PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सीमा अतिक्रमण विरुद्ध फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा बुझाइयो विरोध पत्र



रासस

सीमा अतिक्रमण विरुद्ध फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा बुझाइयो विरोध पत्र
Photo: The Consulate General of India, Frankfurt, Germany

काठमाडौं : जर्मनीमा क्रियाशील नेपाली संघसंस्थाले भारतले नेपाली भूमि अतिक्रमण गरी सडक पूर्वाधार निर्माण गरेको विरोधमा फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए), प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका तर्फबाट शुक्रवार संयुक्त विरोध पत्र भारतीय दूतावासमा बुझाइएको हो। मञ्चका महासचिव शम्भुप्रसाद पोखरेलले सो विरोध पत्र दूतावासका प्रतिनिधिलाई बुझाएका हुन्।

यसअघि जर्मनीमा क्रियाशील प्रवासी नेपालीका संघसंस्थाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले प्रमाणित गरे पनि सो क्षेत्रमा भारतले अवैध रुपमा सडक पूर्वाधार बनाएको भन्दै भर्त्सना गरेका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अष्ट्रियाको भियानास्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको थियो। संघले सबै मुलुकमा रहेका समितिमार्फत सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको व्यहोरासहितको ज्ञापनपत्र बुझाउन निर्देशन दिएको थियो।

यसैबीच, संघले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको छ। लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर संकलन गर्न लागेका हुन्। हस्ताक्षर अभियान शुक्रवारदेखि शुरु भएको छ। विश्वभरबाट सङ्कलन गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौंस्थित भारतीय दूतावासमा बुझाइने संघले जनाएको छ।

यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ। संकलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने संकको सूचना सञ्चार तथा प्रशासन समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell