PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सांसद अपहरणको जुटेन प्रमाण, मुद्दा तामेलीमा राख्ने सरकारी वकिल कार्यालयको निर्णय



पहिलोपोस्ट

सांसद अपहरणको जुटेन प्रमाण, मुद्दा तामेलीमा राख्ने सरकारी वकिल कार्यालयको निर्णय

काठमाडौं : समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवसँग जोडिएको अपहरणको मुद्दा तामेलीमा राखिने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा तामेलीमा राख्ने निर्णय गरेको हो।

एक साता लामो अनुसन्धान सकेर महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

‘उजुरीमा दर्ता भए अनुसार अपराध भएको प्रारम्भिक अनुसन्धानमा पुष्टि हुन सकेन त्यसैले तामेलीमा राखेका छौं,’ सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता नुमराज खनालले भने।

वैशाख २६ गते परिसर काठमाडौंले उजुरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो। परिसरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल महोत्तरी पुगेर अनुसन्धान गरेको थियो। बहालवाला सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ, प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाल समेतलाई विपक्षी बनाएर सांसद यादवले वैशाख २२ गते सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गाएका थिए। सासंद यादवले आफूलाई अपहरण गरेको भन्दै उजुरी दिएका थिए।

फौजदारी कार्यविधि संहिताको दफा ११ अनुसार झुटा उजुरी ठहरेमा प्रहरीले तामेलीमा राख्न सक्ने व्यवस्थालाई टेकेर तामेलिमा राखेको हो।

‘अहिले प्रमाण भेटिएन, प्रमाण भेटिए फेरि अनुसन्धान हुन्छ,’ प्रवक्ता खनालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell