PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

रौतहटका संक्रमितहरु ३ दिनअघि मुम्बईबाट रेलमा विहार हुँदै नेपाल पसेका थिए



राधेश्याम पटेल

रौतहटका संक्रमितहरु ३ दिनअघि मुम्बईबाट रेलमा विहार हुँदै नेपाल पसेका थिए
फोटो : अपना मोतिहारी

वीरगंज: कोरोना भाइरस देखिएका रौतहटका थप १० जना संक्रमितहरु भारतको मुम्बईबाट तीन दिनअघि गाउँ आएको खुलेको छ।

सुरक्षा समिति रौतहटका एक अधिकारीका अनुसार १० जना नै वैशाख ३१ गते रौतहट पसेपछि उनीहरुलाई राजपुर, फरहदवा र इशनापुर नगरपालिकाको छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो।

जेठ २ गते पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी सुरक्षाकर्मीको गाडीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा आइतवार उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए।

‘रेल र पैदल यात्रा गरी उनीहरु मुम्बईबाट विहारको मोतिहारी जिल्लाको चैनपुर बजार हुँदै रौतहट पसेका थिए,’ उनले भने, ‘उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो। थप कुरा बुझ्ने काम भइरहेको छ, चाडै आइसोलेशन वार्डमा पठाइने छ, वीरगंज पठाउने सल्लाह भइरहेको छ।’

१० जनामध्ये भारतीय सीमावर्ती स्थानीय तह राजपुर फरहदवा वडा नं ९ का १८, ३२, ३६, ३९, ३९, ४२ गरी ७ जना र इशनाथपुर नगरपालिका वडा नं ३ र ५ निवासी वर्ष २८, ३० र ३० का रहेका छन्। दश जना पुरुष नै रहेका छन्।

यसअघि रौतहटको इशनाथपुर नगरपालिका वडा नं ८ का १९ वर्षिय, वृन्दावन नपा वडा नं ८ का २३ वर्षिय र देवाही गोनाही नगरपालिका वडा नं १ करुनियाका ३५ वर्षिय युवक गरी तीन जनामा कोरोना संक्रमण देखिएको थियो।

उनीहरुको हाल नारायणी अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको छ। जसमध्ये ईशनाथपुर नगरपालिकाका १९ वर्षिय युवक दुईपटक रिपोर्ट नेगेटिभ आएर तेस्रो परीक्षणमा पोजिटिभ आएर पुनः अस्पतालमा भर्ना भएका छन्। यससँगै रौतहटमा संक्रमितको संख्या अब १३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell