PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साढे सात महिनामै सुत्केरी भएकी थिइन् कोरोनाले ज्यान गुमाएकी महिला, टिचिङमा प्रोटोकलले छेक्यो कोरोना परीक्षण



प्रकाश भण्डारी

साढे सात महिनामै सुत्केरी भएकी थिइन् कोरोनाले ज्यान गुमाएकी महिला, टिचिङमा प्रोटोकलले छेक्यो कोरोना परीक्षण

काठमाडौं : कोरोना संक्रमण भएर ज्यान गुमाएकी सुत्केरी महिलाको त्रिवि शिक्षण अस्पतालमा साढे सात महिनामा नै छोरोलाई जन्म दिइन्।

सरकारले तयार गरेको प्रोटोकल अनुसार कोरोना परीक्षणको दायरामा उनी परिनन्। त्यसैले उनको कोरोना भाइरसको परीक्षण हुन सकेन्। त्रिवि शिक्षण अस्पतालमा गर्भवती महिलाको कोरोना भाइरसको परीक्षण नहुनुले एउटा प्रश्न उब्जाएको छ।

कोरोना भाइरसको जोखिम सबै उमेर समूह र लिंग र वर्गका मानिसहरुमा लाग्छ। त्यसैले पनि विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाउन भनेको छ। तर, नेपालमा सरकारले तयार पारेको कोरोना परीक्षणसम्बन्धी प्रोटोकलले लक्षण देखिएका, संक्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्कमा आएका, संक्रमित देशहरुको भ्रमण गरेको ट्राभल हिस्ट्री भएकाहरुको परीक्षण गर्ने उल्लेख छ।

मृतक महिला प्रोटोकलले निर्धारण गरेको कुनै पनि मापदण्डमा परिनन् र परीक्षण हुन सकेन।

उनी २४ गते नर्मल डेलीभरी भएपछि अस्पतालले २५ गते अस्पतालले डिस्चार्ज गरेको थियो। अस्पताल स्रोतका अनुसार उनले साढे सात महिनामा नै बच्चालाई जन्म दिएकी थिइन्।

द न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनका अनुसार गर्भवती एवं आम मानिसलाई कोरोना संक्रमणको सम्भावना अरु मानिस सरह जस्तै हुन्छ। तर, कोरोना संक्रमित महिलालाई कोरोना भाइरस संक्रमण भएको खण्डमा समय अगावै बच्चा जन्माउन सक्छन्।

हालसम्म सयौं संख्यामा कोरोना प्रभावित प्रसुतिको 'केस' दर्ता भएका छन्। डाक्टर तथा नर्सहरु भने कोरोना संक्रमण गर्भवतीका लागि 'सार्स' जस्तो घातक नभएको बताउँछन्। सार्सले संक्रमितमध्ये एक चौथाइ गर्भवतीको ज्यान लिएको थियो।

उक्त अध्ययनको प्रतिवेदनमा जनाए अनुसार गर्भवती महिला संक्रमित भए पनि कुनै लक्षण नदेखिन सक्छ।

मृतक महिलामा संक्रमणको कुनै लक्षण नदेखिएपछि अस्पतालमा उनको कोरोना परीक्षण नगरिएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले बताए।

समय अगावै बच्चा जन्मिए पनि उनको अप्रेसन गर्नु परेको थिएन।

'प्रि मेच्युर्ड डेलिभरी भएकाले मात्र उहाँलाई अस्पताल ल्याउन परेको हो। नर्मल डेलिभरी भएको थियो,'खडगाले भने।

उनको स्वास्थ्य अवस्था सामान्य भएकाले अस्पतालले डिस्चार्ज गरेको खड्गाले बताए।

खड्काले परीक्षणको प्रोटोकलमै समस्या देखिएको र यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए।

अस्पतालले २५ गते डिस्चार्ज गर्दा उनको स्वास्थ्य सामान्य थियो। तर जेठ १ गते उनको स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई अस्पताल ल्याउदै गर्दा ज्यान गएको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनलाई सुत्केरी गराउँदा किन गरिएन कोरोना परीक्षण? जवाफमा कार्यकारी निर्देशक खड्गा आवश्यक नभएकाले नगरेको बताउँछन्।

'सरकारी प्रोटोकल अनुसार उहाँलाई परीक्षण गर्नुपर्ने देखिएन। नदेखिएपछि किन गर्नु परीक्षण। अस्पताल आउनै सबै बिरामीको परीक्षण गर्नुपर्ने पोर्टोकल छैन,' उनले भने, ‘सरकारी प्रोटोकलअनुसार कोरोना सम्भावित बिरामिको मात्र परीक्षण गर्नुपर्छ। सरकारी नियमका कारण अस्पताल आउने धेरैजसो बिरामीको कोरोना परीक्षण हुदैन। शिक्षण अस्पतालमै उनको कोरोना जाँच भएको भए ज्यान जाने थिएन कि।'

नेपालमा पहिलो सक्रमितको ज्यान गएको घटनाले पनि सरकारी नीति परिवर्तन गर्नुपर्ने देखिएको उनको भनाइ छ।

महिलामा कोरोना भाइरसको संक्रमण कहिले प्रवेश गर्‍यो भन्ने खुलेको छैन। यद्यपी उनी अस्पतालमा नै पुग्दा संक्रमण परीक्षण भएको भए अहिलेको जोखिम आउने थिएन।

‘महिलालाई सुत्केरी हुनु अगावै कोरोनाको संक्रमण भएको भए परीक्षणले पत्ता लाग्थ्यो। उनको उपचार सम्भव हुन्थ्यो,’ एक चिकित्सकले भने, ‘संक्रमण परीक्षण नभए पछि लक्षण नभएकै आधारमा डिस्चार्ज गरियो। गाउँमा पुगेकी उनलाई लाइफ सपोर्ट पुगेन्। ल्याउँदा ल्याउँदै ज्यान गुम्यो।’

संक्रमण पहिल्यै भएको प्रमाणित भएको भए उनको उपचार अस्पतालमै हुने थियो। लाइफ सपोर्ट दिएर जोगाउने सम्भावनालाई परीक्षणको दायरा कम हुँदा जीवित राख्न नसकिएको उनको तर्क छ। कोरोना भाइरस संक्रमित गर्भवती महिलामा प्रि म्याच्योर बर्थ हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्दा उनको मृत्यु भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell