PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि, नेपालमा कोरोनाबाट पहिलो मृत्यु



पहिलोपोस्ट

सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि, नेपालमा कोरोनाबाट पहिलो मृत्यु

काठमाडौं : नेपालमा पहिलो पटक कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नम्बर ९ की २९ वर्षीया महिलाको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयले बिहीवार मृत्यु भएकी महिलामा कोरोना देखिएको पुष्टि गरेको छ।

स्वास प्रस्वासमा समस्या देखिएपछि बाह्रविसेबाट धुलिखेल अस्पतलमा उपचारका लागि उनलाई ल्याइएको थियो। अस्पताल पुगेको ५५ मिनेटमा उनको मृत्यु भएको हो। बैशाख २४ गते शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी थिइन् उनी।

सुत्केरी भएपछि उनलाई बाह्रविसे नै लगिएको थियो। त्यहाँ उनको स्वास्थ्य अवस्था प्रतिकूल हुँदै गएपछि गएको बिहीवार धुलिखेल अस्पताल ल्याइएको थियो। त्यही उनको मृत्यु भएको हो। 'उहाँको अस्पताल ल्याएको ५५ मिनेटमै निधन भएको हो,' धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले भने।

'मरिसकेको भएकाले आरडीटी होइन, पीसीआर परीक्षण नै गरिएको थियो,' काभ्रेपलाञ्चोक जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र झाले भने।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले बाह्रविसे नगरपालिकाका प्रमुखलाई स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष प्रसारण हेर्न र आवश्यक कदम अगाडि बढाउन भनेको छ।

'उहाँहरुको आफन्त र परिवारका सदस्यलाई हामीले सम्पर्क गरिरहेका छौं,' बाह्रविसे नगरपालिकाका मेयर निम्फुन्जो शेर्पाले पहिलोपोस्टसँग भने, 'उहाँको बच्चा र श्रीमानलाई क्वारेन्टाइनमा राखिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell