काठमाडौं: बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार क्वारेन्टाइनमा रहेका उनको एक्कासी स्वास्थ्यमा खराबी आएसँगै मृत्यु भएको हो।
'उनमा एक्कासी ज्वरो देखियो। बिपी बढ्यो। अनी मृत्यु भयो,' अध्यक्ष शाहले भने, 'उनमा कोरोना भाइरस भए नभएको रिपोर्ट आउन बाँकी छ। उनीसहितका २६३ जनाको परीक्षणका लागि स्वाब संकलन भएको भएको थियो। रिपोर्ट एक घण्टामा आउँला। अनी थाहा हुन्छ, उनको मृत्यु कोरोनाका कारण भएको हो कि होइन।'
मृत्यु हुने नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवा हुन्। उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए।
मृतक युवामा कोरोना भाइरसका सामान्य लक्षण अगाडि नै देखिएको बताइएको छ।
'हिजो रातीसम्म स्वास्थ्य ठिक थियो। एक्कासी अनकन्सियस भएर मृत्यु भयो,' गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोहीन खाँले भने, 'सुरुवातमा लक्षण अलिअलि थियो। तर पनि त्यस्तो गाह्रो थिएन्। विहान एक्कासी त्यस्तो भयो।'
नरैनापुरमा हाल ११ वटा क्वारेन्टाइन तयार छन्। त्यहाँ ६ सय २६ जना रहेको अध्यक्ष शाहले जानकारी दिए। नरैनापुरमा भारतबाटै आएका आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
मृतक युवाको शव अहिले पनि क्वारेन्टाइनमै रहेको छ। 'नतिजा केही समयमा नै आउने अपेक्षा छ। नतिजा आएपछि शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय लिन्छौं,' खाँले भने, 'नतिजा लिन र शव व्यवस्थापनसम्बन्धी छलफलका लागि नेपालगञ्ज जाँदैछु।'