PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोनाको कहरमा नेपालका फुटबल क्लब, आर्थिक संकटबाट कसरी होलान् पार?



मुकुन्द घिमिरे

कोरोनाको कहरमा नेपालका फुटबल क्लब, आर्थिक संकटबाट कसरी होलान् पार?

काठमाडौं : कोरोनाको महामारीले विश्व खेलकुद प्रभावित छ। विश्वका ठूला लिग मानिने प्रिमियर लिग, ला लिगा लगायतका लिग खेल्ने क्लबहरु पनि आर्थिक संकटसँग जुधिरहेका छन्। त्यस्तै, क्लबहरुले तलब कटौतीसहित आर्थिक मितव्ययितामा चलाउन थालेका छन् आफूलाई।

नेपाली क्लबको हालत के त? नेपाल पनि यसबाट अछुतो छैन। सन्दर्भ धेरै फरक हुन सक्ला, समस्या एउटै छ - कोरोना। नेपालमै पनि क्लबहरु संकटमा छन्। कोरोनाले निम्ताएको सङ्कट लम्बिने पनि निश्चित जस्तै देखिन्छ।

शहीद स्मारक ए डिभिजन लिग सकिएको धेरै भएको छैन। क्लबले ठूला रकम खर्च गरेर स्वदेशी तथा विदेशी खेलाडीहरु अनुवन्ध गरेका छन्। त्यसमा पनि केही क्लबहरुको लगानी अपेक्षाभन्दा ठूलो छ। मोफसलका खेलसमेत खेल्ने गरी ठूला क्लबहरुले लगानी गरेका छन्। जसमा मछिन्द्र क्लब, मनाङ मर्स्याङदी क्लब, थ्री स्टार क्लब लगायतका छन्। त्यसबाहेक विभागीय तीन टिमले मोफसलका प्रतियोगितामा भाग लिने गरेका भए पनि उनीहरुले अरु क्लब जस्तो आर्थिक संकटसँग जुध्नु पर्ने छैन।

+++

लिग सकिएर मोफसलमा केही प्रतियोगिता हुँदै गर्दा कोरोनाको महामारी बढ्यो। नेपाल पनि त्यही मेसोमा संकटतिर धकेलियो। सबैतिर लकडाउन भयो। खेल गतिविधि ठप्प।

यस पटकको लिग बिजेता मछिन्द्र क्लबका अध्यक्ष प्रवोध कसा: विश्वव्यापी रुपमा कोभिड १९ ले असर गरिरहँदा मछिन्द्र क्लब पनि यसबाट अछुतो नरहेको बताए।

हुन पनि मछिन्द्र क्लबले यसअघिको लिगको उपाधि जित्दा ठूलै लगानी गरेको थियो। अघिल्लो सिजनमा पुछारको दुई टिममा समेटिएर ऋणात्मक अंकबाट पछिल्लो सिजनमा शीर्ष स्थानमा उक्लनुमा सानो लगानी र महत्वाकांक्षामात्र उपज थिएन। लिग सकियो। मछिन्द्रले इतिहासमै पहिलो पटक ए डिभिजन लिगको उपाधि उचाल्यो। मोफलसमा पनि केही प्रतियोगिताहरुमा उपाधि जित्यो। तर, लगत्तैको लकडाउनले मछिन्द्रलाई ठूलो क्षति पुगेको बताउँछन् अध्यक्ष कसा:।

उनले अन्तर्राष्टिय स्तरमा भइरहेको अभ्यासलाई उदाहरण दिँदै कोभिड १९ ले निम्ताएको आर्थिक संकटबाट जुध्न एन्फाले भूमिका खेल्नुपर्ने सुझाए।

'बाहिर देशहरुमा फुटबल क्लबहरुलाई जसरी सहयोग भइरहेको छ त्यही हिसाबले हामीलाई पनि सहयोग हुने हो भने हामी उठ्न सक्छौं,' अध्यक्ष कसा:ले पहिलोपोस्टसँग भने, 'मोफसल पनि राम्रो आम्दानीको श्रोत हो। १/२ वटा मोफसल खेलेर बाँकी खेल ठप्प हुँदा ३० देखि ३५ प्रतिशत नोक्सानी भएको छ।'

त्यस्तै, खेलबाटै जिविकोपार्जन गर्नेहरुका लागि कोभिडले ठूलो चुनौती निम्ताएको उनले बताए।

त्यस्तै अवस्था छ नेपाली फुटबलको अर्को चर्चित क्लब मनाङ मर्स्याङदीको। नेपाली फुटबल क्षेत्रमा सदाबहार दाबेदार र सफल टिम हो मनाङ।

'क्लब भनेको खेल्नकै लागि स्थापना गरिएको हो। पछिल्लो समय हाम्रो क्लब राम्रो लयमा गइरहेको थियो। बुढासुब्बा कप जित्यो। आहा रारा गोल्डकप जित्यो। राम्रो लय भइरहेको थियो,' मनाङका अध्यक्ष छिम्मी उर्गेनले भने, 'बीचमा कोभिड आयो। अब प्राकृतिक विपतलाई त कसैले रोक्न सक्दैन। गतिविधि नभएपछि क्लबलाई गाह्रो त हुने नै भयो।'

अहिलेको अवस्थाले खेलमा लागेर त्यसैबाट जिविकोपार्जन गर्ने खेलाडीहरुलाई कठीन बनाएको उनको भनाइ छ।

'विशेष गरी खेलमा लागेर खेलमै लागेर जीवन गुजारा गर्छु भन्नेका खेलाडीहरुलाई चाहिँ ठूलै मर्का परेको छ,' उनले भने, 'उहाँहरुलाई पाल्न क्लबलाई पनि धेरै गाह्रो भइरहेको छ।'

त्यसै पनि नेपालमा व्यवस्थित क्यालेन्डर नहुँदा समस्या हुने गरेको र त्यसमा पनि कोभिड १९ ले सबै बिग्रिएको गुनासो छ अध्यक्ष उर्गेनको। ब्यवस्थित क्यालेन्डर नहुँदा स्पोन्सरसँग डिल गर्न पनि कठिन हुँदै गएको उनले बताए।

'अब क्लबले भनेको गतिविधि शुरु भएपछि स्पोन्सरहरु खोज्ने हो। स्पोन्सर भनेको भीख माग्ने होइन। क्लबलाई स्पोन्सर गरेपछि उनीहरुले के पाउने भन्ने छन्। माइलेज त खोज्छन् नै,' उनले भने, 'अब कठिनाई बढ्छ नै।'

खेल गतिविधि नहुँदा स्पोन्सर टिकाउन कठिन हुने अध्यक्ष उर्गेनले बताए।

'अनि स्पोन्सरहरुलाई पनि हाम्रो वर्षमा यति खेल हुन्छ। यो यो खेल हुन्छ। हामी यसमा भन्ने भन्न सक्नु पर्‍यो,' उनले भने, 'त्यसको पर्खाइमा छौं। बिना गतिविधि त कसले पैसा दिन्छ र?'

मनाङ मर्स्याङदी क्लबको हकमा खेल गतिविधिबाहेक मनाङबाट मिल्ने केही सहयोग र स्पोन्सरनै मुख्य श्रोत भएको उनले बताए।

'हामी त हिमाल पारिबाट आएका पदाधिकारी छौं धेरै। पुर्ख्यौली केही छैन हामीसँग। डेली आय केही छैन,' उनले भने, 'हामीलाई माथिल्लो मनाङबाट चाहिँ सहयोग मिलिरहेको छ। अझै पाइरहेका छौं। तालिका नभइकन के भनेर माग्ने त? अहिलेको जमानामा एउटा सिस्टममा त जानु पर्‍यो नि।'

अर्को चर्चित क्लब थ्री स्टारको पनि अवस्था फरक छैन। थ्री स्टार क्लबका महासचिव तथा फुटबल कमेन्टेटर सन्जीव शिल्पकार अहिलेको अवस्थामा सबै क्लबहरुले आर्थिक संकट भोग्नुपर्ने अवस्था देख्छन्।

थ्री स्टार क्लबको अफिस २०७२ को भुइँचालोमा भत्किएसँगै अफिसबिहीन अवस्थामा रहेको उनले बताए। दिनप्रति दिन कोरोनाको महामारी बढ्दै जाँदा तत्काल केही असर नदेखिए पनि दीर्घकालीन रुपमा ठूलो असर हुने उनले बताए।

अहिलेको सन्दर्भमा क्रिकेट या अन्य खेलहरुको पनि अवस्था उस्तै रहेको उनले बताए।

'अहिले नै कति नोक्सान भयो भनेर डाटा निकालेको छैन। बैठक बस्न पनि सकिरहेको छैन,' उनले भने, ' कोरोनाको बढ्दो प्रकोपका कारण सबै निराश छन्। दैनिक जनजीवन प्रभावित छ। के हुने हो थाहा छैन। त्यसैले फुटबलमा चाहिने जति ध्यान पुगिरहेको छैन।'

तर केहीको विश्लेषण यस भन्दा फरक पनि छ। ए डिभिजन लिग सकिसकेको अवस्थामा मोफसलमा केही टिमले मात्र सहभागिता जनाउने भएकाले कोरोना महामारीले नेपालका अधिकांश फुटबल क्लबहरुलाई असर नगर्ने तर्क गर्ने पनि छन्।

नेपाली फुटबल विश्लेषक सन्जीव मिश्र बाहिरको फुटबलको अवस्थासँग नेपालको फुटबलको अवस्था तुलना गर्न नमिल्ने बताउँछन्।

'विश्वको क्लबहरुको अवस्था फरक छ। कोरोना भाइरसकै कारण हाम्रो क्लबहरुलाई आर्थिक संकट पर्ला जस्तो लाग्दैन,' मिश्रले भने, 'मोफसलमा टुर्नामेन्ट खेल्ने भनेको केही ठूला क्लबहरु मात्र हुन्। विभागीयको नाफा र घाटा भन्ने पनि हुँदैन। सरकारी कोषबाट आउने हो।'

मिश्रका अनुसार केही ठूला क्लबको अवस्थालाई छाडेर लामो कन्ट्र्याक्ट नहुने गरेकाले पनि ठूलो समस्या निम्तिहाल्ने अवस्था देखिँदैन।

त्यसमा पनि टुर्नामेन्ट हुँदा र नहुँदाको अवस्था फरक हुनजाने उनको भनाइ छ।

मिश्रको भनाइलाई आधार मान्ने हो भने ठूलो लगानी गरेका केही क्लबलाई छाडेर अन्यलाई आर्थिक संकट निम्तिहाल्ने अवस्था देखिँदैन।

पछिल्लो समय विश्वभर रोकिएका लिगहरु सुचारु गर्न योजना बन्न थालिसकेको छ। जर्मन बुन्डेसलिगा आजबाट शुरु हुँदैछ भने ला लिगा, प्रिमियर लिग, सिरि ए लगायतका लिगहरु शुरु हुने तयारीमा छन्। कतिपय लिगहरु बीचमै रद्द गरेर शीर्षस्थानको क्लबलाई उपाधि दिएका पनि छन्। फ्रेन्च लिग वानमा पिएसजी, छिमेकी भारतको आइलिगमा मोहन बगानलाई खेलहरु बाँकी रहँदै च्याम्पियन घोषित गरिएको थियो। तर, नेपालको अवस्था फरक छ। नेपालमा शहीद स्मारक ए डिभिजन लिग सम्पन्न भइसकेको छ भने मोफसलका खेलहरु भने केही बाँकी रहेका छन्। राष्ट्रिय लिग तथा बी डिभिजन, सी डिभिजन लगायतका प्रतियोगिता बाँकी नै छन्।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कोरोनाको महामारी सकिएसँगै जहाँ फुटबल रोकिएको छ त्यहीँबाट शुरु गर्ने बताउँदै आएका छन्।

'कोरोनापछि जहाँ कुनै पनि कार्यक्रम स्थगित भएको छ, त्यहीबाट कार्यक्रमहरुलाई अघि बढाउँछौं। विनाशले पनि विकास निम्ताउँछ भनेजस्तै महामारी आयो भनेर हामी चुप लागेर बस्दैनौं। बसेका छैनौं,' पहिलोपोस्टसँग कुरागर्दै अध्यक्ष शेर्पाले भनेका छन्, 'अब अझ हामीले नयाँ चुनौतीका साथ, नयाँ कार्यक्रमका साथ अघि बढ्छौं र नेपाली फुटबललाई यो भन्दा माथिल्लो स्तरमा पुर्‍याउने काम गर्छु।'

यता थ्री स्टार क्लबका महासचिव तथा फुटबल विश्लेषक सन्जीव शिल्पकार अहिलेको सन्दर्भमा नेपालका सबै क्लब कोरोना महामारीको चपेटामा पर्ने बताउँछन्। उनको सीधा सङ्केत छ स्पोन्सरमा।

'क्लबहरुलाई असाध्यै प्रभाव पारेको छ। कुन चाहिँ क्लबलाई असर नगरेको होला र? नपरेको भए त राम्रो कुरा भयो,' उनले ब्याङ्ग्यात्मक पारामा भने, 'अब प्रत्येक ब्यक्ति ब्यक्ति तथा घरघरलाई प्रभाव पारेको बेलामा फुटबललाई असर नहुने हो भने त्यो भन्दा राम्रो कुरा त के हुन्छ र?'

अहिलेको महामारीले नेपाली फुटबलमा तत्कालीन भन्दा दीर्घकालीन असर धेरै छाड्ने उनको विष्लेषण छ।

'विश्वभरको महामारीले आज नै अहिल्यै नै असर पर्नुपर्छ भन्ने छैन। यसले दीर्घकालीन असर पार्छ,' क्लबका समस्या खोतल्दै उनले भने, 'जो जतिले प्रायोजन या डोनेसन गरिरहेको हो यसअघि उनीहरुको आफ्नै व्यवसाय धरासायी भएको छ।'

यस्तो अवस्थामा प्रायोजन या डोनेसन घट्ने सङ्केत देखिएकाले क्लबहरु सञ्चालनमा ठूलो संकट निम्तिने उनको बुझाइ छ।

विभागीय क्लबहरुलाई छाडेर अरु क्लबहरुको आयश्रोत भनेको प्रयोजन, डोनेसन र खेल गतिविधि नै भएकाले सबैतिर आर्थिक संकट निम्तिँदा त्यसको प्रत्यक्ष मार क्लबहरुलाई पर्ने उनले बताए।

'डोनेसनका भरमा चल्ने, स्पोन्सरको भरमा चल्ने जति पनि क्लबहरु छन् अब ती चन्दा दिनेको प्राथमिकतामा पर्लान् त?,' उनले प्रश्न गरे, 'राहत दिन सकिएला , क्लबमा खेलाडीहरुलाई तलबको लागि, फूटबल गतिविधि अघि बढाउनका लागि स्पोन्सरले प्रायोजन रकम दिनसक्ने अवस्था छैन।'

यो अवस्था अब नयाँ सिजन सुरु हुनेबेलामा अझ भयावह हुन सक्ने बताउँछन् उनी।

'नयाँ सिजन सुरु हुने असार मसान्तपछिको अवस्थामा अहिले अधिकांश स्पोन्सरले यो अवधिको पैसा दिन सक्दैनौ भन्ने कुरा आइरहेको छ,' उनले भने, 'त्यसले फुटबललाई प्रत्यक्ष असर गर्छ।'

कसरी उठ्न सक्छ फुटबल?

एन्फाका पूर्व अध्यक्ष गणेश थापा क्लबहरुमा देखा पर्न थालेको आर्थिक संकटसँग जुध्न एन्फाले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउँछन्।

यद्यपि, नेपालका क्लबहरुमा खेल संघले सबै जिम्मेवारी लिनुपर्ने भन्ने खालको मानसिकता गलत भएको बताउँछन् उनी।

'एउटा कुरा चाहिँ के भने क्लब भनेको आफैँले सस्टेन गर्नुपर्ने कुरा हो। मेरो पालामा पनि क्लबहरु चाहिँ सकिँदैन यो हुँदैन भन्ने तरिकाको धारणा थियो,' उनले भने, 'त्यसबाट केही प्रगति भए। तर, त्यो अझै पनि पर्याप्त छैन। हिजोदेखि मैले के भनिरहेको थिएँ भने फुटबल संघको सहयोगबाट मात्र क्लब चलाउँछु भन्नेले क्लब चलाउन सकिँदैन।'

पछिल्लो समय एन्फाले पुरस्कार राशी घटाएको र सुविधाहरुमा थप नगरेका कारण पनि क्लबहरु छिट्टै आर्थिक संकटसँग जुध्नुपर्ने अवस्थामा आइपुगेको उनको बुझाइ छ।

'जसरी फिफाले सबै देशहरुलाई गरिरहेको छ। जुन पैसा फिफाले पठाएको छ त्यो पैसा झन्डै छ करोड रुपैयाँ जति हुन्छ,' थापाको तर्क छ, 'यो बेलामा त एन्फाले सहयोग गर्नुपर्छ नि। यो बेलामा क्लबलाई जिल्लालाई केही न केही स्पेसल फन्ड गर्नुपर्छ। आफ्नो निजी श्रोतले नि गर्नुपर्छ।'

क्लबहरुको आर्थिक संकटबाट बाहिर निकाल्न छलफल अघि बढाइहाल्नु पर्ने आवश्यकता देख्छन् थापा।

'अहिले सङकटमा नगरेर हुन्छ? त्यत्रो रकम छ। एन्फाको थुप्रो श्रोत छ। परिचालन गर्ने समय अहिले नै हो,' पूर्वअध्यक्ष थापाले भने, 'ठूलो क्लबहरुले पैसा दिन सकेको छैन भने सानो क्लबको अवस्था के होला?'

अर्कोतर्फ फुटबल कमेन्टेटर शिल्पकार एन्फा र क्लबहरु मिलेर अहिलेको संरचना नै परिवर्तन गर्नुपर्ने आवश्यकता देख्छन्।

'सबै क्लबहरु र एन्फा मिलेर स्ट्रक्चरलाई नै फेर्नुपर्ने हुन्छ। अब तत्कालै ठूल्ठूलो स्पोन्सर आउने अवस्था छैन,' महामारीले गर्दा क्लबहरुमा देखिएको चिन्तालाई सम्बोधन गर्दै शिल्पाकारले भने, 'अहिलेको सन्दर्भमा क्लबहरुलाई स्पोन्सर गरिरहेका बिजनेस हाउसहरुले निरन्तरता देलान् कि नदेलान् भन्ने ठूलो प्रश्न छ। सबैभन्दा ठूलो समस्या त्यो देख्छु म अहिले।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell