PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

केरलाकी सेलिब्रेटी स्वास्थ्यमन्त्रीः जसले कोरोनालाई काबुमा राखिन्, के थियो त्यस्तो योजना?



पहिलोपोस्ट

केरलाकी सेलिब्रेटी स्वास्थ्यमन्त्रीः जसले कोरोनालाई काबुमा राखिन्, के थियो त्यस्तो योजना?
Photo: theguardian

२० जनवरीमा भारतको केरला राज्यकी स्वास्थ्यमन्त्री केके शैलजाले एक मेडिकल प्रतिनिधिलाई फोन लगाइन्। उनले चीनमा फैलिरहेको खतरनाक भाइरसको बारेमा अनलाइनमा पढेकी थिइन्।

‘के त्यो हामी कहाँसम्म आउन सक्छ?’ उनले सोधिन्।

‘पक्कै पनि,’ मेडिकल प्रतिनिधिले जवाफ दिए।

र, त्यसपछि शैलजाको तयारी सुरु भयो।

त्यसको चार महिनापछि अहिले केरलामा ५२४ संक्रमित छन्। ४ जनाको मृत्यु भएको छ। त्यसमा पनि कम्युनिटी ट्रान्समिसन (सामुदायस्तरमा प्रसारण) नरहेको शैलजाको दाबी छ। राज्यमा करिब ३ करोड ५० लाख जनसंख्या छ। दुई हजार ६ सय डलर बराबरको जीडीपी।

पछिल्लो समय ६३ वर्षीय स्वास्थ्यमन्त्री शैलजा प्रख्यात छिन्, उनलाई ‘कोरोना भाइरस स्लेयर’ तथा ‘रकस्टार स्वास्थ्यमन्त्री’ जस्ता नामले बोलाइन थालेको छ। विज्ञान शिक्षिका समेत रहिसकेकी शैलजालाई यस्ता नाम नसुहाउने भए पनि गरिब राष्ट्रले पनि कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम प्रभावकारी रूपमा गर्न सक्छन् भन्ने उदाहरणको भने प्रतिबिम्बित गर्छ नै।

कसरी प्राप्त गरिन त उनले त्यो सफलता? चीनमा फैलिरहेको नयाँ भाइरसबारे पढेको तीन दिनपछि शैलजाले र्‍यापिड रेस्पोन्स टिमको बैठक बोलाइन्। त्यति बेलासम्म केरलामा संक्रमण भित्रिसकेको थिएन। अर्को दिन २४ जनवरी मा कन्ट्रोल रुम (नियन्त्रण कक्ष) स्थापना गरिन् र राज्यका १४ जिल्लाका मेडिकल अफिसरहरूलाई पनि आफ्नो तहमा सोही गर्न निर्देशन दिइन्। २७ जनवरीमा चीनको वुहानबाट पहिलो संक्रमित आइपुग्दासम्म केरलामा विश्व स्वास्थ्य संगठनको ‘टेस्ट, ट्रेस, आइसोलेट एण्ड सपोर्ट’ नीति अपनाइसकिएको थियो।

यात्रु विमानबाट ओर्लिनासाथ उनीहरूको तापक्रम नापिएको थियो। उच्च ज्वरो देखिएका तीन जनालाई नजिकैको अस्पतालमा आइसोलेसनमा राखियो भने अन्य यात्रुलाई होम क्वारेन्टाइनमा बस्न भनियो। उनीहरूलाई साथमा कोभिड-१९ बारेको जानकारी भएको पम्प्लेट पनि पठाइएको थियो, जुन स्थानीय भाषा ‘मलायलम’मा छापिएको थियो। अस्पतालमा आइसोलेसनमा राखिएकाहरूमा कोभिड-१९ पोजेटिभ देखियो तर यति बेलासम्म रोग नियन्त्रणमा थियो।

‘पहिलो भाग चाहिँ जितियो’, शैलजा भन्छिन्, ‘तर, भाइरस चीनबाहिर पनि फैलिन थाल्यो र छिट्टै यो सबैतिर फैलियो।’

फेब्रुअरीको अन्त्यतिर इटालीको भेनिस शहरबाट फर्किएका एक मलायली परिवारले आफ्नो यात्राबारेमा शैलजाको निरीक्षण टिमलाई सही जानकारी दिएनन्। नयाँ नीतिको बेवास्ता गरी उनीहरू घर गए। पछि कोभिड-१९ का एक संक्रमितको ‘ट्रेसिङ’ गर्दा चिकित्सकको टोली सो परिवारसम्म पुग्यो। तर, त्यति बेलासम्म उनीहरूको सम्पर्क सयौँसँग भइसकेको थियो। ‘कन्ट्याक ट्रेस’ गर्ने अधिकारीहरूले विज्ञापन तथा सामाजिक सञ्जालको माध्यमबाट सबैको पहिचान गरे र उनीहरूलाई क्वारेन्टाइनमा राखियो। तीमध्ये ६ जनामा कोभिड-१९ देखियो।

भाइरसको अर्को क्लस्टर पनि नियन्त्रणमा आयो। तर, त्यति बेला नै रोजगारीको लागि खाडी गएका कामदार ठूलो संख्यामा धमाधम घर (केरला) फर्किँन थाले। उनीहरूमध्ये कतिपय संक्रमित पनि थिए। २३ मार्चमा राज्यका चार अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान रद्द गरियो। त्यसको दुई दिनपछि त पूरै देश नै लकडाउनमा गयो।

कोभिड-१९ को उच्च विन्दुमा पुग्दासम्म केरलामा १ लाख ७० हजार जनालाई स्वास्थ्यकर्मीहरुको कडा निगरानीबीच क्वारेन्टाइनमा राखिएको थियो। घरभित्र नै शौचालय तथा बाथरुम नहुनेहरूलाई प्रदेश सरकारकै खर्चमा राम्रो भवनमा सारियो। त्यो संख्या अहिले २१ हजारमा घटेको छ।

‘हामीले यहाँ लकडाउनका कारण अलपत्र परेका छिमेकी राज्य (प्रदेश) का करिब एक लाख ५० हजार जना कामदारलाई पनि आश्रय र खानाको व्यवस्था गरेका थियौँ’, उनले भनिन्, ‘हामीले उनीहरूलाई उचित खाना खुवायौँ, दिनमा तीन थाक।’

ती कामदारहरूलाई अहिले ट्रेनमार्फत घर पठाइएको छ।

खासमा शैलजा कोभिड-१९ को समयभन्दा पहिले नै सेलिब्रेटी बनिसकेकी थिइन्। २०१८ मा अझ खतरनाक रोग ‘निपाह’को सफलतापूर्वक नियन्त्रण तथा रोकथाम गर्न उनले खेलेको भूमिकाबाट प्रेरित भएर अघिल्लो वर्ष भारतमा ‘भाइरस’ नामक फिल्म रिलिज भएको थियो। फिल्म हेरेपछि आफ्नो भूमिका निभाएकी कलाकार फिल्ममा अली बढी नै डराएको देखिएको प्रतिक्रिया दिएकी थिइन्। जबकि वास्तविकतामा आफूमा कमै मात्र डर देखिने उनी दाबी गर्छिन्। भाइरसविरुद्धको सक्रिय प्रतिक्रियाको लागि मात्र नभई आउटब्रेक भएका गाउँमा गएर मानिसहरूलाई ढाडस दिएका कारण पनि उनको निकै प्रशंसा गरिएको थियो।

गाउँलेहरू भाइरस कसरी फैलिरहेको छ भनेर नबुझ्दा डराएका र गाउँ छोड्न तयार पनि थिए।

‘डाक्टरहरूको साथमा म तत्काल त्यहाँ पुगेँ, हामीले पञ्चायतको अफिसमा बैठक बोलायौँ र भाइरस प्रत्यक्ष सम्पर्कबाट मात्रै सर्ने भएकाले गाउँ छाड्नु पर्ने कुनै अवस्था नरहेको भनेर सम्झायौँ’, उनले भनिन्, ‘बिरामी मानिसबाट कम्तीमा एक मिटरको दूरीमा बसे भाइरस नफैलिने कुरा पनि बतायौँ। हामीले त्यति भनिरहँदा उनीहरू शान्त भए र गाउँमै बस्न राजी भए।’

‘निपाह’ले नै शैलजालाई कोभिड-१९ को लागि अझ बढी तयार बनायो, उपचार र खोपको विकास भइनसकेको उच्च संक्रामक रोगलाई निकै गम्भीरतापूर्वक लिनुपर्ने सिकायो। उनी आफ्नो तहमा कुनै पनि आउटब्रेकका लागि तयार थिइन्।

उनी सदस्य रहेको कम्युनिस्ट पार्टी अफ इन्डिया १९५७ देखि केरलाको सरकारमा मुख्य भूमिकामा छ। त्यो उनी जन्मिएको वर्ष पनि थियो। उनको जन्म एक अभियानकर्मी तथा स्वतन्त्रताका लागि लड्नेहरूको परिवारमा भएको थियो। उनकी हजुरआमाले छुवाछुतविरुद्ध अभियान चलाएकी थिइन्। उनले ‘केरला मोडल’को जगदेखि नै कार्यान्वयन भएको देखेकी थिइन्।

सो मोडलको जग भूमि सुधार थियो। जसलाई संविधानमार्फत् नै लागू गरिएको थियो। सो मोडलले प्रति परिवार कति जमिन लिन पाउने भन्ने निर्धारण गरेको थियो। त्यसले जग्गा भाडामा लिएर खेती गर्ने किसानका बीचमा स्वामित्व बढाएको थियो। यसले जनस्वास्थ्य प्रणाली र शिक्षालाई विकेन्द्रीकृत गर्न पनि सहयोग गरेको थियो। अहिले त्यहाँ हरेक गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र छन्। हरेक तहमा अस्पताल पनि बनेका छन्। १० वटा मेडिकल कलेज स्थापना भएका छन्।

अन्य राज्यहरूको हकमा पनि यो सत्य भएको सांसद तथा महाराष्ट्र राज्यको पुनेका जनस्वास्थ्यविद् एमपी करियाप्पा बताउँछन्। तर, भारतका अन्य स्थानमा भने मानिसहरूले प्राथमिक स्वास्थ्य प्रणालीमा त्यति चासो दिँदैनन्। केरलामा औसत आयु उच्च छ भने शिशु मृत्युदर भारतका अन्य राज्यभन्दा निकै कम छ। यो सबैभन्दा शिक्षित राज्य पनि हो।

‘शिक्षाको सहज पहुँचका कारण स्वास्थ्यको महत्त्वका बारेमा नागरिकहरूले बुझेका छन्,’ करियाप्पाले भने।

शैलजा भन्छिन्, ‘ती कृषि आन्दोलन तथा स्वतन्त्रताका लडाइँबारे मैले मेरी हजुरआमाबाट सुनेको हुँ। उहाँले यी कुरा निकै राम्रोसँग भन्नुहुन्थ्यो।’

लकडाउन जस्ता आपतकालीन नीति सङ्घीय सरकारको मातहतमा रहे पनि हरेक राज्यलाई आफ्नै स्वास्थ्य नीति अपनाउन छुट छ। यदि ‘केरला मोडल’ कार्यान्वयन नगरिएको भए केरला सरकार पनि कोभिड १९ को प्रतिकार्यमा सफल नहुने शैलजाको दाबी छ।

त्यसो भनिरहँदा राज्यका प्राथमिक स्वास्थ्य केन्द्र पुरानो हुन थालेका संकेत पनि देखिएको छ। २०१६ मा जब शैलजाको पार्टी सत्तामा आयो, तब आधुनिकीकरणको अभियान चलाइएको थियो। पान्डेमिकअघि गरिएको एउटा नवीन काम भनेको क्लिनिकहरूको स्थापना र भारतको ठूलो समस्या बनेको श्वासप्रश्वास सम्बन्धी रोग रजिस्टर गर्नु थियो।

‘त्यसको अर्थ हामी कोभिड-१९ को रूपान्तरणको निगरानी गर्न सक्छौँ र कम्युनिटी ट्रान्समिसन रोक्न सक्छौँ’, शैलजाले भनिन्, ‘यसले धेरै नै मद्दत मिलेको छ।’

आउटब्रेक सुरु भएपछि राज्यका सबै जिल्लाहरूलाई काभिड-१९ का लागि दुई वटा अस्पताल छुट्ट्याउन भनिएको थियो। त्यस्तै, हरेक मेडिकल कलेजमा ५०० बेडको व्यवस्था गर्ने भनिएको थियो। अस्पताल प्रवेश गर्ने र बाहिरिने बाटो छुट्याइएको थियो। विशेषगरि विकसित राष्ट्रमा संक्रमण बढेपछि ‘टेस्ट किट’को आपूर्ति न्यून थियो, त्यसकारण पनि भएका किट लक्षण देखिएका बिरामी र जोखिममा रहेका केही अन्यको लागि स्टक राखिएको थियो। जस्तै कि स्वास्थ्यकर्मी, प्रहरी तथा स्वयंसेवकहरू।

केरलामा परीक्षणको नतिजा ४८ घण्टाभित्र आउने गरेको शैलजा बताउँछिन्।

‘खाडी मुलुक तथा अमेरिका र बेलायतमा प्रविधिको सर्वशुलभताका बावजुद पनि परीक्षणको नतिजा आउन हप्ता दिन लाग्ने गरेको छ’, उनले भनिन्, ‘त्यहाँ के चाहिँ भइरहेको छ?’

उनी आलोचना गर्न त चाहन्नन् तर ती देशहरूमा मृत्यु हुनेको संख्या उच्च रहेको देख्दा उनलाई अचम्म लागेको छ।

उनले भनिन्, ‘मेरो विचारमा परीक्षण निकै महत्त्वपूर्ण छ, अनि क्वारेन्टाइनमा राख्ने र अस्पतालमा निगरानी बढाउने कार्य पनि। तर, ती देशहरूका मानिसहरूले यो कुरा बुझिरहेका छैनन्।’

उनलाई यो कुरा थाहा छ किनकि त्यहाँ बस्ने मलायलीहरुले उनलाई फोनबाट त्यसो भन्ने गरेका छन्।

लकडाउनको नियम अनुसार मठमन्दिर बन्द गरिएको छ। जसकारण भारतका केही राज्यमा विरोध प्रदर्शन पनि भएका छन्। तर, केरलामा त्यस्तो कुनै अवरोध नागरिकबाट हुने गरेको छैन। मुख्यमन्त्री पिनारायी विजयनले स्थानीय तहमा धर्मगुरुहरूसँग परामर्श लिएकाले पनि त्यो सहज भएको हो। तर, केरलाको उच्च शैक्षिक तह पनि अर्को पाटो रहेको शैलजा बताउँछिन्।

उनी भन्छिन्, ‘नागरिकले किन घरभित्रै बस्नु महत्त्वपूर्ण छ भनेर बुझेका छन्। उनीहरूलाई बुझाउन पनि सजिलो छ।’

भारत सरकारले आइतबारदेखि लकडाउन खुकुलो पार्ने योजना बनाएको छ। त्यसपछि देशका अन्य भागमा रहेका मलायली ठूलो संख्यामा केरला फर्किँने शैलजाको अनुमान छ, जो खाडीबाट भारत आएका थिए।

‘यो ठूलो चुनौती हुनेछ, तर हामी त्यसको लागि तयार छौँ,’ उनले भनिन्।

उनीसँग ‘ए’, ‘बी’ र ‘सी’ योजना छन्, जसमा ‘सी’ अत्यन्तै खराब अवस्था हो। त्यसको लागि होटेल, होस्टेल तथा कन्फ्रेन्स रुममा १ लाख ६५ हजार बेडको व्यवस्था गरिएको छ। यदि ५ हजारभन्दा बढी भेन्टिलेटरको आवश्यकता परे गाह्रो हुनेछ, तर त्यसको पनि जोहो गर्न लागिएको छ। उनको लागि अझ ठूलो चुनौती भनेको जनशक्तिको हुनेछ, विशेषगरि कन्ट्याक्ट ट्रेसिङको लागि।

‘हामीले विद्यालयका शिक्षकहरूलाई पनि त्यसको प्रशिक्षण दिइरहेका छौँ,’ शैलजाले भनिन्।

सम्भावित दोस्रो संक्रमणको वेभ सकिएपछि ती शिक्षक विद्यालय फर्किनेछन्। उनी पनि त्यसै गर्ने आशामा छिन्, किनकि अबको एक वर्षमा हुने राज्य (प्रदेश) निर्वाचनपछि उनको कार्यकाल सकिनेछ। कोभिड १९ को जोखिम छिट्टै अन्त्य हुन्छ भन्ने उनलाई लाग्दैन।

सफलताको राजबारे उनी आकर्षक हाँसो हाँस्छिन् मात्रै। किनकि त्यहाँ कुनै राज छैन, शिवाय ‘उचित योजना’।

दि गार्जियनबाट 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell