PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सर्लाहीको संक्रमित भनिएकी किशोरी भेटिइन् काठमाडौंको कपनमा, तेन्जिङ चोक सिल



प्रकाश भण्डारी

सर्लाहीको संक्रमित भनिएकी किशोरी भेटिइन् काठमाडौंको कपनमा, तेन्जिङ चोक सिल
फोटो : संजीत श्रेष्ठ

काठमाडौं : राजधानीको कपनमा फर्निचर पसल सञ्चालन गर्ने परिवारको १८ वर्षीया किशोरीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि त्यस क्षेत्रमा सिल गरिएको छ। कपनको तेन्जिङ चोक क्षेत्रमा सिल गरिएको हो। उनलाई हिजो कोरोना संक्रमण भएको पुष्टि भएपछि आज सो क्षेत्र सिल गरिएको हो।

हिजो सर्लाहीको रामनगर गाउँपालिका ४ की किशोरीमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको थियो।

उनीसहित उनका दुई जना बहिनी, उनका बुबा र बसका सहचालक वैशाख २३ गते काठमाडौं आइपुगेका हुन्। २२ गते राति उनीहरु सर्लाहीबाट काठमाडौं आएको रामनगर गाँउपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले पहिलोपोस्टलाई बताए। लकडाउनकै बेला उनीहरु दुईवटा मोटरसाइकलमा आएका हुन्, एउटा मोटरसाइकलमा दुई जना र अर्कोमा तीन चढेर।

मोटरसाइकलको पास नभएकाले प्रहरीलाई छल्दै राति उनीहरु काठमाडौं पुगेको बर्माले बताए।

'उनीहरुसँग मोटरसाइलको पास थिएन। त्यसैले २२ गते राति काठमाडौं गएका हुन्। २३ गते बिहान उता पुगेछन्,' उनले भने। उनीहरु चैतको अन्त्यतिर काठमाडौंबाट सर्लाही गएका थिए। किशोरीको परिवारमा १९ जना सदस्यमध्ये १० जना अहिले पनि सर्लाहीमै छन्। सबैलाई घरमै क्वारेन्टाइन बनाएर राखिएको र उनीहरुको परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको बर्माले बताए। उनले आफूहरु थप कन्ट्याक्ट ट्रेसिङका लागि रिपोर्ट कुरिरहेको बताए।

कपन आइपुगेका उनीहरुले स्वाब संकलनमा समेत आलटाल गरिरहेका थिए।

उनीहरुले आलटाल गरिरहे पनि छिमेकीको चर्को दबाबपछि मात्रै परीक्षण गर्न गएको बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले बताए।

तेन्जिङ चोक आसपास सिल

फर्निचर पसलमा काम गर्ने महिलामा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको १२ नम्बर वडाको तेन्जिङ चोक सिल गरिएको छ। मेयर खरेलले संक्रमित महिलाको आवतजावत धेरै नभएकाले तेन्जिङ चोकमात्रै शिल गरिएको बताए।

'लकडाउनकै बेला आएकोले यताउता जान पाएनन् र छिमेकीले पनि आएपछि उनीहरुलाई परीक्षण गर्न दबाब दिन थालेपछि उनीहरुले धेरै मुभमेण्ट गर्न पाएनन्,' उनले भने। कण्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मी सहितको टोली अहिले कपन क्षेत्रमा पुगेको छ। ट्रेसिङपछि थप ठाँउमा सिल गर्नुपर्ने हुनसक्ने खरेलको भनाई छ।

नगरपालिकाको टोली टेकुमा

लकडानउका बेलामा सर्लाहीबाट आएकी महिलाले क-कसलाई भेटिन् भन्नेबारे अध्ययन भइरहेको मेयर खरेलले बताए। अहिले स्थानीयमा त्रास फेलिएकाले नगरपालिकाले तत्कालै धेरै संख्यामा परीक्षण गर्ने रणनीति बनाएको उनले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले परीक्षण गरेको नमुनाको रिपोर्टमा सर्लाही भए पनि खोज्दै जाँदा उनीहरु कपन क्षेत्रमा बस्ने गरेको देखिएको खरेलले बताए। तर, जनस्वास्थ्य प्रयोशालाले दिएको रिपोर्टमा विस्तृत जानकारी नभएकाले नगरपालिकाको एक टोली यसबारे बुझ्न टेकु पुगेको छ।

'हामीलाई हिजो साँझमात्रै खबर भयो। त्यसैले हामीले बिहानैदेखि आवतजावत बन्द गरेका छौं। अहिले म लगायतको टोली कपनमा छौं। अर्को एक टोली टेकु पुगेको छ। टेकुमा भएको सबै जानकारी लिएर टोली आउने छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell