभाव भएको प्रमुख जिल्ला अधिकारी पन्थले बताएका छन्। थोरै क्षमताका क्वारेन्टाइन भएकाले अहिले कता राख्ने भन्ने स्थानीय प्रशासनलाई चुनौती देखिएको उनले बताए।

'सुरुमा ४०/५० जनाका लागि क्वारेन्टाइन बनाइएको थियो अहिले अब सयौँलाई ल्याउन परेपछि क्वारेन्टाइनको त एकदमै अभाव छ,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell