PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

भारतबाट १०२ जनाको उद्धार : पाँच गतेसम्म कञ्चन गाउँपालिका सिल, क्वारेन्टाइनको सुरक्षा म्यादी प्रहरीले हेर्ने



विधुर ढकाल

भारतबाट १०२ जनाको उद्धार : पाँच गतेसम्म कञ्चन गाउँपालिका सिल, क्वारेन्टाइनको सुरक्षा म्यादी प्रहरीले हेर्ने

काठमाडौं : रुपन्देहीको सीमावर्ती भारतीय शहर सुनौली र नौतुनहवा शहरबाट विभिन्न जिल्लाका १०४ जना जनालाई कञ्चन गाउँपालिकाले उद्धार गरेको छ।

भारतका विभिन्न शहरमा रोजगारीका लागि पुगेका उनीहरु भारतमा कोरोना भाइरसको महामारी फैलिएसँगै नेपाल प्रवेशका लागि सीमा क्षेत्रमा आइपुगकेका थिए।

रुपन्देहीको कञ्चन गाउँपालिकाले शुक्रवार राति १०२ जनालाई सीमा क्षेत्रबाट उद्धार गरी गाउँपालिकामा तयार गरिएका चार वटा क्वारेन्टाइनमा राखेको गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए।

यसरी उद्धार गरिएकाहरुलाई हरैया बहुमुखी क्याम्पस, लुम्बिनी ज्ञान निकेतन मावि, रुद्रपुर मावि र प्रगति माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ।

शुक्रवार साँझ उद्धार गरी ल्याइएका सहित हाल गाउँपालिकाभित्र एक सय २२ जनालाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष क्षेत्रीले बताए।

खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्नेहरु बढेसँगै जोखिम बढेपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनीहरुलाई उद्धार गरी ल्याएको हो। उनीहरुलाई शुक्रवार राति १० बजे उद्धार गरिएको हो।

यसरी उद्धार गरिएकाहरुमा गाउँपालिकाका स्थानीयसहित रुपन्देही, कपिलबस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, सुनसरीलगायतका जिल्लाका रहेको कञ्चन क्वारेन्टाइनका फोकल पर्सन वीरबहादुर बरमले जानकारी दिए।

हाल लुम्बिनी ज्ञान निकेतन माविमा ३६ जना, हरैया बहुमुखी क्याम्पसमा ३५ जना, रुद्रपुर माविमा ३४ जना र प्रगति माध्यमिक विद्यालयमा १७ गरी १ सय २२ जनालाई राखिएको छ।

गाउँपालिका सिल, पूर्व सुरक्षाकर्मी र म्यादी प्रहरी परिचालन गरिँदै

यसैबीच सीमावर्ती गाउँपालिका गैँडहवा गाउँपालिकामा कोरोना भाइरसका संक्रमित फेला परेपछि कञ्चन गाउँपालिका तीन दिनका लागि सिल गरिएको छ। शुक्रवार सम्पन्न गाउँपालिकाको विपत व्यवस्थापन समितिको बैठकले जेठ ३ गते शनिवार बिहान ६ बजेदेखि ५ गते राति १२ बजेसम्म गाउँपालिका सिल गर्ने निर्णय गरेको हो। बैठकले छिमेकी पालिकाहरुसँगको आउजाउ पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको अध्यक्ष क्षेत्रीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सुरक्षा समितिको बैठकले संक्रमित पालिका सिल गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा कञ्चनले पनि जोखिमको मुल्यांकन गर्दै गाउँपालिका सिल गर्ने निर्णय गरेको हो।

बैठकले औषधी पसल, भेटनरी पसल, एम्बुलेन्स, दुध र दुधजन्य पदार्थ, कञ्चनभित्रका तरकारी जन्यबस्तु, अत्यावस्यक पेट्रोलियम पदार्थको आवागमन बाहेक सम्पुर्ण गतिविधि तथा व्यवसायमा रोक लगाउने निर्णय गरेको हो।

गाउँपालिकाले लकडाउन र सिललाई कडा गर्नका लागि कञ्चन प्रवेश गर्ने सबै नाकामा भुतपपूर्व सैनिक प्रहरी तथा म्यादी प्रहरीहरुलाई परिचालन गर्ने निर्णय गरेको हो। पूर्व सुरक्षाकर्मी तथा म्यादी प्रहरीमा काम गरेकाहरुलाई वडाको सिफारिसमा छनोट गरी परिचालन गर्ने निर्णय भएको अध्यक्ष क्षेत्रीले जानकारी दिए। क्वारेन्टाईनको सुरक्षा व्यवस्थापनको लागि म्यादी प्रहरीको व्यवस्था गर्ने निर्णय भएको हो।

गाउँपालिकाभित्र तयार पारिएका क्वारेन्टाइनहरुको सुरक्षाका लागि दैनिक १६ जना म्यादी प्रहरी परिचालन गरिने र सोको व्यवस्था गाउँपालिकाले गर्ने अध्यक्ष क्षेत्रीले बताए।

स्थानीय तहमा रहेको सुरक्षा प्रशासनले अन्य क्षेत्रहरुमा समेत गस्ती र अनुगमन गर्नु पर्ने र क्वारेन्टाइनमा रहेका व्यक्तिहरु अनधिकृत रुपमा बाहिर निस्केर भाग्न सक्ने भएकोले संक्रमणकालिन स्थानिय सुरक्षा ऐन अन्तर्गत म्यादी प्रहरीको व्यवस्था गरी क्वारेन्टाइन सुरक्षाको लागि परिचालन गरिएको उनले जानकारी दिए।

हाल गाउँपालिकाभित्र रहेका चार वटा क्वारेन्टाइनमा ४४ जना म्यादी प्रहरी परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell