PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

कोरोनाको उपचारमा लागेका स्वास्थ्यकर्मीलाई नियमित १४ दिन काम, १४ दिन क्वारेन्टाइन



विधुर ढकाल

कोरोनाको उपचारमा लागेका स्वास्थ्यकर्मीलाई नियमित १४ दिन काम, १४ दिन क्वारेन्टाइन

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका छन्।

अस्पतालमा अन्य रोगको उपचारका लागि आएका विरामीहरुमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु थप जोखिममा परेका छन्।

यसैलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन तयार गरेको छ।

'कोभिड -१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६' ले निर्देशित गरेअनुसार मन्त्रालयले कोभिङ-१९ का बिरामीहरूको निदान र उपचारमा प्रत्यक्षरूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको व्यवस्थापनका लागि मार्ग निर्देशन जारी गरेको हो।

शुक्रवार मन्त्रालयले जारी गरेको मार्ग निर्देशन उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा संक्रमणको संभावना वा जोखिम, शारीरिक तथा मनोसामाजिक असर हुने सम्भावना बढी भएकाले त्यसलाई न्युनिकरणका लागि आवश्यक कदम चाल्ने उल्लेख छ।

मार्ग निर्देशनबमोजिम कोभिड अस्पतालमा कोभिङ-१९ को बिरामीको निदान तथा उपचारमा प्रत्यक्षरुपमा संलग्न भएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरू सो अवधीमा अन्य रोगका बिरामीहरूको उपचारमा संलग्न हुन नहुने जनाएको छ।

त्यस्तै, मार्गनिर्देशनमा अस्पताललाई कर्मचारीहरूको उचित व्यवस्था गर्न भनिएको छ। त्यस्तै, अस्पतालमा उपचारमा संलग्न चिकित्सकहरु, स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरूलाई आवश्यकता अनुसार लगातार १४ दिनसम्म दिनको बढीमा १० घण्टासम्म मात्र कार्य गर्ने व्यवस्था मिलाउने उल्लेख छ। त्यस्तै उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरू कोभिड-१९ का बिरामीहरू बाहेकका अन्य सेवाग्राही, घरपरिवार र समाजमा प्रत्यक्ष सम्पर्कमा आउनुभन्दा पूर्व १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था समेत गरिएको छ। यसको व्यवस्थाका लागि सम्बन्धित अस्पतालले व्यवस्थापन गर्नुपर्ने छ।

यसरी व्यवस्थापन गरिएका क्वारेन्टाइनका लागि छुट्टै कोठा, स्नानघर तथा शौचालय र प्रयोग गर्ने सामग्रीहरू भएको आवासको व्यवस्था गर्नुपर्ने छ।

यसरी व्यवस्थापन गरिने क्वारेन्टाइनहरु सम्भव भएसम्म अस्पतालभित्रका क्वाटरको प्रयोग गर्नुपर्ने उल्लेख छ। त्यस्तै अस्पतालले पहिचान गरेको कुनै भवनमा (आधारभूत सेवा सहितको गुणस्तरीय र सुरक्षित स्थानमा) क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने छ। त्यो पनि सम्भव नभए नजिकको गुणस्तरीय र सुरक्षित होटलमा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने मार्ग निर्देशनमा उल्लेख छ।

यसरी चिकित्सकहरुलाई अस्पताल हाता बाहिर क्वारेन्टाइनमा राख्नुपर्ने भए स्वास्थ्यकर्मीहरुको आवतजावतका लागि छुट्टै सवारीसाधनको व्यवस्था गर्नुपर्ने उल्लेख छ। यी सबैको व्यवस्था सम्बन्धित अस्पताललाई गर्न भनिएको छ।

यसरी बढीमा लगातार १४ दिन उपचारमा संलग्न भइसकेपछि १४ दिनको क्वारेन्टाइन अवधि समाप्त भएपछि उनीहरुले सात दिनको बिदा पाउने छन्। यसरी दिइने बिदा अरु बिदामा नकाटिनेसमेत उल्लेख छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बिदा अवधिभर अन्य व्यक्तिहरुसँग शारीरिक दूरी कायम गर्नुपर्ने छ।

यसरी उपचारमा संलग्न कर्मचारीहरुले उपयुक्त व्यक्तिगत सुरक्षाका सामग्री(पीपीई) को प्रयोग गर्नुपर्ने छ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार गर्दा सम्मानपूर्वक गोपनीयताको हकलाई सुनिश्चित गर्दै मेडिकल इथिक्सको पूर्णरूमा पालना गर्नुपर्ने दिशा निर्देशमा उल्लेख छ।

'बिरामीको सम्पूर्ण सूचना तथा अभिलेखहरु चुस्त दुरुस्त र सुरक्षित राख्नुपर्नेछ। सबै सुचनाहरु तोकिएको व्यक्तिले मात्र सम्प्रेषण गर्नुपर्ने छ,' निर्देशनमा भनिएको छ, 'तोकिएका नियम तथा विधिहरूको पालना गरे नगरेको सुनिश्चित गर्ने जिम्मेवारी तोकिएको सुपरभाइजरको हुनेछ।'

अस्पतालको जिम्मेवारी के?

दिशानिर्देशमा अस्पतालका १३ वटा जिम्मेवारीहरु समावेश गरिएको छ। अस्पतालले स्वास्थ्यकर्मीका लागि प्रतिव्यक्ति दैनिक दुई हजारका दरले खर्च नबढ्ने गरी खर्च उपलब्ध गराउनुपर्ने छ। जसबाट स्वास्थ्यकर्मीको गुणस्तरीय तथा स्वस्थ खानपान, सरसफाइ र आवासको व्यवस्था गरिने छ।

व्यक्तिगत सुरक्षाका विषयमा रोष्टरमा रहेका र अन्य सबै स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई तालिम वा समय समयमा थप जानकारी दिने जिम्मेवारी अस्पताललाई दिइएको छ।

यी हुन थप अस्पतालका जिम्मेवारीहरु:

• उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मीहरू र निजका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा उपलब्ध गराउने,

• क्यारेन्टाइन अवधि र ७ दिन बिदालाई कार्य अवधिमा गणना गरी निजहरूले नियमितरूपमा पाउने तलबभत्ता उपलब्ध गराउने,

• क्यारेन्टाइनको लागि तोकिएको मापदन्डको सुनिस्चित सम्बन्धीत अस्पतालले गर्नुपर्नेछ र मापदण्ड बमोजिम भए नभएको अनुगमन अनुगमनको व्यवस्था सम्बन्धित तालुक निकायले गर्नेछ। उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरूलाई भूमिका अनुसार आवश्यक व्यक्तिगत सुरक्षाका सामग्रीहरू उपलब्ध गराउनुका साथै संक्रमण रोकथाम तथा नियन्त्रणका उपायहरू प्रोटोकल अनुसारपुर्णरूपमा पालना गराउने,

• उपचारमा प्रयोग भएका व्यक्तिगत सुरक्षाका सामग्रीहरूको उचित बिसर्जनको व्यवस्था गर्ने,

• उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरूलाई स्वमुल्यांकन र कुनैचिन्ह वा लक्षणहरू देखिएमा तत्काल जानकारी गराउन उत्प्रेरित गर्ने,

• उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरूको कोभिङ-१९ जाँच गर्ने व्यवस्था मिलाउने र यदि कोभिड-१९ पोजेटिभ देखिएमा प्राथमिकतामा राखि उपचार गर्ने,

• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको जनशक्ति परिचालन अनुपात मापदण्ड अनुसार अस्पतालमा उपलब्ध जनशक्तिको समानुपातिक र समुचित परिचालन हुने गरी रूपमा रोष्टर बनाई आवश्यकता अनुसार परिचालन गर्ने। यस कार्य प्रयोजनका लागि बनाइएको रोष्टर अस्पताल प्रमुखबाट पूर्व स्वीकृत भएको हुनु पर्नेछ।

• यस मार्ग निर्देशनमा उल्लेखित व्यवस्था मिलाउन र अतिरिक्त सेवा सुविधाका लागि (अध्ययनअनुसन्धान, उत्प्रेरणा र सम्मान लगायत सम्बन्धित अस्पतालहरूले स्थानीय वा प्रदेश सरकारसँगसहकार्य गर्न सक्नेछन्,

• क्वारेन्टाइनमा रहने स्वास्थ्यकर्मी वा कर्मचारीहरूलाई कार्यालयका अभिलेखहरू अद्यावधिक गर्ने, तथ्यांकको विश्लेषण गर्ने, प्रतिवेदन तयार

गर्ने, आगामी योजना बनाउने आदिजस्ता सम्भव प्रशासनिक कार्यहरू लगाउन सकिनेछ,

• बिरामीको भार धेरै भई अस्पतालमा रहेका जनशक्ति अपर्याप्त भएको खण्डमा प्रादेशिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी थप जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

यसरी कोभिड-१९ का संक्रमितहरुको उपचारमा संलग्न अस्पतालहरुको आर्थिक श्रोतको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने छ। मन्त्रालयले जारी गरेको निर्देशिका कार्यान्वयन गर्दा लाग्ने व्ययभार तोकिएका अस्पतालहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचार कोषबाट उपलब्ध

गराइनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell