
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीलाई पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) सेटको व्यवस्था गरेको छ। त्यससँगै ४६ स्थानमा फेस सिल्ड (भाईजर) र पञ्जा लगाई ड्युटी गर्ने व्यवस्था मिलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन्।
दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसबाट हुने जोखिम न्यूनीकरणका लागी महाशाखाले यस्तो व्यवस्था गरेको हो। सरकारले जारी गरेको लकडाउनलाई कडाइका साथ कार्यान्वयन गराउन ट्राफिक प्रहरी ‘फ्रन्ट लाइन’मा रहेर अहोरात्र खटिँदै आएका छन्। सवारी आवागमनलाई व्यवस्थित र कडाइ गर्नका लागी जाँच र सोधपुछ गर्दा सवारी चालकसँग सबैभन्दा पहिले ‘फेस’ गर्नु पर्ने भएकाले उनीहरु संक्रमणको उच्च जोखिममा छन्।
एसएसपी ढकाल भन्छन्, ‘ट्राफिक प्रहरी सडकमा प्रत्यक्ष रुपमा खटिनु पर्ने भएकाले महामारीको रुपमा फैलिरहेको कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पूर्वसावधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो।’
पर्याप्त मात्रामा पीपीई नभएको र पीपीई नभएका स्थानमा खटिने ट्राफिक प्रहरीलाई भने कम्तिमा २ मिटरको सामाजिक दुरी कायम राखेर सुरक्षित भई चेकजाँचको व्यवस्था मिलाएको उनले बताए।
त्यसैगरी, महाशाखाले प्रत्येक ट्राफिक प्रहरीलाई स्यानिटाइजरसँगै मास्क, पञ्जा, साबुन आवश्कता अनुसार वितरण गरिरहेको छ। यसबाट बच्ने उपाय तथा पालना गर्नुपर्ने सावधानी लगायतका विषयहरुमा नियमित रुपमा ब्रिफिङ समेत गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताएका छन्।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन जारी गरेको ५३औं दिन बितिसकेको छ। त्यससँगै संक्रमितको संख्या २५८ पुगेको छ।