काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले नीति तथा कार्यक्रम कोरोना केन्द्रीत भएको दावी गरेका छन्। उनले आइतवारको प्रतिनिधि सभामा बोल्दै नीति तथा कार्यक्रम कोरोना केन्द्रीत गरी ल्याइएको दावी गरेका हुन्।
कोरोनाको स्थिति अब जटिल छ भन्नेबारे सरकार जानकार रहेको पनि दावी गरे। नेम्वाङ अघि प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा र नेता मिनेन्द्र रिजालले सरकारले कोरोनाको विषयमा ध्यान नपुर्याएको आरोप लगाएका थिए।
नेम्वाङले नीति तथा कार्यक्रममा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषय समावेश भएको बताउँदै शान्ति स्थापनाका लागि कसैले पनि आन्दोलन गर्नुनपर्ने दावी गरे। अब देशमा परिवर्तनका लागि कसैले पनि आन्दोलन गर्नुनपर्ने उनको भनाइ थियो।
उनले नीति तथा कार्यक्रममा सरकारले गरेको कामलाई राखिएको भन्दै सो कुरा आत्मप्रशंसा नभएको जिकिर गरे। त्यसअघि देउवाले नीति तथा कार्यक्रम आत्मप्रशंसा भएको बताएका थिए।
नेम्वाङले लिपुलेक, कालापानीको विषयमा तुरुन्तै नक्सा जारी हुने बताए। अन्तर्राष्ट्रिय सिमानाका विषयमा प्रस्टका साथ नीति तथा कार्यक्रम समेटिएको यो पहिलोपटक भएको उनको भनाइ थियो।