PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बाँकेमा ४८ जनाको परीक्षण गर्दा थप ८ जनामा कोरोना, लखनउ र मुम्बईबाट आएका थिए, हिजो राती भित्रिएका ६८७ आरडीटी टेस्ट



कमलराज भट्ट

बाँकेमा ४८ जनाको परीक्षण गर्दा थप ८ जनामा कोरोना, लखनउ र मुम्बईबाट आएका थिए, हिजो राती भित्रिएका ६८७ आरडीटी टेस्ट
फाइल तस्विर

काठमाडौं : कोरोना भाइरस संक्रमणको पछिल्लो हटस्पट बाँकेमा थप ८ जनामा संक्रमण देखिएको छ।

पछिल्लो १५ दिनयता भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४८ जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ का १८ देखि ३६ वर्ष उमेर समूहका ८ जनामा संक्रमण देखिएको जानकारी दिएका छन्।

नैनापुरमा गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संक्रमित सबै भारतबाट आएकाहरु भएको बताए।

'उनीहरु सबै खुला सीमानाका कारण नेपाल प्रवेश गर्नेहरु छन्। क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउँदा संक्रमण देखियो,' उनले भने।

नरैनापुरका खटिएका प्रहरी निरीक्षक मानबहादुर विकले संक्रमित ८ जनामध्ये बहराइचबाट २ जना, लखनउ ३, मुम्बई १, गाजियावाद १ र भारत (ठाउँ खुल्न नसकेको) बाट १ जना आएको बताए।

उनका अनुसार ३० गते आएकाहरु नरैनापुर गाउँपालिका ५ का १० जनाको टेस्ट गर्दा ६ जनालाई संक्रमण देखियो। त्यसैगरी वडा नम्बर ३ मा ४ जना दाजुभाईको कलेक्सन गरिएकोमा १ जनालाई भाइरस पोजेटिभ देखियो।

साथै आजभन्दा १५ दिन अगाडि आएका ३४ जनाको पीसीआर टेस्ट गर्दा एक जनालाई संक्रमण देखिएको प्रहरी निरीक्षक विकले जानकारी दिए। ‘क्वारेन्टाइनबाट झिकेर संक्रमितलाई बाहिर निकालिरहेको छु। एम्बुलेन्स आउँदैछ। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लैजाने तयारी हुँदैछ,’ नरैनापुरबाट उनले टेलिफोनमा भने।

संक्रमितहरु गाउँपालिको वडास्तरीय क्वारेन्टाइनमा बसिरहेका थिए।

हिजो भित्रिएका ६ सय ८७ को आरडीटी टेस्ट हुँदै

बाँकेमा बिहीवार ६ सय ८७ नेपाली नेपाल प्रवेश गरेका छन् भने जिल्लामा रहेका १४ सय ८३ भारतीयलाई भारत सीमा नाकाबाट भारत पठाइएको बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए।

उनका अनुसार नेपाल आएका नेपालीहरुको दशगजामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस परीक्षण भइरहेको छ।

‘हिजो साँझ अध्यारो भएकाले ८ जनाको मात्रै टेस्ट गर्न सकियो,’ दशगजामा आरडीटी टेस्टमा खटिएका प्रहरी निरीक्षक सुरज खत्रीले भने, ‘स्वास्थ्यकर्मी सहितको टोलीले आज बिहानैदेखि सबैको परीक्षण गरिरहेको छ। अहिलेसम्म पोजेटिभ देखिएको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell