PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ठोरीमा मानिस रोक्न होइन, जनावरका लागि तारबार : गाउँपालिका अध्यक्ष श्रेष्ठ



पहिलोपोस्ट

ठोरीमा मानिस रोक्न होइन, जनावरका लागि तारबार : गाउँपालिका अध्यक्ष श्रेष्ठ

वीरगंज : पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष पदम लाल श्रेष्ठले गाउँपालिकाको भारतीय सीमा क्षेत्रको तारबार तीन वर्षदेखि लगाइदै आएको बताएका छन्। उनले नेपाल–भारत सीमा क्षेत्रमा नागरिकको आवतजावत रोक्न तारबार नलगाइएको स्पष्ट समेत पारेका छन्।

‘आज आएर तारबार लगाइएको होइन, तीन वर्ष पहिलेदेखि भारतबाट पस्ने जनावर रोक्न वडा नम्बर ३ को क्षेत्रमा करिब ५ किलोमिटर क्षेत्रमा तार लगाइएको हो,’ उनले भने।

धेरै पहिलेको फोटो फेसबुकबाट निकालेर समाचार प्रकाशित भएपछि नेपाल–भारत सीमा क्षेत्रमा नेपालीले तारबार लगाउन थालेको चर्चा शुरु भएको थियो। खुल्ला रहेको ठोरी-भिखना नाकामा दुवै देशका सुरक्षकर्मीले गस्ती गरिरहेका भन्दै अध्यक्ष श्रेष्ठ सीमा नाकामा कही पनि काँडेतार नलगाइएको तर जंगल क्षेत्रमा लगाइएको बताए।

‘धेरै पहिलेको फोटोलाई प्रयोग गरी समाचारमा उल्लेख गरिएको छ, तर नेपाल भारत सीमाको दशगजामा तारबार लगाइएको होइन। भारतबाट वन्यजन्तु नेपाल पसेर बाली नष्ट नगरुन भनेर तार लगाइएको हो,’ गाउँपालिकाका अध्यक्ष श्रेष्ठले भने।

वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले ठुटेखोला नजिकै रहेको ४३५/१ देखि ४३१/४ नम्बरको पिलरसम्म तारबार लगाउने काम भएको दावी गरेका छन्। तर, उनले आवतजावत रोक्न नभई वडाको किसानको बाली संरक्षणका लागि दशगजा भन्दा उत्तरकै क्षेत्रमा तारबार लगाइएको स्वीकार गरे। २०७४ मंसिरबाटै सीमा क्षेत्रमा काँडेतार लगाउन शुरु गरिएको उनले बताए।

भारतले नेपाली भूभाग अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि दुई देशको सीमा विवाद फेरि चर्किको छ। नेपाली भूमि अतिक्रमणको विरोधमा लकडाउनकै अवधिमा पनि सडक प्रदर्शन भएका छन भने संसदमा पनि आवाज उठिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell