PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नागढुंगा नाकामा स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार, भाइरल भिडियोबारे गृह मन्त्रालय भन्छ : भिडियो हेरेका छौं, गैर कानुनी काम



सविन ढकाल

नागढुंगा नाकामा स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार, भाइरल भिडियोबारे गृह मन्त्रालय भन्छ :  भिडियो हेरेका छौं, गैर कानुनी काम

काठमाडौं : शुक्रवार दिउँसो खैरो रंगको स्कर्पियो नागढुंगातिर हुँकिएर आयो। सुरक्षाकर्मीले गाडीलाई रोक्नको लागि संकेत गरे। गाडी रोकियो। सरकारले कोरोना संक्रमितको सङ्ख्या थँपिदै गएपछि उपत्यकाभित्र भित्रिने सवारीलाई कडाइ गरेको छ। पासधारी सवारीलाई पनि आवश्यकता हेरेरमात्र छिर्न दिने निर्देशन गृह मन्त्रालयले दिएको छ।

सोहीअनुसार प्रहरीले गाडीको पास हेर्न खोजेको थियो। तर, त्यहाँ प्रहरीको कामभने गाडी रोक्नेमै सीमित भयो। गाडीको चेक गर्न त त्यही रहेका युवाहरु खटिए। स्वयम सेवकको कार्ड लिएर उनीहरु गाडी भित्र के छ भन्ने खोतल्न पुगे।

उक्त गाडी चलाएर आउने व्यक्ति अरु कोही थिएन, चिकित्सक नै रहेछन्। वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की आफैँले गाडी चलाएका रहेछन्। उनको साथमा उनका सहयोगी थिइन्।

उनले आफ्नो परिचय दिए र काठमाडौं आउनुको कारण खुलाए। उनको घाँटीमा नै परिचयपत्र झुन्डिरहेको थियो। तर, ती युवाहरु पत्याउने पक्षमा देखिएनन्। उनीहरुले सोधखोज मात्र गरेनन्, त्यसको भिडियो नै रेकर्ड गरे जुन अहिले सोसल मिडियामा भाइरल छ।

डाक्टर कार्कीको परिचयपत्र र कामको जानकारीलाई लत्याउँदै उनीहरुले चिकित्सकको हुर्मत लिन खोजे। डाक्टर कार्कीले कुनै प्रतिवाद गरेनन्। उनीहरुको निर्देशनबमोजिम सिट बेल्ड खोले, गाडीबाट उत्रिए। झोलामा भएका सामानहरु देखाउन थाले। ती युवाहरु घरीघरी 'तपाईँ स्‍वास्थ्यकर्मी हुनुहुँदो रहेछ, राम्रो काम गर्नुभएको छ। हामीले पनि तपाईँहरुका लागि गरेको भन्दै' आफूलाई सुरक्षाकर्मीभन्दा कम नरहेको बताइरहेका थिए।

उनीहरुले ब्यागको सामान, नागरिकको हिसाबले चेक गरेको बताइरहेका थिए। कार्कीले व्यागमा कपडा भएको देखाए। तर, उनीहरुले अझै भित्री व्याग पनि खोल्न लगाए। व्यागमा केही भेटिएन। डाक्टर कार्कीमाथि भएको ज्यादतीको दृष्य नजिकै रहेका सुरक्षाकर्मी मुकदर्शक भएर हेरिरहेका थिए।

त्यसपछि उनीहरु डाक्टरमाथि नै सोधखोजमा उत्रिए। प्रश्न गर्न थाले - तपाईँको मुखमा मास्क खोइ? उनीहरुले मास्क कसरी लगाउने? कति पटक खोल्ने जस्ता कुरा गरिरहेका थिए चिकित्सकसँग।

डाक्टर कार्की चढेको गाडीमा अस्पतालको लोगो थियो। सरकारले उपलब्ध गराएको पास पनि। त्यसो त उनी फिल्डमा नै उत्रिनुपर्ने व्यक्ति। उनी कोरोना संक्रमण परीक्षण गर्ने किट सकिएपछि लिन आएका थिए। तर, उनीमाथिको व्यवहार जो कसैले पनि पचाउन सक्ने थिएन।

नाकामा खटिने उनीहरुको को थिए?

सवारीको पासमात्र होइन, उनीहरुले डाक्टरको झोलाका कुनाकाप्चासमेत खानतलासी गरे। कुनै पनि व्यक्तिमाथि शंका लागेमा प्रहरीले अनुमति लिएर परीक्षण गर्न पाउने त सामान्य कुरा हो तर यहाँको दृष्य अलग थियो। त्यसैले हामीले गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मालाई सोध्यौं - यस्तो गर्न पाइन्छ?

'हामीले पनि भिडियो हेरेका छौं। उहाँहरुले जुन काम गर्नुभएको थियो। त्यो गैर कानुनी काम हो,' प्रवक्ता शर्माले पहिलोपोस्टसँग भने।

कसरी सडकमा आए त ती युवा?

काठमाडौं छिर्ने नागढुंगा नाका चन्द्रागिरि नगरपालिका पर्छ। पछिल्लो समय यही नाकाबाट धेरै मानिस भित्रिने गरेको सूचना गृह मन्त्रालयमा पुगेको थियो। उपत्यकाभित्र लुकेर मानिस छिर्ने गरेको समचार आएपछि स्थानीय तहलाई सक्रिय गराइएको थियो। चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीसँग गृहले छलफल गरेर नै स्वंयमसेवक परिचालन गर्न सहमति गरेको थियो।

'हामीले पनि स्वयम सेवक खटाउनु भनेको हो। तर, त्यस्तो कार्य गर्नु हुँदैन थियो। स्वंयम सेवकले प्रहरीलाई सहयोग गर्ने हो,' गृह प्रवक्ता शर्माले भने।

चन्द्रागिरि नगरपालिकाले केही स्वयमसेवक परिचालन गरेको छ। तर, राजमार्गमा कोही पनि स्वयम सेवक नखटाएको नगरपालिकाका मेयर धनश्याम गिरीले भने।

'उनीहरु हाम्रो स्वयम् सेवक होइनन्। हामीले हाइवेमा कसैलाई पनि खटाइएको छैन,' मेयर गिरीले भने।

प्रहरीले पनि कसैमाथि शंका लागेर तलासी लिने हो भने असभ्य व्यवहार गर्न पाउँदैन र हैरानी दिन पाउँदैन।

'उहाँहरुको तरिका गैर कानुनी हो। उजुरी आएमा हामी अनुसन्धान गरेर कारबाही गर्छौं,' प्रवक्ता शर्माले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell