PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु : यसरी हुन्छ शव व्यवस्थापन



विधुर ढकाल

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु : यसरी हुन्छ शव व्यवस्थापन
प्रतीकात्मक फोटो

काठमाडौं :  नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा ९ की एक महिलाको स्वासप्रस्वास समस्या देखिएर धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अस्पतालले महिलाको स्वाव परीक्षण गर्दा उनमा कोभिड १९ पोजेटिभ देखिएको हो।

कोरोना संक्रमितको मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्ने छुट्टै तरिका हुन्छ। स्वास्थ्य मन्त्रालयले संक्रमितको मृत्यु हुँदा अपनाउनुपर्ने कार्यविधि नै तय गरेको छ।

कार्यविधि अनुसार मृतकको शवलाई परिवारले छुन भने पाउने छैनन्। परिवारले शव हेर्न चाहेमा शव नछोइ एक मिटर टाढाबाट पालैपालो हेर्न पाउने छन्। यस्तै, शव सदगत गर्नुपूर्व आफ्नो कुल परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाट गर्ने तथा फूलमाला भने चढाउन सक्ने छन्।

संक्रमणबाट मृत्यु भएको खण्डमा शवलाई जथाभावी सदगत गर्न नहुने कार्यविधिमा उल्लेख छ।  शवलाई मृतकको कुलधर्म अनुसार सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्नेछ। कोरोनाबाट कसैको मृत्यु भएमा शव लिन जानु पूर्व शववाहनका चालक तथा कर्मचारीले पीपीईको लगाउनुपर्ने प्रावधान रहेको छ। संक्रमितको मृत्यु अस्पतालमा भएको खण्डमा शवलाई अन्तिम संस्कारमा लैजानका बेला अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्ति र सदगतमा सहभागि हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई प्रयोग लगाउनुपर्नेछ।

यस्तो छ कार्यविधिमा व्यवस्था

१. शव लिन जानु पूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नु पर्दछ।

२. मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नु पर्दछ।

३. कोभिड-१९ को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्नु हुदैन्।

४. शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागि हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई प्रयोग गर्नु पर्दछ।

५. शवलाई कम भन्दा कम चलाउनु पर्दछ।

६. शवमा लागेका पाईप, केथेटर लगायतका सामाग्रीहरु हटाई दिनुपर्दछ।

७. शवको कुनै भागबाट श्राव भईरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ।

८. शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ।

९. शवलाई डिसइन्फेक्ट गर्नु आवश्यक छैन।

१०. शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्दछ।

११. शवको शरिरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्ने छैन।

१२. ६० वर्ष माथिका व्यक्तिहरु र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्दछ।

१३. सदगत गर्नु पूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोईकन जल छर्कने, पाठ गर्ने तथा फुलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ।

१४. मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोईकन कम्तिमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ।

१५. कोभिड-१९ ले मृत्यु भएको ब्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु पर्दैन। यदि गर्नु परेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पर्दछ।

१६. यथेष्ट भेन्टिलेसनको ब्यवस्था भएको कोठामा मात्र न्युन स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ।

१७. कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नु पर्दछ।

१८. पोष्टमार्टम सकिने वित्तिकै प्रयोग गरेको सामाग्रीहरु डिसइन्फेक्ट गर्नुपर्छ।

१९. क्लिनिकल वेस्ट (प्रयोग भएका स्वास्थ्य सामाग्रीहरुको फोहोर) हरुको सावधानीपूर्वक डिस्पोज गर्नुपर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell