PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

नागढुंगामा ओर्लिए स्थानीय : लुकिछिपी काठमाडौं आउनेलाई रोक्न स्वयम् सेवक परिचालन



पहिलोपोस्ट

नागढुंगामा ओर्लिए स्थानीय : लुकिछिपी काठमाडौं आउनेलाई रोक्न स्वयम् सेवक परिचालन

काठमाडौं : काठमाडौंमा कोरोना भाइरसको संक्रमण फेरि सलबलाएसँगै नागढुंगावासीले आजबाट आफैँले नाका अनुगमन थालेका छन्।

काठमाडौंमा कोरोनाको 'जिरो केस' भइसकेको अवस्थ पुन: भाइरसको संक्रमण देखिएको र सबै नागढुंगाबाट नै काठमाडौं भित्रिएको तथ्य बाहिरिएलगत्तै स्थानीय सक्रिय भएका हुन्। आज नागढुंगामा स्थानीय नै खटिएर सवारी जाँच गरेका छन्।

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का अध्यक्ष गोपी सुर्खेतीले भने, ' उपत्यका प्रवेश गर्ने यही नाका हो। धेरै मानिस लुकेर र अनावश्यक रुपमा काठमाडौं प्रवेश गरेको र चन्द्रागिरिमा पछिल्लो पटक संक्रमित भेटिएपछि स्थानीय आफैँले प्रहरी जाँच कडाई गर्न अनुरोध गरेका हुन्।'

नाका हुँदै बाहिरी जिल्लाबाट आएका मानिसका कारण केही दिन यता चन्द्रागिरि उच्च जोखिममा परेको हुनाले स्थानीयले मिलेर लकडाउन थप कडाई गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।

संक्रमणको खतरा बढेसँगै वडाले १५ जनाको स्वयम् सेवक टोली परिचालन गरी भित्री नाकाहरुमा समेत परिचालन गरेको सुर्खेतीले बताए।

भने, 'अहिले प्रहरीसँग समन्वय गर्दै हामीले स्थानीय स्वयम् सेवकहरु परिचालन गरिरहेका छौं। नाकाबाट काठमाडौं प्रवेश गर्न नपाएपछि गोरेटो बाटो हुँदै लुकेर मानिसहरु भित्रिएका हुँदा प्रहरी र स्वयम् सेवकले अब यस्ता मार्गहरुमा संयुक्त निरीक्षण गर्नेछन्।'

हाल वडामा बाहिरबाट आएका र ग्यारेजहरुमा बस्नेको तथ्यांक संकलन भइरहेको छ। बाहिरबाट कोही व्यक्ति लकडाउनको समयमा वडामा आएको भए वडा कार्यालयमा भन्न उनले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell