काठमाडौं : मंगलवार काठमाडौं उपत्यकाभित्र तीन जना कोरोना संक्रमित थपिए। जसमा दुई महिला र एक पुरुष थिए। दुई जना भक्तपुर जिल्लाका परे। भक्तपुरकै यो पहिलो केस थियो। सशस्त्र प्रहरीमा कार्यरत दुवाकोट बस्ने पुरुष संक्रमित पुष्टि भए। पछि खुल्यो उनी पूर्व गृहमन्त्री भीम रावलका सुरक्षा गार्ड हुन्।
उनी एक महिनाअघि बिदा लिएर बसेको अनुसन्धानमा खुलेको छ। उनको स्थायी घर भने रामेछाप हो। तर, उनी अहिलेसम्म काठमाडौं उपत्यकाबाट बाहिर गएको खुल्न सकेको छैन।
'हामीले पटकपटक सोध्दा पनि उहाँले बाहिर गएको भन्नु भएको छैन,' जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख हुमकला पाण्डेले भनिन्।
उनी काठमाडौं उपत्यकाबाट बाहिर नगएको भए उनीमा कोरोना कहाँबाट सर्यो?
उनमा देखिएको संक्रमण कम्युनिटी ट्रान्सफर त होइन? शंका पुष्टि भइसकेको छैन। उनीबाट अरुमा कोरोना संक्रमण हुने सम्भावना पनि उत्तिकै छ। त्यसैले अहिले उनको ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।
ती पुरुषले अहिलेसम्म १० जनासँग भेटेको खुलेको छ। उनका परिवारका सदस्यदेखि कपाल काट्ने नाइसम्म उनको कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर पठाइसकेको छ।
'उहाँले कपाल काट्नेदेखि केही आफन्तसँग पनि भेट्नु भएको रहेछ। उनीहरुको हामीले स्वाब परीक्षणका लागि पठाएका छौं,' प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्।
त्यस्तै, सोही दिन कोरोना संक्रमित भएकी महिला सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन्। उनी मध्यपुर थिमिमा कोठामा बस्थिन्। उनीसँगै उनकी साथी पनि बस्छिन्। दुवै जना अस्पतालमा कार्यरत हुन्। संक्रमित महिलाकी साथीको कोराना परीक्षण गरिसकेको छ। साथीमा कोरोना नेगेटिभ देखिएको छ। 'उहाँको परीक्षण गर्दा नेगेटिभ आएको छ,' सिडिओ पाण्डेले भनिन्।
संक्रमित महिला सुनसरीबाट सिन्धुली हुँदै भक्तपुर आएकी हुन्। उनी आउँदा बाटोमा पर्ने आफन्तको घरमा समेत छिरेकी छिन्। त्यसैले सुनसरीदेखि सिन्धुलीसम्मको ट्राभल हिस्ट्रीको अनुसन्धानमात्र होइन कोरोना परीक्षण समेत गर्नुपर्ने भएको छ।