PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजको दुई पोजेटिभ केस : जसले झस्कायो बाराको प्रहरीप्रशासन, पर्साका स्वास्थ्यकर्मी र मुर्ली टोललाई



राधेश्याम पटेल

वीरगंजको दुई पोजेटिभ केस : जसले झस्कायो बाराको प्रहरीप्रशासन, पर्साका स्वास्थ्यकर्मी र मुर्ली टोललाई
फाइल तस्विर

वीरगंज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेजमार्फत जेठ ३ गते विहान १० बजे सम्मको अध्यावधिक विवरणसहित पर्सा, वीरगंज–१२ मुर्लीका २८ र २९ वर्षका दुई जनामा कोरोना पुष्टि भएको सूचना जारी भयो।

जसको कारण वीरगंज घण्टाघरबाट ५ सय मिटर उत्तर मुर्ली चोकबाट पूर्वको सम्पूर्ण टोल झस्कियो। बुझ्दै जाँदा मुर्ली टोलका एक जना मात्र युवक रहेको पाइयो, अर्का युवक बारा प्रहरीको मुद्दा शाखाका प्रहरी जवान रहेको तथ्य खुल्यो।

शुरुमा वीरगंज १२ मुर्लीका २८ वर्षिय संक्रमित युवकको बारेमा चर्चा गरौं।

उनलाई आधार बनाएर प्रदेश २ का सांसद जनत अन्सारीदेखि मुर्लीकै पत्रकार श्याम कुशवाहासम्म पनि संक्रमण भएको हल्ला चल्यो। तर अन्तमा मुर्ली टोलको विद्यासदन मावि स्कूलभन्दा १ सय मिटर दक्षिणमा रहेको घरमा बस्ने २८ वर्षिय युवक कोरोना संक्रमित भएको पुष्टि भएपछि उनलाई हाल सिद्धार्थ माध्यमिक विद्यालय, चिनीमिलको सेमिआइसोलेसन वार्डमा राखिएको छ।

मुर्लीका युवक ओम हस्पिटलमा फार्मेसी चलाउँथे

वीरगंज–१२ मुर्लीका २८ वर्षिय युवक वीरगंज–४ विर्तामा त्रिजुद्ध स्कूलको दक्षिणमा रहेको पुरानो नापी कार्यालयको भवनमा सञ्चालिक ओम हस्पिटलमा फार्मेसी चलाउँथे।

वीरगंजका दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएपछि उनीसंगै उनको सम्पर्कमा आएका अस्पतालका सबै स्टाफहरुको स्वाब परीक्षण गराइएको र त्यसमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका डा.जगत दीपले भने, ‘संक्रमण देखिएका दुबै पत्रकार अस्पतालमा आएर फर्मेसी चलाउने युवकसँग कुराकानी गरेका थिए, त्यसपछि सबैको जाँच गरेर घरमै बस्न भनिएको थियो। ती युवकको रिपोर्ट आएको छ, बाँकी सबैको नेगेटिभ छ, म आर्फै आइसोलेट भएर बसेको छु, एकसातापछि परीक्षण गराउँछु।’

संक्रमित पत्रकारमध्ये एक जनाको रेडियो स्टाफको एक जनाको उपचार भइरहेको थियो। उनीहरु वीरगंज–२ घुसुकपुरको केन्द्रमा स्वाब दिएर अस्पतालमा हालखबर बुझ्न आएको बताइएको छ।

यस्तो खबरले वीरगंजको औषधि व्यवसायीमा संक्रमण पुष्टि भएसंगै उनी कहाँ कहाँबाट औषधि ल्याउँथे, कतिलाई औषधि बेचे भन्ने बारेमा कन्टयाक्ट ट्रेसिङ गर्न समस्या भएको छ।

अब चर्चा गरौं, वीरगंज–१२ मुर्लीका २९ वर्षिय भनिएका युवक वीरगंजका नभई जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखाको प्रहरी जवान भएको खुलेको छ। उनी रौतहट, फतुवाविजयपुर–२ का बासिन्दा हुन्। प्रहरी जवानमा ज्वरो आएपछि उनको गत बुधवार स्वाब संकलन गरी पठाइएको थियो। पछि ट्रेसिङ गर्दै जाँदा उनी वीरगंज–१२ मुर्लीका बासिन्दा नभई बाराका सुरक्षाकर्मी पुष्टि भएकोमा उनलाई सिद्धार्थ माविकै क्वारेन्टाइनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

गलत ठेगाना लेखाएकोले केही समय द्विविधा भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए। संक्रमित प्रहरी जवान मुद्दा शाखा, सरकारी वकिल र जिल्ला प्रशासन कार्यालयमा पनि सक्रिय रहेकोले शनिवार करिब ७० जनाको बारामा स्वाब परीक्षण गराई काठमाडौं पठाइएको छ। जसमध्ये ४० जना बारा प्रहरीका सुरक्षाकर्मी, प्रशासन र सरकारी वकिलको कार्यालयका मानिस रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताए।

यी दुबै रिपोर्टले बाराको सुरक्षा निकाय र वीरगंजको औषधि व्यवसायी, स्वास्थ्यकर्मी तथा मुर्ली टोलको जनतामा त्रास बढाएको थियो।

यसैबीच शुक्रवार राति सवा आठ बजे जारी विज्ञप्तीमा भेटिएका दुई बालक र दुई महिला यसअघि वीरगंज–२ श्रीराम हलपछाडिको श्रीराम कलोनीबाट भेटिएको एक संक्रमितको श्रीमती, छोरी र दुई छोराहरु रहेको बताइएको छ।

शुक्रवार राति चार जनाको रिपोर्टअनुसार ९, १० वर्षको बालक, २३ र ४७ वर्षको महिला गरी ४ जनामा पाजेटिभ देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell