PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

एम्बुलेन्सबाट काठमाडौं गएका संक्रमित बालक बसेको सूर्यटोल सिल, लकडाउनमा प्रार्थना गराउने चर्च शंकाको घेरामा



राधेश्याम पटेल

एम्बुलेन्सबाट काठमाडौं गएका संक्रमित बालक बसेको सूर्यटोल सिल, लकडाउनमा प्रार्थना गराउने चर्च शंकाको घेरामा

वीरगंज : बाराको निजगढ नगरपालिका १२ स्थित सूर्यटोल सिल गरिएको छ।

दोलखा घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय बालकमा यहीँ जेठ १ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सूर्यटोल सिल गरिएको हो।

सङ्क्रमित बालक लकडाउन शुरू हुनुभन्दा दुई दिन पहिले दहचोकबाट आमासँगै निजगढ सूर्यटोलस्थित मामाघर आएका थिए। करिब एक महिना यहीं बसेर उनीहरू काठमाडौं फर्किएका थिए।

लकडाउनका कारण सवारीसाधन नपाएपछि उनीहरू सूर्यटोलका एकजना बिरामीसँगै एम्बुलेन्समा काठमाडौं गएका थिए। मामाघरसँगैको छिमेकी एक गर्भवती महिलालाई उपचारका लागि एम्बुलेन्समा काठमाडौं लैजाने क्रममा सोही एम्बुलेन्समा वैशाख ६ गते बालक र उनकी आमा काठमाडौं फर्किएका थिए।

गर्भवती महिलाको हेरचारका लागि रामथली सूर्यटोलका थप दुईजना र अर्को एक वृद्धा पनि एम्बुलेन्समा थिए। चालकबाहेक ६ जना रहेको एम्बुलेन्समा दुईजना काठमाडौंमैं बसेका थिए।

बालकलाई काठमाडौंको एक अस्पतालमा कानको उपचार गर्ने क्रममा शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनीसँगै एउटै एम्बुलेन्समा यात्रा गरेकाहरू सूर्यटोलका भएकाले सो क्षेत्र सिल गरिएको हो।

‘बस्तीको मूल सडक बन्द गरिएको छ। यस बस्तीका मानिसलाई कहीँ कतै हिँड्डुल नगर्न भनेका छौं,’ वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोलेले भने। उनका अनुसार आवश्यक खाद्यान्नलगायत अति आवश्यक सामान वडा कार्यालयले उपलब्ध गराउने छ।

यता निजगढका नगरप्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछाने सूर्यटोल पुगेर स्थानीयलाई चिन्ता नलिन आग्रह गरेका छन्।

वस्तीलाई सील गरी मानिसहरूलाई घरबाहिर हिंड्डुल गर्न नदिई सुरक्षित रहन आग्रह गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए।

रामथलीमा एउटा चर्च पनि छ। लकडाउन घोषणा भए पनि त्यस चर्चमा प्रार्थना भइरहेको थियो। पछि बन्द गराएको वडाध्यक्षले गोलेले बताए। सोही टोलबाट बालकमा संक्रमण भएको हो भने चर्चमा प्रार्थना गर्नेहरू र बस्तीका धेरैजनाको स्वाब परीक्षण गर्नुपर्ने वडाअध्यक्ष गोलेको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell