
काठमाडौं : दुई दिनअघि मृत्यु भएकी सुत्केरी महिलाको तीन जिल्लासँग कनेक्सन देखिएको छ। कोरोनाका कारण मृत्यु भएकी महिलाको घर रहेको जिल्ला सिन्धुपाल्चोक, उनले मृत्यु हुनुभन्दा ९ दिन अघि सुत्केरी भएको काठमाडौंको त्रिवि शिक्षण अस्पताल र उनको मृत्यु भएको काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पताल।
मृत्यु भएको दुई दिनपछि आज सार्वजनिक गरिएको उनको स्वाबको परीक्षणले कोरोना संक्रमण पुष्टि गर्यो। उनमा कोरोना पुष्टि भएलगत्तै उनीसँग जोडिएका तीन जिल्ला ट्रेसिङमा समेटिने भएका छन्।
मृत्यु भएकी २९ वर्षीय महिलाका श्रीमान् र नवजात शिशु धुलिखेल अस्पतालमा नै रहेका छन्। उनको काठमाडौंको बालाजुमा डेरा पनि रहेको छ। बालालुको डेरमा पनि सुत्केरी भएपछि पुर्याइएको बताइएकाे छ। तर उक्त विवरण स्वास्थ्य मन्त्रालयले भने समेटेको छैन। बालाजु पुगेको अवस्थामा भने त्यहाँ पनि थप ट्रेसिङको आवश्यकता पर्नेछ। त्यसपछि उनलाई सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर ९ मा रहेको घरमा पुर्याइएको थियो। त्यहीँ उनको अवस्था बिग्रियो।
त्यसपछि उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि लगियो। त्यहाँ कोरोनाका स्वास्थ्यकर्मीले उनलाई कति सावधानी अपनाएर उपचार गरे त्यसका आधारमा ट्रेसिङको आवश्यकता देखिएको छ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बालिकामा पनि कोरोनाको संक्रमण देखिएको थियो। उनले त्यही अस्पतालमा बच्चालाई जन्म दिएकी हुन्।
धुलिखेल अस्पतालले विरामी भर्ना लिनुअघि नै कोरोना संक्रमण भए नभएको बुझ्नका लागि परीक्षण गर्ने गरेको जनाएको छ। त्यस आधारमा धुलिखेल तीन जिल्लामध्ये संक्रमणको जोखिमका आधारमा कम रहेको आँकलन गर्न सकिन्छ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ९ मा रहेको उनको घरमा उनलाई कतिले भेट्न आए भन्ने पनि ट्रेसिङको महत्वपूर्ण विषय बनेको छ।