PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

प्रदेश ५ पछि प्रदेश २ ले पनि कटायो शतकः वाग्मतीमा थपिँदै संक्रमित, घेरिँदै काठमाडौँ



सहयोग रञ्जित

प्रदेश ५ पछि प्रदेश २ ले पनि कटायो शतकः वाग्मतीमा थपिँदै संक्रमित, घेरिँदै काठमाडौँ

काठमाडौं: कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २६७ पुगेको छ। शुक्रवार स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार वीरगंजमा थप ४ जना र काठमाडौं तथा उदयपुर थप १/१ जनामा संक्रमण देखिएका छन्।

पछिल्लो तथ्यांकका अनुसार दाङमा ३ जनामा संक्रमण देखिएको छ। संक्रमितहरुमा २३, ३६ र ३४ वर्षीय पुरुष छन्। दाङमा पहिलोपटक संक्रमण देखिएको हो।

वीरगंजमा संक्रमितको संख्या थपिएसँगै प्रदेश २ मा पनि संक्रमितको संख्या एक नाघेको छ। शुक्रवार  बिहानमात्रै प्रदेश ५ मा संक्रमितको संख्या एक सय नाघेको थियो। यससँगै नेपालका सातमध्ये दुई प्रदेशमा संक्रमितको संख्या एकसय पार गरेको छ।

प्रदेश ५: नयाँ जिल्लामा संक्रमण फैलिँदै

प्रदेश ५ मा कोरोना भाइरसको नयाँ हटस्पट देखिँदै आएको छ। नेपालगञ्जबाट सुरु भएको संक्रमण हाल दाङसम्म पुगेको छ। शुक्रवार दाङमा ३ जनामा नयाँ संक्रमण देखिएसँगै प्रदेशमा संक्रमितको संख्या १०५ पुगेको छ। 

नेपालमा दैनिक रुपमा संक्रमित बढिरहेका छन्। सबैभन्दा बढी संक्रमित कपिलवस्तुमा ३९ जना छन्। शुक्रवार बिहान बाँकेमा थप ८ जनामा संक्रमण देखिँदा यस जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ। यस्तै, रुपन्देहीमा २८, नवलपरासी पश्चिममा १ र बर्दियामा १ जनामा संक्रमण देखिएको छ।

यस प्रदेशमा संक्रमितमध्ये एक जनामात्र संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

प्रदेश २ मा पनि कट्यो शतक

कोरोनाको अर्को हटस्पट प्रदेश २ को पर्सा जिल्लामा थप ४ जनामा संक्रमण देखिएसँगै यस प्रदेशमा पनि संक्रमितको संख्याले शतक पार गरेको छ। प्रदेशभर १०३ जनामा संक्रमण देखिँदा पर्सा जिल्लामा हालसम्म सबैभन्दा बढीमा संक्रमण देखिएको छ। पर्सामा मात्रै ८९ जनामा संक्रमण देखिएको छ। त्यस्तै बारा, रौतहट र धनुषामा ३-३ जनामा संक्रमण देखिएको छ। महोत्तरी र सर्लाही २-२ जनामा र सप्तरीमा १ जनामा कोभिड १९ पोजिटिभ देखिएको छ।

प्रदेश २ मा संक्रमितमध्ये ५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

प्रदेश १ मा फेरि देखियो संक्रमण

नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमण धेरै संख्यामा देखिन थालेको प्रदेश १ को उदयपुरमा शुक्रवार थप एकजनामा संक्रमण देखिएको छ। यहाँका तीनवटा जिल्लामा ३५ जना संक्रमित भेटिएका छन्।

उदयपुरमा संक्रमित हुनेको संख्या ३३ पुग्दा झापामा २ जना र भोजपुरमा १ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ। ३६ मध्ये १६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन्।

वाग्मतीमा प्रदेश: जोखिममा काठमाडौं

केही दिनदेखि वाग्मती प्रदेशमा समेत नयाँ संक्रमित देखिएका छन्। काठमाडौंमा फेरि संक्रमितको संख्यामा वृद्धि भएको छ। सतुंगलमा ७ वर्षीय बालकमा संक्रमण पुष्टि हुँदा देशको राजधानी काठमाडौंमा संक्रमितको संख्या ९ पुगेको छ।

शुक्रवार बिहान प्रदेश राजधानी मकवानपुर जिल्लामा भाइरसको पहिलो संक्रमण पुष्टि भएको थियो भने बिहीवार धादिङमा कोरोनाको पहिलो केस पुष्टि भएको थियो। दुवै जिल्लामा एक-एकजना संक्रमित छन्। यस्तै भक्तपुरमा दुई जनामा कोरोनाको एक्टिभ केस देखिएको छ। चितवनमा दुई जनामा संक्रमण देखिएको छ। १५ जनामा ७ जना संक्रमण मुक्त भइसकेका छन्।

सुदूरपश्चिम प्रदेश: नियन्त्रणमा संक्रमण

सुदूरपश्चिममा पछिल्लो चरणमा कोरोना संक्रमितको नयाँ केस देखिएको छैन। प्रदेशको कैलालीमा ४ जना र कञ्चनपुरमा १ जना गरी यहाँ ५ जनामा संक्रमण देखिएको छ।

यस प्रदेशका सबै संक्रमित संक्रमण मुक्त भएपछि डिस्चार्ज भइसकेका छन्।

गण्डकी प्रदेश: संक्रमण रोक्ने प्रयासमा

गण्डकी प्रदेशमा शुक्रवार थप एक जनामा संक्रमण देखिएको छ। गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सूस्ता पूर्व (बसूपू) देवचुली नगरपालिका १२ बस्ने ४९ वर्षीय पुरुषमा संक्रमण देखिएसँगै प्रदेशमा संक्रमितको संख्या ३ पुगेको छ। यसअघि बाग्लुङमा दुई जनामा भाइरसको संक्रमण देखिएको थियो। दुवैजना डिस्चार्ज भइसकेका छन्।

सातवटा प्रदेशमध्ये कर्णाली प्रदेश संक्रमण मुक्त रहेको छ।

कूल संक्रमितमध्ये ३६ जना निको भएर डिस्चार्ज भइसकेका छन्। उनीहरुमध्ये तीनजनामा पुन: कोरोना संक्रमण देखिएको थियो। हाल संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell