PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेताको खोजीखोजी परीक्षण, सुत्केरी गराउन पुगेकालाई चाहिँ प्रोटोकल! [सम्पादकीय]



पहिलोपोस्ट

नेताको खोजीखोजी परीक्षण, सुत्केरी गराउन पुगेकालाई चाहिँ प्रोटोकल! [सम्पादकीय]

धुलिखेल अस्पतालमा मृत्युवरण गरेकी २९ वर्षीया महिला दश दिन अघिमात्रै सुत्केरी भएकी थिइन्। नेपालको स्वास्थ्य सेवालाई मार्गदर्शन दिने त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा उनलाई प्रसुती गराइएको थियो। सुत्केरी भएको दुई साता पनि नबित्दै उनी वितिन्। उनमा संक्रमण कहाँबाट सल्कियो? प्रश्नको जवाफ अनुत्तरित छ तर जारी छ उनको सम्पर्कमा आएकाहरुको खोजी, जसमा संक्रमणको सम्भावना छ। यो त प्रकृयागत कुरा भयो, कन्ट्याक्ट ट्रेसिङको। त्यसभन्दा जटिल त अकल्पनीय कुरा के हो भने - कोरोनाको विश्वव्यापी महामारी र नेपालमा पनि संक्रमितको संख्या बढिरहेको अवस्थामा सुत्केरी गराउन अस्पताल पुर्‍याइएकी महिलाको कोरोना परीक्षण गरिएन।

उनमा कोरोना संक्रमण थियो भन्ने पहिचान भएको भए ज्यान जोगाउन सकिन्थ्यो भन्ने चिकित्सकहरुको भनाइ छ। पहिलोपोस्टले कोरोना संक्रणमको महामारीका बेलामा प्रसुती गराउन ल्याइएकी महिलाको किन परीक्षण गरिएन भन्ने प्रश्न गर्दा शिक्षण अस्पतालको जवाफ थियो - प्रोटोकल नमिलेर।

‘सरकारी प्रोटोकलअनुसार कोरोना सम्भावित बिरामीको मात्र परीक्षण गर्नुपर्छ,' अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले भनेका थिए। कोरोना भाइरस परीक्षणका लागि सरकारले प्रोटोकल नै बनाएको छ। परीक्षणका लागि आवश्यक किटको अभाव भएको भन्दै परीक्षणलाई 'मितव्ययी' बनाउन बनाइएको प्रोटोकलले कसको परीक्षण गर्ने भनेर उल्लेख गरेको छ। त्यसैमा बाँधियो शिक्षण अस्पताल र नराम्ररी जोखिममा फस्यो। देशका अस्पतालहरुलाई बाटो देखाउने अस्पताल आफैँमा कोरोनाको कहरमा यसरी जाकिन्छ भने अन्यत्रको अवस्था के होला? कल्पना गर्दा पनि आतंकित बनाउँछ।

अस्पतालले सरकारले तयार गरेको प्रोटोकल पालना गर्दा महिलाले ज्यान गुमाइन्। यो मृत्यु एकजना महिलाको मात्र रहेन। मृत्यु त सरकारले तयार पारेको प्रोटोकलको पनि हो। यस्तो प्रावधान मानिसको सुरक्षाका लागि हुनुपर्थ्यो जुन भएन।

अस्पतालहरुले कोरोना परीक्षणको किट अभावमा मितव्ययी हुनुपर्ने एकखाले वाध्यता होला। विश्वभर नै किटको अभाव छ, हामी पनि त्यहीबाट गुज्रिरहेका छौं। सिक्काको एउटा पाटो हो यो। सिक्काकै अर्को पाटोमा कोभिड १९ परीक्षणको अवस्थालाई नजर अन्दाज गर्न सकिन्न। राजनीतिक दलका नेता, तिनका भातृ संगठनदेखि कार्यकर्तासम्मले कोरोनाको परीक्षण गरेको र सुरक्षित रहेको भन्दै अपडेट गरेका सोसल मिडिया स्टाटसले सरकारको प्रोटोकलको धज्जी उडाइरहेको छ। सत्तारुढ दल निकट वा शक्तिसँग जोडिएका अनावश्यक मानिसहरुको परीक्षण भइरहनु र सुत्केरी हुनका लागि ल्याइएकी महिला चाहिँ प्रोटोकलका कारण परीक्षणबाट टाढा पारिनु दुर्भाग्यपूर्ण छ। यो अक्षम्य पनि हो। कोरोना संक्रमण भए नभएको परीक्षण गराउनुलाई शक्तिसँग कति नजिक छु भन्ने देखाउने विषय बन्नु दुखद् हो।

विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाउनु भन्छ। स्वभाविक हो, सकेसम्म धेरैमा परीक्षण गर्नै पर्छ। नेता, कार्यकर्ता र शक्तिशालीका लागि परीक्षण गरिँदा सुत्केरी हुँदै गरेकी महिलामाथि परीक्षण नगरिनुले नेपालको स्वास्थ्य सेवा कुन अवस्थामा छ भन्ने बुझ्न कठिन हुन्न।

ट्रेसिङ र परीक्षण कोरोना संक्रमण नियन्त्रणका लागि अचुक उपाय हुन्। कोरोनाको परीक्षण गराउनुको अर्थ, कोरोनाविरुद्धको भ्याक्सिन लिनु होइन ता कि सुरक्षित रहन सकियोस्। यसले संक्रमणबारे विगतको रिपोर्ट दिने हो भविष्यको होइन। संक्रमणको भविष्य सधैं जोखिममा नै हुने गर्छ, जोसुकैमा पनि। प्रतिष्ठाका लागि गरिने परीक्षण त्यसकारण तत्काल रोकियोस्।

अस्पतालमा उपचारका लागि पुग्नेलाई २९ वर्षीय महिलाजस्तो प्रोटकल देखाउँदै परीक्षण गर्न रोक नलगाइयोस्। किनकि मृत्यु भएकी महिलालाई प्रसुती गराउने चिकित्सक र स्वास्थ्यकर्मी र सिंगो शिक्षण अस्पताल नै तनावमा रहनुपर्ने अहिलेको जस्तो स्थिति कायम नरहोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell