
काठमाडौँः टोखा नगरपालिका ९ को केही भाग सिल गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोकी २९ वर्षीय महिला अस्पतालबाट डिस्चार्ज भई टोखा पुगेको खुलेको छ। यसकारण महिला बसेको स्थानमा संक्रमण फैलिएको हुनसक्ने आधारमा सतर्कता अपनाउँदै सिल गरिएको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले महिला वैशाख २३ गते काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएको र २४ गते उनको डेलिभरी भएको जनाएको थियो। २५ गते उनलाई डिस्चार्ज गरिएको र त्यहीँबाट उनी सिन्धुपाल्चोक गएको बताइएको थियो।
तर, हाल भने मृतक महिला सुत्केरी भएपछि सिन्धुपाल्चोक नभइ काठमाडौंकै टोखा वडा ९ मा रहेको आफन्तको घरमा बसेको खुल्न आएको छ। यससँगै टोखा नगरपालिकाको वडा ९ को निश्चित भाग सिल गरिएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानएका छन्।
'सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पहिलो घटना यहाँहरुलाई अवगत नै छ। सो कोरोना संक्रमणबाट मृत्यु भएको महिला टिचिंङ अस्पतालमा डेलिभरी गराई यस नगरपालिकाको वडा नं. ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बस्नु भएको भन्ने जानकारी आएकोले सो वरपरका क्षेत्र सिल गरिएको जानकारी गराउँदै 'आफू पनि बचौं र अरुलाई पनि बचाउँ' भन्ने अवधारणालाई आत्मसात गर्दै लकडाउनको पूर्ण पालना गर्न नगरवासीमा हार्दिक अनुरोध गर्दछौं।' अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्।