
सन् २००८ को सफल बलिउड फिल्म 'दोस्ताना'को सिक्वेल बन्दैछ। भारतको समलिङ्गी आन्दोलनमा विशेष भूमिका खलेको यस फिल्मको दोस्रो भाग यसै वर्षको अन्त्यमा प्रदर्शनको तयारी थियो। फिल्मको छायाँकनबीच कोरोना भाइरसको संक्रमण फैलियो।
'दोस्ताना २' गत वर्ष घोषणा भएको थियो। फिल्ममा कार्तिक आर्यान र जान्वी कपुरको केन्द्रिइ भूमिका रहने बताइएको थियो। त्यसतै कलाकार लक्ष्यले यसै फिल्ममार्फत् डेब्यू गर्दै थिए। फिल्मलाई कोलिन डि'सुन्हाले निर्देशन गर्दै थिए। तर, कोरोना भाइरसका कारण फिल्मको रिलिज टार्गेट नै परिवर्तन हुने भएको छ। निर्माता करण जौहरले ट्रेड विश्लेषकहरुसँगको भिडियो कन्फ्रेन्समा भने,'फिल्मको आधा काम सकिएको थियो। फिल्मको महत्वपूर्ण दृश्य लण्डनमा छायाँकन गर्नु पर्ने थियो तर अब सबै रद्द गर्नुपर्छ।'
करणले लण्डनमा तय गरिएका दृश्य कता छायाँकन हुन्छ भन्ने बारे भने कुनै जानकारी दिएनन्।
बेलायत कोरोना भाइरसका कारण अति प्रभावित भएकै कारण करणले त्यहाँ छायाँकन नगर्ने बताएका हुन्। अमेरिका र युरोपका अधिकांश देशहरु पनि कोरोना प्रभावित भएकाले सन् २०२० र २०२१ मा बलिउड फिल्महरु भारतमै छायाँकन हुने विश्लेषण छ।
दोस्ताना २ को हकमा छायाँकन स्थल फेरिएको यो पहिलो घटना भने होइन। गत नोभेम्बरमा दिल्लीमा भइरहेको छायाँकन वायू प्रदुषणका कारण रोकिएको थियो।
वातावरणमा सुधार आएपछि छायाँकन जारी थियो। दिल्ली बाहेक चण्डिगढ र पञ्जावमा पनि फिल्म खिचिएको छ।