PahiloPost

May 26, 2020 | १३ जेठ २०७७

मरेपछि सुत्केरीमा कोरोना भएको थाहा हुने देशको प्रतिविम्व



ऋषिकेश दाहाल

मरेपछि सुत्केरीमा कोरोना भएको थाहा हुने देशको प्रतिविम्व

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा एउटा संवेदनशील भनाइ पेश गरिन्। ‘अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं।’ लकडाउन यताकै भव्य समारोहमा राष्ट्रपतिले कोभिड १९ को संक्रमण प्रारम्भ भएलगत्तै सरकारले अवलम्बन गरेको नीतिको प्रशंसा गरेकी थिइन्।

प्रथम महिला राष्ट्रपतिले जतिखेर सरकारको तारिफमाथि तारिफ गरिरहेकी थिइन्, ठीक त्यतिखेर धुलिखेल अस्पतालमा एउटा अर्की महिलाको शवमाथि प्रश्नवाचक चिन्ह उठिरहेको थियो – यसमा कोरना संक्रमण छ कि छैन? धुलिखेलका चिकित्सकहरुले श्वासप्रश्वासमा समस्या देखिएर त्यहाँ पुर्‍याइएकी सुत्केरी महिला कोभिड १९ बाट संक्रमित भएको आँकलन गरिसकेका थिए। उनीहरुले गरेको महिलाको परीक्षणले कोरोना भाइरस संक्रमण देखाएको पनि थियो। तर, पुन: परीक्षण नगरी मृत्युको कारण तोक्नु जायज थिएन। चिकित्सकहरु दोस्रो स्याम्पलको परीक्षण परिणाम कुरिरहेका थिए जतिखेर राष्ट्रपति कोरोनाविरुद्ध सरकारको जयजयकार गरिरहेकी थिइन्। आत्मप्रशंसाको परिणाम शनिवार राति सबैसामु प्रष्ट भयो। कोरोना संक्रमणबाट नै महिलाको निधन भएको जानकारी पाउँदा राष्ट्रपतिले वाचन गरेका शब्दहरु उनलाई झल्झल्ती भयो कि भएन होला?

तातो पानी खान र बोसीय तत्व शरीरबाट पगाल्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अर्ती पनि सुनिएकै हो। तातो खानु, आइसक्रिम नखानु भन्ने सुझाव डाक्टरी शैलीमा उनले दिँदै आएका छन्। उनको ज्ञानको दायरा हेर्ने हो भने नजानेको र नदेखेको ‘जिनिस’ केही छैन होला। केही दिनअघि चक्रपथ अनलाइनलाई प्रधानमन्त्रीले डाक्टरी शैलीमा अर्को प्रवचन दिएका थिए – नेपालीको इम्युनिटी पावर धेरै छ। भान्छा भान्छामा जडिबुटी छ, कोरोनाले कोही मर्दैन। “अहिलेसम्म नेपालमा सबै नागरिक जोगिएका छन्। बाँचेरै फर्किन्छन् फेरि। किनभने यहाँ नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता तगडा छ,” प्रधानमन्त्रीले भनेका छन्। बिहीवार सुत्केरी महिलाको मृत्यु हुनुको कारण कोरोना रहेको खबर पाएपछि प्रधानमन्त्री ओलीलाई आफूले बोलेका यी शब्दहरुप्रति पश्चाताप लाग्छ कि लाग्दैन होला?

त्यसो त प्रधानमन्त्री ओलीसँग यस्ता प्रश्न सोध्नु ‘अराष्ट्रिय’ हुनु हो। उनले सजिलै भन्दिनेछन् – ‘कहिले मान्छे मर्लान् र लेखौंला भनेर बसेकाहरु’। पहिले पनि नेपालमा कोरोनाका संक्रमित कुर्नेहरु छन् भनेर ठाडै बताइसकेका छन् उनले। किनकि उनलाई तारिफ गर्ने भजन मण्डलीमात्र प्यारो छ। बाँकी मिडिया त सत्रु नै भइहाले। जनताको विषय उठाउँदा सरकारको खेदो खनेकोमात्र देख्ने उन्को चस्मा यतिसम्म ‘दुषित्’ भइसके कि अब त्यसबाट अरु अपेक्षा के नै गर्न सकिन्छ र?

२९ वर्षकी एक आमाको मृत्यु भएको छ, बिहीवार। उनको मृत्युसँगै यावत प्रश्नहरु जेलिएका छन्। उनीसम्म संक्रमण कहाँबाट पुग्यो, कतिपय पहिचानका बाटाहरु नै समाप्त भएका छन्। प्राण जाउन्जेल कोरोनाको नाता नै थिएन, उनमा। विचरी उनी, आफूमा कोरोना भएको थाहा नपाउँदै बितिन्। ‘कोरोना फ्री’ मुलुकको रटान लगाइरहँदा हामीलाई १ सय जना संक्रमितबाट २ सय पार हुन कति दिन लाग्यो? एक साता पनि कुर्न परेन। मृत्युको पहिलो घटनाले त्यही संकेत त गरिरहेको छैन? भुसको आगोका रुपमा कोरोना संक्रमण फैलिरहेको त छैन? नेपालमा भयंकर वितण्डा हुँदैछ है भन्दै एकजना चिकित्सकले सचेत गराउने गरी चिच्याउँदा उनलाई जेलमा हाल्नेसम्मको तयारी गरियो। जेल हाल्नुपर्छ भन्नेहरुको जमात नै खडा पारियो।

त्यसैले यहाँ हरेक शब्दमा प्रश्नहरु छन्। जवाफ छैन। जवाफ दिने कसले? लकडाउनले मानिसहरु बिजोगसँग घरतिर लागे। तिनको सहज व्यवस्थापन कसले गर्ने जवाफ मिलेन। सीमापारि अलपत्र परेका मानिसहरु त्यसै रहे, तिनलाई ल्याउने विषयमा जवाफ मिलेन। अनि चोरबाटोबाट तिनीहरु जबरजस्त छिरे। कोरोना संक्रमणको बिस्तार त्यही अव्यवस्थित सरकारी दृष्टिकोणले गरायो। एकातिर लकडाउन र अर्कातिर आफ्ना मानिस ओसारपसारमा सक्रिय मन्त्रीदेखि सांसदसम्म कसैले पनि न कोरोनाको फैलावट यसरी हुन्छ भन्ने अनुमान गरेनन्। उनीहरुको ध्येय, काठमाडौं सुरक्षित पार्न सके देश सुरक्षित हुन्छ भन्नेमै रह्यो। अभावकै बीच कोरोनाको परीक्षण गराएर आफ्ना नेता र कार्यकर्ता सुरक्षित पार्न पाए देश सुरक्षित हुने भन्नेमै रह्यो।

प्रश्नै प्रश्नको यो जालोमा सरकारको ध्यान कताकता पुग्यो सबैलाई थाहै छ। घिनलाग्दो राजनीतिमा गिजोलियो कोरोनाको कहर। सरकारको प्राथमिकता कोरोनाबाट एकाएक स्थायी कमिटी बैठक कसरी टार्ने भन्नेमा साँघुरियो। सत्ताको स्वादमा रुमलिँदा भर्सेलामा परुन् सबै, त्यहीमात्र भयो। किनकि यहाँ जे छ सत्ता छ, त्यसबाहेक शून्य।

आँखा चिम्लेर जब संसार अँध्यारो छ भन्नेहरुको नेतृत्वमा सत्ता रहन्छ त्यहाँ त्यहाँ त्यस्तो ‘रामराज्य’मात्र बाँकी रहन्छ जहाँ सीताले जलिरहनुपर्छ, जमिनमा भासिइरहनु पर्छ। हाम्रो त्यही रामराज्य आज एउटा सुत्केरीको मलामी बनिरहेको छ। हिजो हामी कोरोना फ्रि मुलुक थियौं, रामराज्य थियो। आज कोरोनाका कारण एकमात्र मृत्यु भएको मुलुकमा छौं, रामराज्य छ। तथ्याङ्कहरु जोडेर, कमजोर अवस्था भएकासँग तुलना गरेर सरकारले भोलि पनि रामराज्यमै रहेको ठहर्‍याउने छ। र, हामी हाम्रा हातहरु जोडतोडले जुधाइरहेका हुनेछौं किनकि सत्तालाई ताली मन पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell