कैलाली : शुक्रवार र शनिवार दुई दिनमा कैलालीको गौरिफन्टा नाकाबाट ३४ जिल्लाका ७ सय ५८ जना नेपाल भित्रिएका थिए। ४९ दिनदेखि भारतका विभिन्न क्वारेन्टाइनमा बसेका उनीहरुलाई दुई दिन नेपाल प्रवेश गर्न दिइए पनि आइतवारबाट भने पूर्ण रोक लगाइएको छ।
नेपाल प्रवेश गर्न दिइँदै छ भन्ने जानकारी पाएपछि आइतवार पनि १ सय २ जना नेपालीहरु गौरिफन्टा नाकासम्म आइपुगेका थिए। तर, माथिको निर्देशन बिना प्रवेश गर्न दिन नमिल्ने भन्दै उनीहरुलाई भारततर्फ नै फर्काइएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराको भनाइ छ। केन्द्रबाट निर्णय र थप निर्देशन नआएसम्म अब नेपालीहरुलाई नाकाबाट आउन नदिने उनले बताए।