PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुत्केरी महिलाको शव व्यवस्थापन टिम 'आरएनए १६' को पहिलो 'अपरेसन', सेनाको 'ड्रिल'बाट लिएका थिए तालिम



सहयोग रञ्जित

सुत्केरी महिलाको शव व्यवस्थापन टिम 'आरएनए १६' को पहिलो 'अपरेसन', सेनाको 'ड्रिल'बाट लिएका थिए तालिम

सेतो प्रोटेक्टिभ सुट, कालो चश्मा र बुट, हातमा पञ्जा लगाएका व्यक्तिहरु शनिवार कोरोना भाइरसका कारण मृत्यु भएको महिलाको शव लिएर पशुपति पुगे। प्रहरी र सेनाको स्कर्टिङमा बा ३ च ३६७६ नम्बरको गाडीमा शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ल्याइएको थियो। रातो साइरन सहितको गाडीको अघिल्लो भागमा लेखिएको थियो, 'सेफ्टी रेस्क्यु एन्ड अवेर्नेस'।

उक्त गाडीलाई कोरोना संक्रमितको मृत्यु भएको खण्डमा प्रयोग गर्न मिल्ने गरी 'मोडिफाइड' गरिएको थियो केही समय अघि नै। गाडीमा दुईजना मात्रै बस्न मिल्ने गरी, पछाडि प्लास्टिकको सिल्ड राखेर। यो गाडी हो, भक्तपुरमा कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय 'आरएनए १६' समूहको।

कोरोना संक्रमितको मृत्यु भएको खण्डमा शव व्यवस्थापन गर्ने आफ्नै कार्यविधि हुन्छ। जथाभावीरुपमा शवलाई छुने पाइँदैन। शव व्यवस्थापन गर्नेहरुले अनिवार्य रुपमा पीपीई लगाउनु पर्छ। शवलाई गाडीमा राखेर सुरक्षित साथ निश्चित स्थानमा पुर्‍याउने आफ्नै प्रक्रिया हुन्छ।

शनिवार काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव पशुपति ल्याउने भनेपछि शव व्यवस्थापन गर्ने गाडीको खोजी भयो। शव व्यवस्थापनमा एम्बुलेन्सको प्रयोग गर्न नमिल्ने भएको र शव बाहनसमेत उपलब्ध नभएपछि जिल्ला प्रशासन कार्यालयको सम्वन्यमा भक्तपुरबाट टोली बोलाइएको बताउँछन् धुलिखेल अस्पतालका प्रवक्ता डा सुमनराज ताम्राकार।

+++

'आरएनए १६' अर्थात 'रेस्क्यु एन्ड अवेर्नेस'। '१६' ले आगलागी, भूकम्प,पहिरो, बाढी लगायत १६ प्रकारका विपद्हरुलाई जनाउँछ। २०७२ सालको भूकम्पपछि विपद्मा उद्दारमा सक्रिय रहँदै आएको यस समूह हाल कोरोना सम्बन्धी जनचेतना जगाउने र विरामीहरुको उद्दार र परीक्षण गराउन सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ।

यसैबीच उक्त समूहलाई कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएको खण्डमा शव व्यवस्थापनको जिम्मेवारीमा खट्ने गरी तालिम समेत दिइएको छ। यसैकारण 'आरएनए १६' को कोरोना भाइरसको नियन्त्रणका लागि समर्पित गाडी लिएर धुलिखेल पुगे समूहका अरुण सैंजु र राजेश गाइजू।

'भाइरसबाट कसैको मृत्यु भएमा शव व्यवस्थापनमा प्रयोग गर्न मिल्ने गरी हामीले गाडीलाई पहिला नै मिलाएका थियौं। गाडीको पछाडि प्लास्टिकको सिल्ड राखेर तयार अवस्थामा नै राखेका थियौं। शनिवार काभ्रेमा एकजनाको मृत्यु को पुष्टि भयो। जिल्ला प्रशासनको समन्वयमा हामीलाई बोलाइयो र अरुण र राजेश दाइ शव व्यवस्थापनका लागि जानु भयो,' आरएनए १६ का न्हुज किजूले बताए।

शव व्यवस्थापन गर्न समूहलाई भक्तपुरको महावीर गणमा 'डेथ बडी ह्यान्डलिङ ड्रिल' तालिम दिइएको थियो। जहाँ उनीहरुलाई शवलाई प्लास्टिकमा बेर्नेदेखि गाडीमा राखेर निश्चित क्षेत्रसम्म पुर्‍याउनेबारे तालिम दिइएको थियो।

शनिवार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको शवको व्यवस्थापनमा संलग्न व्यक्तिहरु भक्तपुरकै एक सैन्य क्याम्पमा आइसोलेसनमा छन्। शव व्यवस्थापन गर्न प्रयोग भएको गाडीलाई डिस्इन्फेक्ट गरी राखिएको छ।

शव बोकेको गाडी चलाउँदै धुलिखेलबाट पशुपति पुगेका समूहका अरुण र राजेश हाल आइसोलेसनमा छन्। केही समय उनीहरु पहिला झै कोरोना संक्रमितको उद्दार र परीक्षणमा सक्रिय हुने छैनन्। आइसोलेसनमा रहँदा उनीहरुको नियमित स्वास्थ्य परीक्षण हुनेछ।

यद्यपि, 'आरएनए १६' समूहका पुनम कर्मचार्य र न्हुज भने हाल भक्तपुर अस्पतालमा नै खटिरहेका छन्। अस्पतालकै कम्पाउन्डमा एउटा पाल बनाइ त्यहीँ बस्दै आएका छन्। भक्तपुर अस्पतालमा फिवर क्लिनिक संचालन गरिएको स्थानमा उक्त समूहले हप्तौं देखि अस्पतालमा नै रहेर सेवा गर्दै आइरहेको छ। अस्पताल आउनेहरुलाई सचेत गराउनेदेखि कोरोना परीक्षणमा स्वास्थ्यकर्मीहरुसँगै अग्रपंक्तिमा खटिरहेका छन्। भक्तपुर अस्पताल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहकार्यमा कोरोना भाइरसको शंकास्पद विरामीहरुको उद्दार र सहयोगमा उक्त समूहका सदस्यहरु स्वयम सेवकका रुपमा खटिँदै आएका हुन्।

एक महिनाभन्दा बढी भयो अस्पतालमा नै बसेर उनीहरुले कोरोना रोकथाम र नियन्त्रणमा स्वयम् सेवकको भूमिका निर्वाह गरिरहेको। घर परिवारले चिन्ता नलिने कुरा भएन। यद्यपि, दैनिक रुपमा अस्पताल पुगिरहेका छन् उनीहरु।

'भक्तपुरमा दुईजना संक्रमित भेटिएपछि मान्छेहरु अहिले अहिले सतर्क हुन थालेका छन्। अस्पताल आउँदा पनि सतर्कता अपनाउन थालेका छन्। त्यो भन्दा अघिसम्म मानिसहरुले कोरोनालाई अलि हल्का रुपमा लिइरहेको जस्तो थियो। अब अझै सर्तक हुन आवश्यक छ,' न्हुजले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell