
काठमाडौँः सरकारले जारी लकडाउनलाई जेठ २० गतेसम्म थप गरेको छ। लकडाउन थपसँगै सरकारले लकडाउनको भावी मोडालिटी कस्तो हुने पनि छलफल गरेको छ। तर, ती मोडालिटीबारे निर्णय भएका छैनन्। सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मोडालिटीबारे अबको उच्चस्तरीय समितिको बैठकले निर्णय गर्ने बताए।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले ती विकल्पबारे भने जानकारी दिए। जसमा विदेशमा रहेका नेपालीको उद्दाकारो तयारी र स्वदेश ल्याएपछि क्वारेन्टाइनमै काम दिने तयारीसम्म सुनाए।
लकडाउनमा बस्दा उत्पादनशील समय खेर नजाओस् भन्ने उदेश्यले सरकारले त्यसतर्फ सोचेको खतिवडाको भनाई छ।
यस्तै, खतिवडाले रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटी प्रयोगबारे पनि छलफल भएको बताए। यद्यपि मोडालिटीबारे उच्चस्तरीय समितिले निर्णय गर्ने उनले बताए।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने, ‘‘क्वारेन्टाइनमा रहँदा होस् वा बाहिर रहँदा होस्, नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भन्नेमा हामीले छलफल गरेका छौँ। त्यो प्रतिरोधात्मक क्षमता बढाउन हाम्रा जडिबुटी र औषधिजन्य जति पनि बस्तु छन् तिनको उपभोगमा जनचेतना बढाउने, व्यायमको बानी विकास गर्ने र आरोग्यसँग सम्बन्धित सरकारी निकायलाई पनि प्रोत्साहित गर्ने। नागरिकको जीवनशैलीलाई परिवर्तन गर्न जनचेतना फैलाउने। यो सबै काम गर्न जनप्रतिनिधिदेखि नागरिक समाजका सबै लाग्नुपर्छ। लकडाउनमा बसिरहँदा अरु समस्या नहुन् र रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भन्ने कुरालाई दृष्टिकोणमा राखेर सम्माननीय राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्ने क्रममा पनि आरोग्यको कुरा गर्नुभएको छ। त्यस्ता बस्तुको आन्तरिक उत्पादन गर्न सकिन्छ।’’
रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटी प्रयोग गर्ने सरकारको छलफल चलिरहँदा आइतबार नै संसद्मा सांसद प्रेमप्रसाद तुलाचनले पनि कोरोना नियन्त्रणको आरोग्य विधि सुझाएका थिए। मुस्ताङका सांसद तुलाचनले धर्मगुरुले दिएको महले कोरोना निको हुने भन्दै परीक्षणका लागि प्रधानमन्त्रीलाई दिएको किस्सा सुनाए।
नीति तथा कार्यक्रमको छलफलका क्रममा तुलाचनले भने, ‘कोभिड १९ को संक्रमणले प्रभावित पारिरहेको अवस्थामा वैशाख २६ गते मुस्ताङ जिल्लाबाट एक जना धर्मगुरुले संक्रमित कोही छ भनेपछि माननीयज्यू, हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह सेवन गराउनुस् उपचार हुन सक्छ भन्ने कुरा सुझाव आएको छ। त्यो अनुसार प्रधानमन्त्रीलाई लिखित रुपमा नै र स्वास्थ्यमन्त्रीलाई पनि बोधार्थ दिएर मह परीक्षण गरिदिनुस् भनेर परीक्षणका लागि दिएको जानकारी गराउँछु। यसले पाजेटिभ रिजल्ट आएको खण्डमा नेपालको प्राकृतिक महले विश्व बजार ढाक्नेछ। नेपालका जडिबुटीको रिसर्च सेन्टर खोलेर छिटोभन्दा छिटो यसलाई कोभिड–१९ को रोकथामका लागि व्यवस्था गरियोस्।’