PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

लकडाउनमा खाना सकिएपछि गाउँ गएकी थिइन् सुत्केरी महिला, आरडीटी परीक्षणमा देखिएको थियो नेगेटिभ



फूलमाया पुरी

 लकडाउनमा खाना सकिएपछि गाउँ गएकी थिइन् सुत्केरी महिला, आरडीटी परीक्षणमा देखिएको थियो नेगेटिभ

काठमाडौं : काठमाडौंको गोगंबुमा बस्दै आएका थिए धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला र उनका श्रीमान। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेका स्थायी घर।

काठमाडौंमा श्रीमान सुरक्षा गार्डको काम गर्थे भने उनी तरकारी बेच्ने।

वैशाख २३ गते हिंडेरै त्रिवि शिक्षण अस्पताल पुगेकी उनले २४ गते सुत्केरी भइन्।

लकडाउनका कारण श्रीमानको काम छुटेको थियो। त्यससँगै उनको व्यापार पनि ठप्प।

कोठामा खानेकुरा सकिँदै थियो। गोजीमा पैसा। त्यसैले भोकै मरिने र सुत्केरी अवस्थाको उचित स्याहार गर्न नसक्ने अवस्था भएकाले आफ्नै गाउँ फर्किए उनीहरु।

अस्पतालमा सामान्य रुपमा बच्चा जन्मिएपछि सोही दिन एम्बुलेन्समा लागेका थिए गाउँतर्फ।

जिल्ला बाहिरबाट आएकाले जेठ १ गते बिहिवार उनको पनि आरडीटी परीक्षण गरिएको थियो। त्यसबेला उनको रिपोर्ट नेगेटीभ आएको थियो। कोरोना भाइरसको कुनै लक्षण पनि देखिएको थिएन उनमा।

तर, राति उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल लगिएको थियो।  त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भयो। जसलाई कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको शंका गरिएको छ। तर स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरिसकेको छैन।

२९ वर्षीय उनका श्रीमान र माइतीपट्टीकी आमालाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको छ।

‘अझै पनि कोरोना भाइरस संक्रमणको पुष्टी भएको छैन तर लापर्वाही गरेको भन्दै गाउँलेले अनेक किसिमका लान्छना लगाउन थालेका छन्’ परिवारकाले फोन सम्पर्कमा पीडा सुनाउँछन्।

‘यस्तो संक्रमणको बेला काठमाडौंमै नबसेर कोरोना भाइरस गाउँमा फैलाएको आक्षेपसम्म लाइरहेका छन्’ मानसिक तनाव भइरहेको छ उनीहरुलाई।

त्यसैले बाह्रविसे वडा नम्बर ९ मा ती महिलाको सम्पर्कमा आएका सबैको स्वाब संकलन गर्ने तयारी गरिएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्।

आइतवार बिहान ८ बजेदेखि जिल्ला अस्पतालको स्वास्थ्य टोलीले स्थानीयको स्वाब संकलन गर्न लागेको हो।

किनकी कोरोना संक्रमणको पुष्टि भएमा थप फैलिन नदिन र यदि होइन रहेछ भनेपनि सतर्कका लागि वडा  सिल गर्ने र परीक्षणको दायरा बढाउन लागिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell